खाली खुट्टा काठमाडौँ आईपुगेका तारा बने करोडौंका मालिक !
प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार
-अस्मिता खड्का/ काठमाडौँ
खाली खुट्टा । धेरै पढ्ने सपना ! त्यो पनि काठमाडौँ शहरमा । कसैको साथ छैन । शरिरमा एक सरो कपडा मात्र । गाउँलेका लागि अञ्जान र विरानो देश । भर्खर, दह्रोसँग खुट्टा टेक्न मात्रै जानेको ११ वर्षीय बालकले देखेका सपना ! यी सबै हाम्रो लागि एकादेशको काल्पनीक कथा जस्तो लाग्छ । तर,विकट गाउँ, काभ्रेपलाञ्चोक कोशी पारी जन्मेका तारा बहादुर कुँवरले आफ्नो सपना पुरा गर्न गरेको जिवनसंघर्ष अदभूत छ ।
ठूलो दाजुको हात समाउँदै,काठमाडौँ ओर्लिएका थिए तारा ! काठमाडौँमा एउटा घरमा घरेलु कामदारको रुपमा तारालाई भर्ति गरिदिए र दाई आफ्नो बाटो लागेँ ।
घरमा एकसरो काम सकेपछि खेलेर दिनबिताउने बालकको संघर्ष, त्यही दिनदेखि सुरु भयो, जुनदिन दाईको हात छोडेर, अर्काको घरमा काम गर्न बसे । सुरुका दिन उनका लागि सहज थिएनन् । गाउँले साथी भाईको यादले सतायो । आमाबुबाको सम्झनाले पटक–पटक रुवायो । धेरै पढ्ने सपनाले उनलाई चुप लगाउँथ्यो । गाउँमा दुई कक्षा पास गरेका उनी, काठमाडौँमा ४ कक्षामा भर्ना भए । ‘अर्काको घरमा जुठा भाँडा माझेर पढ्न, कत्तिको सजिलो भयो होला ? त्यो पनि ऊबेला’ ताराले हामीलाई प्रश्न गरेँ । एकैछिन रोकिएर,फिस्स हाँदै भने ‘ निकै गाह्रो थियो’ यत्ति बोलेर,फेरि रोकिए ! उनको चाउरी परिसकेको अनुहारभित्र बाल्यकालमा भोगेका पीडाहरु पढ्न सकिन्थ्यो । उनका आखाँ हामीलाई धेरै कुरा भन्न खोजिरहेका थिए ।
…………………
जाडो मौषम । काँपिरहेको शरिर । भाँडाधुँदा कठ्याङरिएका कलिला हात । कस्ले सुम्सुमाउने,उनको आमा साथ थिइनन् । उनी बालक होइन, कामदार थिए । पुस माघको कडकटाउँदो जाडोमा सिमेन्टको ट्यांकिमा राखेको पानीले भाँडा बाझ्दा तारा काँपेको देखेर सोही, घरमा रहेका हरि बाहुनले उनलाई, चुरोट खान सिकाए । हाँस्दै भने ‘मालिकले खाएर फालेको चुरोटका ठुटा जम्मा पारेर खाँदा एकपट नराम्रोसँग विरामी परेँ ।’
यत्तिकैमा उनले गाउँघरमा साथीभाईसँग खेलेको कुरा सुनाँउँदै भने, ‘‘स्कुल जाँदा खोसेर साथीको खाजा खाँदाको मज्जा बैग्लै थियो । हिँउद महिना वनमा तरुल खन्ने,वनमा पाईने चिफ्लो झारकोभित्रि भागलाई थिचेर माटोको ताबामा रोटी बनाएर खादाँ, साथीभाईसँगै जंगलमा बस्तुसँग हिड्दाको जिवन, खुशी नै खुशीले भरिएको हुन्थ्यो । दुःख कहिल्यै लागेन ।’ गाउँमा अभाव थियो, तर अभावभित्र खुशीनै खुशी । सायद, उनले यो सुनाउनुको पछाडि शहरपसेपछि आमाबुबाको माया र अनुहारमा मुस्कार ल्याउन कठिन दिनबाट गुज्रनु पर्यो । एउटै घरमा बालक –बालक बिच हुने विभेद भूईंबाट टुलुटुले हेर्न मात्र सक्थे । यो विभेदले उनलाई पढेर ठूलो मान्छे बन्ने सपना बजबुत बनाई दिएको थियो ।
