“फोहोरको थुप्रोबाट ल्याएको छोरीले ‘आमा ! ‘ए’ लेख्न सिकें’ भन्दा गर्वले आँशुझर्छ”
प्रकाशित मिति : श्रावण १७, २०७५ बिहीबार
दिक्षा चापागाई, समाजसेवी
१ दशक भन्दा लामो देखी समाजसेवामा सक्रिय पबित्र समाज सेबा नेपालकी अध्यक्ष दिक्षा चापागाई विभिन्न कारणले घरबाट निकालिएका, सडकमा सुत्न बाध्य, फोहोरको थुप्रोमा प्लाष्टिकमा भेटिएका बालबालिकाहरु लगायत पीडामा रहेका व्यक्तिहरुको स्याहारसुसारको काममा व्यस्त छिन् । टोखामा अहिले पवित्र सेवा समाजमा ६५ जना बालबालिकाहरुदेखि बृद्धबृद्धासम्म छन् । उनै दिक्षासँग खसोखासका लागि बिक्रम खत्री र अरुणा रायमाझीले गरेको कुराकानी ।
परिवारमा अहिले कति जना हुनुहुन्छ ?
नानीबाबु र बृद्धा आमाबुबा गरेर ६५ जना छौँ । सबैभन्दा सानो छोरा डेढ महिनाको भयो । उसलाई हस्पिटलबाट ल्याएका हौँ । बच्चा जन्मिएपछि आमाबाबुले छोडेर भागेका रहेछन् । ल हेर्नु त ! मुस्कुराउँदै छ । (काखमा खेल्दै गरेको दुधे बालक देखाउँदै) । उसको त न्वारन पनि भएको छैन । सोच्दै छु, नाम के राख्ने होला ? आमाबुबा बाहिर हुनुहुन्छ । तपाई आफैले देख्नुभयो । अनुहार चाउरी परेको, बुढो शरीर नुगी सक्नु भएको छ । कोही हिड्डुल गर्न सक्नु हुँदैन । कोही छोरा छोरी अपांग छन् । परिवारमा, थपिदै जानुहुन्छ ।
यति ठूलो परिवार, कसरी मिलाएर राख्नु भएको छ ? यो सबै गर्ने उर्जा कहाँबाट आउँछ ?
यो मेरो दिलको कुरा हो । जुन काम गर्दा तपाई हामीलाई खुशी मिल्छ नि ! उर्जा त्यहीबाट, आफै पैदा हुन्छ । सेवा कसैको सिको गर्ने, कसैको नक्कल उर्ताने, कसैले गर, भनेर गर्ने कुरा होइन । त्यसको लागि तपाईको भित्र आत्म बोल्नुपर्छ । समाजसेवामा लागेको १६ वर्षभयो । म निकै खुशी छु ।
मानिसले धेरै केही गर्नु पर्दैन, एकपटक त्यही फोहोरको थुप्रोमा लाचार बनेर आफु पल्टीएको कल्पना मात्र गर्नुस्, तपाईभित्र ती बेसहारा, भोका र निर्दोस नानीबाबुको लागि केही गरौँभन्ने भावना पैदा हुन्छ । तपाईभित्रको मानवता आफै बोल्छ । तर आफ्ना आमाबुबा र छोराछोरी फाल्नेहरु पनि मानवको रुप लिएरै जन्मिएका हुन् । कुन बाटो रोज्ने, त्यो तपाईको कुरा हो । मैले सकेको सेवा सबै उमेर समुहकोलाई गरेको छु । यो मेरो रोजाई हो ।
मिलाएर लैजान कठिन नभएको होइन, तर कठिनाईलाई पार गरेपछि सम्भावनाका धेरै बाट खोल्दा रहेछन् ।
आफ्नो काम प्रति कत्तिको गर्व लाग्छ ?
