बाबुलाई बचाउन मिर्गाैला तस्करी गर्ने आशिष पक्राउ


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

मानसिक रोगीलाई झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर प्रहरीले उनलाई पक्राउ गरेको हो।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– २ टुकुचाका २९ वर्षीय कुमार गिरीको मिर्गाेला निकालेर मानव अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा प्रत्यारोपन गरिएको थियो। आर्थिक प्रभावमा पारी गिरीको मिर्गाैला निकालिएको थियो।

उनले आफ्ना ५१ वर्षीय थर्कबहादुर बस्नेतलाई प्रत्यारोपण गराएका थिए। थर्कबहादुर जेल चलान भएसकेका छन्।

कुमारलाई थर्कमानको छोरा बनाएर मिर्गाैला तस्करी गरिएको थियो।

पीडितका आफन्त प्रह्लाद गिरीका अनुसार वैशाख १० गते गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिएको थियो। गिरीलाई बस्नेतका छोरा आशिष भएको भन्दै नाता प्रमाणिकारणका नक्कली कागजपत्र बनाएर मिर्गौला प्रत्यारोपण गरिएको हो।

सोही अनुसार २ महिनासम्म गिरीलाई पालन–पोषण गरेर पत्थरीको समस्या छ भन्दै त्यसको उपचारका नाममा अस्पताल भर्ना गरेर मिर्गौला निकालिएको पीडितको भनाइ छ। नेपालको कानुन अनुसार नजिकका आफन्तबाहेक अन्यले मिर्गौला दिन मिल्दैन।

गिरी अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई नागार्जुनस्थित आफन्तको घर नजिकै लगेर केही दिनअघि छाडिएको थियो। आफन्तले पेट चिरिएको देखेपछि सोधपुछ गर्दा मिर्गौला निकालिएको खुलेको हो।

जसअनुसार पीडितका आफन्तले भक्तपुर प्रहरीमा उजुरी गरेपछि मिर्गौला प्रत्यारोपण गरिएका बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। दुई महिनापछि आशिष पक्राउ परेका हुन्।

अस्पताल र डाक्टरमाथि प्रश्न

अस्पतालले दाताबाट मिर्गौला झिक्नुअघि चार वटा जाँच गर्नुपर्छ। पहिलो, शारिरीक रुपमा स्वस्थ छ कि छैन? दोस्रो, कानुनी रुपमा सबै कागजात ठिकठाक छन् कि छैनन्। तेस्रो, दान गर्ने व्यक्ति मानसिक रुपमा स्वस्थ छ कि छैन। र चौथो, सर्जिकल रुपमा फिट छ कि छैन।

कानुनी रुपमा बनाइएका नक्कली कागजात अस्पतालले छुट्याउन नसके पनि सुस्त मनस्थितिको भनिएकाले अस्पताल र डाक्टरतिर पनि अनुसन्धान मोडिएको हो।
किनभने मिर्गौला निकाल्नुअघि मानसिक रोग विशेषज्ञले जाँचेर स्वस्थ प्रमाणित गर्नुपर्छ। खासगरी दाताको ’आइक्यु जाँच’ गरिने गरेको पाइन्छ। सुस्त मनस्थिति भएकाहरुले उक्त आइक्यु जाँच पास गर्न सक्ने सम्भावना कम हुन्छ।

आशिष पक्राउ परेपछि अस्पतालको संलग्नताबारे छानबिन हुने प्रहरीले जनाएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com