सांसद नविना लामाको दबाबमा मोस्ट वान्टेड गुण्डा नाइके दावा लामाका सहयोगी रिहा
प्रकाशित मिति : असार २९, २०७५ शुक्रबार
प्रतिनिधि सभाका सांसद नविना लामाको दबाबमा गुण्डा नाइके दावा लामाका सहयोगी रिहा भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नविना लामाको दबाबपछि दावाका सहयोगी सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले रिहा गरेको हो ।
दावा लामाको सहयोगीका रूपमा काम गर्दै आएका सत्यमान लामाले लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबार गरेको भन्दै उजुरी परेपछि काडमाडौं प्रहरीले बिहीबार बिहान उनलाई पक्राउ गरेको थियो । बिहीबार बिहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ नविना लामाको दबाबपछि छुटेको हुन् । दावा लामा नेपाल प्रहरीको ‘क’ वर्ग गुण्डाका सूचीमा रहेका छन् ।
एक प्रहरी सिनियर अधिकृतका अनुसार सांसद नविना लामाले ‘मेरो दाइ हो’ भन्दै छाड्न दबाब दिएपछि रिहा गरेका बताए । ‘प्रतिनिधिसभाका सांसद नविना लामाको जमानीमा रिहा गरेका छौँ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘म्याद थप गरे पनि हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी व्यवस्था अनुसार नै सत्यमान लामालाई रिहा गरिएको हो ।’
काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानमाथि गतबर्ष काभ्रेको सिपालीका किसानको माला लुटपाट गरेको आरोप लागेको थियो । यसअघि रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो । त्यस्तै सत्यमानविरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको समेत काठमाडौं प्रहरीमा उजुरी छ ।