बनारसमा तहल्का मच्चाइरहेको नेपाली युवा पण्डित टोली
प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार
साँझको समय बत्तिको झिलिमिली, फुलले सजिएको घाट र युवा पण्डित समूहको संयुक्त पाठ। यस्तो दृष्य देख्दा लाग्छ, वर्षौंपछि यहाँ कुनै उत्सवको सुरुवात हुँदैछ। तर त्यस्तो होइन। यो त भारतको बाराणसी (बनारस) मा दिनहुँ आयोजना हुने गंगा आरतीको एक दृष्य मात्र हो।
यही आरती हेर्न भारतका धेरै प्रान्तबाट मात्र होइन, विभिन्न देशबाट विदेशी भक्तजनहरु पनि पुग्ने गरेका छन् बाराणसी। खासगरी हिन्दु धर्ममा आस्था राख्ने भक्तजनहरु बाराणसीस्थित गंगा किनारमा हुने गंगा आरती हेर्न रुचाउँछन्। साँझको समय गंगामा डुङ्गा सयर गर्दै र चिसो हावाको स्पर्स लिँदै आरती हेर्नेहरुको ठूलै भीड देखिन्छ यहाँ।
गंगा नदी किनारामा एक ठाउँमात्र हैन, ठाउँ ठाउँमा आरती आयोजना गरिन्छ। यस्तो आरती हेर्न भक्तजनहरु गंगामा अवस्थित एउटा घाटदेखि अर्को घाटसम्म डुङ्गाबाट पुग्छन्। बाराणसीस्थित गंगा किनारमा ८४ घाट छन्। तीमध्ये दशाश्वमेध घाटस्थित गंगा आरती हत्पति कसैले पनि छुटाउँदैनन्। दशाश्वमेध घाटलाई ‘भगवान ब्रम्हाले भगवान शिवको स्वागतका लागि बनाएको’ भन्ने धार्मिक मान्यता छ।
त्यसैले दशाश्वमेध घाटमा हरेक दिन साँझ ६ बजेर ४५ मिनेटमा ७ जना पण्डितले श्रद्धा, भक्ति, धुप बत्ति, फूलका साथ गंगा नदीको पूजा गर्छन्। ३१ असारमा पनि अरु दिनजस्तै ७ जना युवा पण्डितहरु गंगा आरती भव्यरुपमा गर्दै थिए। मधुर संगीत, फुलको वर्षा, धुप, आरतीको थाली लिएर छिनभर विश्राम नगरी युवा पण्डितको समूहले श्रद्धा र भक्तिका साथ आरती सम्पन्न गर्यो।
लगभग एक घण्टाको आरतीपछि मात्र विश्राम लिएको ७ पुजारीहरुको समूहमा ५ जना नेपाली पण्डित थिए भने दुई जना भारतीय पुजारी थिए। गंगा आरती गर्ने पाँच मध्ये एक थिए, सन्तोष नेपाल। गंगा आरतीमा भारतीयका तुलनामा किन नेपाली पूजारी धेरै छन् त? सन्तोष भन्छन्, ‘नेपालीहरु सोझा हुन्छन्, बाराणसीमा संस्कृत पढ्नेपनि नेपाली नै धेरै छन्। त्यसैले, यो समूहमा पनि नेपाली धेरै छन्।’
१२ वर्ष अघि संस्कृत पढ्न नेपालबाट भारत पुगेका सन्तोषले विगत ६ वर्षदेखि दशाश्वमेध घाटमा गंगा आरती गर्दै आएका छन्। ताप्लेजुङ घर भएका उनी कक्षा ८ पास गरेपछि बाराणसी आए, अहिले शास्त्री (बिए) सम्मको पढाई भ्याइसकेका छन्। र, बाराणसीस्थित हिन्दु विश्वविद्यालयमा आचार्यको अध्ययन गर्दैछन्। सन्तोष भन्छन्, ‘संस्कृत पढेका हामीजस्ता विद्यार्थीले गंगा आरती गर्ने अवसर पाउनु भाग्यको कुरा हो।’
उनी दिनभरि अध्ययनमा व्यस्त हुन्छन् र साँझ सुरु भएपछि ६ बजेदेखि आरतीका लागि गंगा नदीमा पुग्छन्। खासमा उनको अध्ययनकै एउटा अंश बन्न पुगेको छ, यो आरती।
‘पैसा त खासै धेरै हुँदैन तर मनमा शान्ति चाहिँ मज्जासँग मिल्छ’, उनले आफ्नो अनुभव सुनाए, ‘घरमा जसरी धुप, घिउ, बत्तिको प्रयोग गरेर पूजा गर्छौं, त्यसरी नै गंगा आरती गरिने भएकाले यो काम त्यति गार्हो पनि छैन।’
गंगा आरती भारतमा किन यति धेरै चर्चामा छ भन्ने खुल्दुली लाग्नु स्वभाविकै हो। पण्डित नेपालको भनाईमा, आरतीमा धेरै पूजारीको सहभागिता हुनु नै यसको एउटा कारण हो। आरतीका अरु प्रक्रिया घरमा गरिने सामान्य पूजा जस्तै भएपनि धेरै पूजारीहरुको सहभागिताले गंगा आरतीलाई विशेष बनाइदिएको छ।
पवन शर्मा, रमेश पौडेल, सन्तोष नेपाल, विनोद दाहाल, पवन कट्टेल, अनिल दुबे र गोविन्द कट्टेलसहितको यो पण्डित समूहले एकिकृत रुपमा पूजा गरेको देखेर भारत विहारकी कञ्जनादेवी पटेलपनि दङ्ग परिन्। उत्तर प्रदेशको बाराणसीमा हुने गंगा आरती हेर्न उनी त्यसै दिन (३१ असार) बाराणसी आइपुगेकी थिइन्।
६ घण्टा गाडी यात्रापछि साँझ बाराणसी पुगेकी उनले गंगा आरती हेरेर दंग पर्दै भनिन्, ‘केटाकेटी उमेरमा आमाको काखमा बस्दा जस्तो आनन्द र सुरक्षा र महसुस हुन्थ्यो, यहाँ आएर गंगा आरती हेर्दा त्यस्तै आनन्द भयो। गंगा माताको काखमा आइपुगेको अनुभव भयो।
उनले थपिन्, ‘हुन त विहार र उत्तर प्रदेश छिमेकी प्रदेश हुन्। तर यहाँ हुने गंगा आरती हेर्न आउन पनि पाँच दशक लाग्यो।’
‘मर्नु अघि एक पटक गंगा आरती हेर्नुपर्छ’ भन्ने मान्यताले उनलाई बिहारबाट उत्तर प्रदेशसम्म ल्याइपुर्यायो। गंगा आरती हेर्न उनका साथमा थिए– छोरा दिग्विजय पटेल। आमासँगै गंगा आरती हेर्न पहिलो पटक बाराणसी आइपुगेका उनले नेपालखबरसँग भने, ‘नयाँ पुस्ताले आफ्नो संस्कृति थाहा पाउनुपर्छ भन्ने लागेर आमासँगै यहाँ आएको हुँ।’
दशाश्वमेध घाटमा गंगा आरती हरेक दिन धुमधामका साथ हुने गर्छ। अझ कात्तिक पूर्णिमाका दिन झनै भव्यताका साथ हुने युवा पण्डितहरु बताउँछन्। त्यसदिन २१ पूजारीहरुले संयुक्त रुपमा गंगा आरती गर्ने हुँदा त्यो आरती हेर्नेहरुको ठूलो घुइँचो लाग्ने गर्छ।