केही समयपछि अर्को, घरमा काम गर्न जानुपर्ने भयो । त्यहाँ सबै फेरियो । स्कुल, ठाउँ, फेरिए मालिकमालिक्नी तर, उनको नियती फेरिएन । बिहान सात बजेसम्म, घरको काम सकेर कमलपोखरीबाट महाराजगंज स्कुल पुग्नु पर्दथ्यो । त्योपनि पैदल । एक्लै बाटोमा डराई डराई हिड्नु पर्ने । आफ्नो स्कुलबाट फर्केर फेरि मालिकका छोराछारी लिन उनीहरुको स्कुल पुग्नु पर्दथ्यो । ‘म त्यो बेला कहिल्यै हिँडिन, सधै दौड लगाए । मेरो स्कुलबाट हिँडेर मालिकको छोराछोरी पढ्ने स्कुल पुग्न सक्दैनथेँ । समयमा नपुग्दा, कामदारमाथि कस्तो व्यावहार हुन्छ ? तपाई आफै अनुमान लगाउन सक्नु हुन्छ ।’
‘जसको घरमा काम गरेँ, त्यहाँ कहिल्यै मिठोचोखो खान जुरेन । मालिकहरु पोख्रेली चामलको भात खान्थे म चाहीँ उसिनेको चामलको भात । त्योबेला म १४ वर्षमा टेकेको थिँए । स्कुल ड्रेस थिएन । साथीको पाइन्ट र मेरो सट मिलाएर पालै पालो लगाउँथ्यौँ । पछि आत्म गलानी हुन, थाल्यो । स्कुलको फि ३ रुपैयाँ कहाँबाट तिर्ने ? अर्काको घरमा काम गर्दा नत स्कुलको होमवर्क गर्न पाउनु नत समयमा स्कुल पुग्नु ? सरै दुःख भयो । सोचेँ, पढ्ने मेरो भाग्यमा लेखेको रहेनछ । भाग्यलाई दोस दिँदै, पढ्ने सपना छोडिदिँए । १९ महिना काम गरेको तलब ९५ रुपैयाँ बोकेर काम र पढाई छोडेर निस्किए ।’
कुरा, ०३६ सालको हो । उनका गाउँलेदाजुभाई टेकुमा ठेला चलाउँने काम गर्दथे । उनी पनि साथमा भएको ९५ रुपैयाँ बोकेर टेकु पुगे । गाउँका दाई र काकाले ठेला चलाएको देख्दा तारामा पनि ठेला चलाउने इच्छा पलायो ।
दाई र काकाले ठेलामा बसेर गरेको रमाईलो, मालपुवा खाने र आफ्नो इच्छा अनुसार काम गरेको देखेपछि ताराले त्यही काम गर्ने निधो गरेँ । घरेलु कामदारभन्दा खुल्ला आकासमुनी रमाईलो जिन्दगी बिताउने रहर पलायो । बाहिरी रमाइलोबाट लोभिएका तारा काका र दाई बस्ने घर अझै रमाइलो होला भन्ने मनमनै लख काटे ।
साँघुरो गल्लीको बाटो । हातमा टिनको बाकस बोकेर काका र दाईको पछिपछि कोठामा पुगे । त्यसपछि ताराको होस उड्यो । अध्यारो कोठा । डर लाग्दो गल्ली । सड्क छोउमा हाँसी मजाक गर्ने काका र दाई घरमा माटोको भाँडोमा भात बनाएको देखेर झनै दंग परेँ । भात पाक्यो । सिलपटको थालमा भात पस्किए । फेरि त्यही भाँडोमा तरकारी पाक्यो । सबैले मिठो गरी खाए । पानी इनारको पिउनु पर्ने ।
