बेलयातका अर्का मन्त्रीद्वारा पनि राजीनामा
प्रकाशित मिति : असार २६, २०७५ मंगलबार
बेलायतमा यहाँका दुई जना शक्तिशाली मन्त्रीले सोमबार राजिनामा गर्नुभएको छ ।
प्रधानमन्त्री थेरेसा मेको मन्त्रिमण्डलका दुई मन्त्रीको राजीनामापछि उहाँले तत्कालका लागि राजनीतिक चुनौतीको सामना गर्नुपर्ने देखिएको राजनीतिक विश्लेषकको भनाइ छ ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्तागर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले सोमबार मध्यान्ह आफ्नो पदबाट राजीनामा दिनुभएको थियो ।
सोमबारै केही समयको अन्तरालमा विदेशमन्त्री बोरिस जोनसनले पनि राजीनामा दिएपछि प्रधानमन्त्री मेका सामु चुनौती तेर्सिएको विश्लेषण गर्न थालिएको छ ।
बेलायतले युरोपेली संघ (इयु) छोडेपछि पनि उनीहरूसँग निकट व्यापार सम्बन्ध राख्ने मेको योजनासँग मतभेतको कारण ती मन्त्रीले राजीनामा दिनुभएको बताइएको छ ।
डेभिसको राजीनामाले बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान भइरहेको अवस्थामा पुनःजोनसनको पनि राजीनामाले प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठ्यारोमा पर्न सक्ने विश्लेषकको भनाइ रहेको छ ।
जोनसनले राजीनामा गरेपछि उहाँको ठाउँमा स्वास्थ्यमन्त्री जेरेमी हन्टलाई नियुक्ति गरिएको छ । सोमबार अकस्मात बेलायतमा यसरी राजनीतिक परिवर्तन भएको हो ।
बेलायतले सन् २०१९ को मार्चमा युरोपेली संघबाट बाहिरिँदै छ । तर दुवै पक्षले त्यसपछि व्यापारबारे के गर्ने भन्ने विषयमा सहमति जनाउन बाँकी नै रहेको बताइएको छ ।