अध्यारो कोठा, लुगा कहाँ राखेको छ, देख्न मुस्किल थियो । सुत्ने सुरसार भयो । तर विस्तारा छैनन् । कसरी सुत्ने । उहाँहरु त बोरा ओड्ने र अछ्याउने गर्नु हुने रहेछ ।
यी सबै कुरा नजिकबाट निहालेका ताराले काम गर्ने घर छोडेर गल्ती गरे जस्तो लाग्न थाल्यो । घरेलु कामदारको रुपमा काम गरे पनि बोरा ओड्नु उनको पहिलो अनुभव थियो ।
दाई र काका बोरा ओडेर सुते । तारा टिनको बाकस खोले । बाकसभित्र रहेको सुइटर निकालेर बोरामै पल्टीए । त्यो रात कट्यो । बिहानीको मिरमिर उज्यालोमा सबै उठेर रोडमा निस्किए । रोडमा आउन बित्तिकै ताराले टिनको पाता बोक्ने पहिलो काम पाए । टिनको पाता टेकुबाट २ रुपैयाँमा सितापाईला माथिको डाँडामा पुर्याउनु थियो । ‘मैले बोकेको जस्ता त्यो बेला दुईपाता थियो । जस्ता पुर्यार फर्कने बेला घाम चारैतिर लागि सकेको थियो । बाक्लो बस्ती थिएन । खुल्ला चौर । चौरमा बसेर कमाएको दुई रुपैयाँ, हेर्दै सोचे, पहिला महिनामा ५ रुपैयाँ आउँथ्यो तर, आज एक दिनमा दुई रुपैयाँ कमाए ! एक्लै गुनगुनाएँ । दुई रुपैयाँ खल्तीमा राखेँ । त्यसपछि लगाएको सुईटर हेर्दा झण्डै सातो गयो । हेछु त सुईटरमा सेता चुम्रा लछप्पै ! हत्तपत्त सुइटर खोलेर चौरमा फालेँ । के गर्नु, नयाँ किन्ने पैसा थिएन । फेरि, त्यही चौरमा बसेर जुम्रा टिपेर फाल्न थाले ।’ काका र गाउँलेदाईको बाहिरी दुनियाँदेखि लोभिएका उनी काम गर्ने घर छोडेकोमा पछुतो भयो । ‘मैले जिवनमा ठूलो गल्ती गरेँ ।’
जाने ठाउँ थिएन । त्यही जुम्रे कोठामा पुगे । बाकसमा जतन गरी राखेको पाइन्ट लगाएर बजारतिर काम खोज्न निस्कीए । कामको खोजीमा धेरै भौतारिए । कसैले काममा राखेनन् । साँझ जुम्रे कोठामै फर्किए ।
अर्को दिनदेखि ठेला चलाउने र ज्यामी काम पनि सुरु गरे । ज्यामी काममा अनुभव नभएकाले कहिले ज्याला उठ्दैनथ्यो त, कहीले नफा पनि हुन्थ्यो । एक मानो घ्यू कोशेलीमा खड्कीसँग ठेला पट्टयाए । ठेला चलाउने काम केही समय गरे । फेरि नयाँ काम रेक्सा चलाउन थाले । यसमा राम्रो कमाई भयो । पाइपाइ गरेर जोडेको पैसामा उनले नयाँ रेक्सा किने । त्यो दिनदेखि उनलाई पछि फर्केर हर्नु परेन । आफै मालिक बनेका उनी घरघरमा भुसे चुला बेच्न हिँडे । दिनमै ८० रुपैयाँ कमाई हुन थाल्यो । कुरा ४० सालको हो । त्यसपछि उनको जिवन विस्तारै फेरिन थाल्यो । ‘बल्ल राम्रो खाना र लाउन सक्ने भएँ । भुस बेच्दा बेच्दै धनी नै भएँ । त्यसपछि विहे पनि गरेँ । आफ्नै पैसाले तीनवटा रेक्सा किने ।’
सामान बोक्ने रेक्सा भाडामा लगाए भने आफू पर्यटक बोक्ने रेक्सा किने । ठमेलमा बसेर विदेशी पर्यटकलाई ‘हाउ मच भन्न पाइयो.. ।’ चारमहिनापछि टेम्पु चलाउन थाले । त्यतिमात्र होइन । सड्क छेउमा कपडा बेच्न सुरु गरेँ । त्यो पनि आफैले सिलाएर । टेम्पुको लायसेन्स बनाउन दाङ पुगेँ । ‘घुस खुवाउँदा, करिब ६ हजार खर्च भयो । मेरो लागि त्यो ठूलो रकम थियो । श्रीमती र बहिनीको गहना अडाना राखेर पहिलो टेम्पु किनेको थिएँ ।’ उनले आफुमात्र कमाउने सोचेनन् । अरुलाई पनि आफ्नो सिप बाड्न थाले । एक वर्षमा ८० जना ज्यामी काम गर्नेलाई ट्याम्पु चालक बनाएँ ।
ऋणधन गरेर किनेको टेम्पुको किस्ता ६ महिनामा पुरा गरे । उनको मेहनत र लगनशिलाकै चमत्कार भन्नु पर्छ । ताराले हरेक ६ महिनामा नयाँ टेम्पु थप्दै गए । टेम्पु चलाएको चारवर्षमा २७ वटा टेम्पु किन बेच गरे । पाँच वटा टेम्पु बेचेर घर बनाए । घरलाई धितो राखेर मिनि ट्रक किने । त्यसको केही समयपछि ट्रिपर, त्यसपछि बुल्डोजर । १२ वटा हेविइक्पमेन्ट, भुवानीका लागि सातवटा प्लेटवाला ट्रक,डोजरका मालिक बन्दा ताराको चर्चा चारैतिर हुन थाल्यो ।
‘अरुले हेर्दा मेरो जिन्दगी फुलको थुँगा जस्तो लाग्छ, तर,मेरो विगत सम्झदा मुटु दुख्छ । मैले जति पसिना सयाद, यो माटोमा अरुले बगाएको छैन होला ।’ ‘हेर्दा धन दौलत छ तर,म पनि मान्छे न हो । अरुको अगाडि नरोए पनि एक्लै भगवानसँग कुरा गर्दै रुन्छु । भगवानको अगाडि आँशुसँग आफ्ना पिडा साट्ने गर्छु ।’
उनले जिवनमा भोगेका कठिनाई र पीडाको बारेमा लेख्दै जाने हो भने ठूलो ग्रन्थ बन्छ । ‘तपाई विश्वास गर्नुहुँदैन होला? म अहिले पनि दिनमा १४ देखि १५ घण्टा काममा खटेकै हुन्छु ।’ ताराको जिवनीबारे पुल्चोक इन्जिनियरिङ कलेज ःक्ऋ परिक्षामा विद्यार्थीले १५ नम्बरको उत्तर लेख्नुपर्छ । कक्षा ६ पास भएपनि तारा कलेजमा रेक्चर दिन जान्छन् । ‘५० सालदेखि यता काठमाडौँमा बन्ने अधिकांस घरको लागि चाहिले बालुवा र रोडा मैले बोकेको हो । ०६२ सालमा आउँदा मेरा १७ वटा ट्रक थिए । दिनमा १५० ट्रक निर्माण सामाग्री काठमाडौँ पुर्याएँ । इमान्दारी पूर्वक काम गर्नेले पैसा कमाउन नेपालमा निकै गाह्रो छ , यो मेरो अनुभव हो ।’
एउटै कापीले कक्षा दुई पास गरेका ताराले, शिक्षाको उज्यालो दिन गरिब परिवारका विद्यार्थीको शिक्षाको लागि १० लाखको अक्षकोष बनाएका छन् । ‘सिसा कलमले लेख्दै मेट्दै वर्ष कटाएका दिन भूलेको छैन । त्योबेला गाउँमा हामी गरिब हौ भन्ने हुँदैनथ्यो । संसारै यस्तै होला जस्तो लाग्थ्यो । मैले जस्तै कक्षा ६ मै नयाँ पुस्ताले पिएचडी गर्नु नपरोस् । कम्तिमा पनि मेरो सानो सहयोगले कक्षा १० पढ्न पाउन भन्ने उदेश्यले शिक्षा कोष खडा गरेको हुँ ।’
तारा काठमाडौँ चक्रपथ सफाई अभियानका अगुवा पनि हुन । उनले यो अभियान २०७१ सालबाट सुरु गरेका हुन । ‘११ वर्षको हुँदा काठमाडौँ पसेको थिए, अहिले ५३ वर्षको भए । यो अबधिमा मैले धेरै दुःख गरेको छु । आचल भोलि लाग्छ मेरो आमा बा सँग पैसा भैदिएको भए, म पनि राम्रो पढ्थेँ । अंग्रेजी बोल्थेँ । अर्काको घरमा जुठा भाँडा माझेर जति पढेँ,त्यो अवसर थिएन, मैले कोशिस गरेको थिएँ । सबैभन्दा ठूलो शिक्षा नै हो ।’ उनले खडा गरेको कोष काभ्रेपलाञ्चोक कोशीपारीका गरिब परिवारका बालबालिकाको शिक्षाको लागि खर्च हुनेछ । कोष ८ लाख जम्मा भएको छ ।
जिवनका कष्टपूर्ण भोगाइबाट भविश्यका सुन्दुर अवसर पैदा गर्न सक्नुनै मानिसको अदभूत क्षमता र सफलत हो । पढेर भन्दा परेर धेरै सिकेका तारा त्यही अदभूत प्रेरणाका पात्र हुन । सरल स्वभाव र कामप्रति इमान्दारीताले उनको जिवनसंघर्ष सुन्ने जो कोही पनि, एक पटक सोच्न बाध्य हुन्छन्, के यो साँच्चै हो ! घरेलु कामदार अहिले अरबौँको मालिक !! उनको नाम र काम सुन्ने उनको जिवन कथा सुन्न निकै इच्छु भएको पाइन्छ । ठेलागाडादेखि बुल्डेजरका मालिक कुँवर कस्मेटिक बन्दै गएको नयाँ पुस्ताले उनीबाट प्रेणा लिनुपर्छ ।
विगत सम्झदै ताराले भने ‘पहिला भोज भतेर वा कुनै कार्यक्रमा कसैले बोलाउँदैन थे । अहिले जानै भ्याउँदैन ।’ श्रम, पसिना र इमान्दारीताले खडा भएको उचाई, स्वदेशमा हुने हरेक कार्यक्रमा ताराको नाम भिआईपी लिष्टमा आउँछ । विदेशमा पनि उनले उत्तिकै सम्मान पाउने गरेका छन् । भारतमा सबैभन्दा ठूलो सम्मान र स्वागत भएको उनले सुनाए । उनी यूरोपका सबै मुलक र अन्य देशमा पनि भ्रमण गरिसकेका छन् ।
खाली खुट्टा काठमाडौँ आईपुगेका तारा अहिले हेभी इक्विपमेन्ट व्यवसायी संघका संस्थापक अध्यक्ष, एक्जाभेटर, व्याकहो लोडर ,टेलर, ट्रक, र क्रेनका मालिक । चर्चित युरोपियन ब्रान्ड आईटीआरको उत्पादन साथै अमेरिकी ब्राण्ड जीपी लुब्रिकेन्टसको नेपालका आधिकारीक बिक्रेता पनि हुन । आफ्नो पसिना र इमान्दारीताभित्रबाट चम्केका तारा हरेक दिन जसो सम्मानित हुन्छन् । केही गर्न चाहानेका लागि श्रम सानो ठूलो हुँदैन, भन्ने प्रेणा र हिम्मत दिने उनको जिवनसंघर्ष र सफलता साँच्चै अदभूत छ । यो उनको अविचलित संघर्षको परिणाम नै हो ।