आफुले गरेको काम प्रति खुशी छु । यहाँ आमाबुबा, छोराछोरी, दिदीबहिनी, दाजुभाई सबै हुनुहुन्छ । बालबालिकालाई आफुले नजन्माए पनि आमाबुबाको माया दिने कोशीस गरेकी छु । बुबाआमालाई छोरीको माया दिएको छु । यहाँ मेरो व्यक्तिगत जिवन हुँदैन । परिवारलाई कसरी खाना खुवाउने ? शरीरमा एक सरो कपडाको जुगाड कसरी गर्ने ?नानीबाबुको शिक्षा र स्वास्थ्य कसरी राम्रो बनाउने यहीँ सोच्दैमा दिन बितेको पत्तो हुँदैन ।
फोहोरको थुप्रोमा प्लाष्टिकभित्र पोको पारेर फालेको बच्चा अहिले हुर्केर, आमा म भोलि ठूलो मान्छे बन्छु, तपाईलाई सिमी किनेर ल्याई दिन्छु भन्दा गर्वले छाती चौडा हुन्छ । भोलि के हुन्छ, त्यो बेग्लै कुरा हो ।
सडक पेटी र फोहोरमै लतपतिएको बुबाआमालाई घरमा ल्याउँछु । उहाँहरुसँगै खाना खान्छु, बस्छु । पटक पटक आशीर्वाद दिनुहुन्छ । मेरो लागि त्यो गर्वको कुरा हो । पवित्र मनले बृद्धा आमाबुबाको आशिस भाग्यमानीले मात्र पाउँछ भन्छन् । म भाग्यमानी छोरी हुँ कि लाग्छ ।
खुशीसँगै दुःखका क्षण पनि आए होलान नि ?
दुःख त, भनि साध्य छैन, त्यही दुःखभित्र सुख खोज्ने हो । संघर्ष नै जिवनको परिभाषा रहेछ । सजिलो गरी आउने खुशी पाहुना मात्र हो रे । दुःख धेरै छन्, यो परिवेश, यो समाज र अहिलेको परिस्थिति कस्तो छ तपाई हामी सबै परिचित छौँ । त्यसमाथि एउटा महिला । कुनै ठाउँमा पहुँच छैन । त्यसमाथि एउटा दुर्गम जिल्लाको मान्छे । यहाँ सबै पहुँचवाला कै चल्छ । मेरो नत आर्थिक रुपमा पहुँच छ, नत राजनीतिक रुपमा नै । मसँग केवल असहाय र अवोधहरुको सेवा गर्ने चाहा मात्र हो ! सामाजिक र आर्थिक रुपमा पाएका पीडा ३२ जना छोराछोरीले आमा भन्दा बिर्सन्छु । म जबसम्म यो संसारमा रहन्छु तबसम्म मानव सेवामा लाग्ने आफै प्रति बाचा गरेको छु । आफ्नो लागि सबैले काम गरेका हुन्छन् तर अरुको लागि हात खुल्ला राख्ने थोरै मात्र हुनुहुन्छ, उहाँहरुले देश विदेशबाट दुःखमा साथी दिनुभएको छ ।
फोहोरको थुप्रो, नालीको छेउ र सड्क पेटीबाट बेबारिसे मानिसहरुलाई लिएर आउनु हुन्छ । हामीलाई हेर्दा त पीडा हुन्छ, भने तपाई त उहाँहरुलाई नजिकबाट बुझ्नु भएको छ ? कुनै घटना छ, आफैलाई अचम्भित पारेको ? समाज यस्तो पनि हुन्छ भन्ने ?
यस्ता घटना धेरै छन् । कुन चाहीँ भनौँ । उनी अहिले स्कुल गइन् । नाम अनामिका हो । उनी प्लाटिकको झोलामा सालनाल सहित पोको पारेर फालेको अवस्थामा भेटिएको थिइन् । त्यो पनि प्लाटिको झोला च्यातिएकाले बच्चाको खुट्टा बाहिर निस्किएको रहेछ । त्यहाँ फोहोर फाल्न आउने मान्छेले मरेको बच्चा फालेको रहेछ भन्दै हल्ला खल्ला गरे । अनि म त्यहाँ गएर प्लाष्टिक खोलें । हेर्नेको घुइचो थियो । खोलेर हेर्दा त बच्चा ज्यूँदै रहेछ । पुरै दिशा लागेको, शरिर भरि घाउ, घाउबाट पिप निस्कीएको थियो । उद्धारपछि लगत्तै हस्पिटल लग्यौ । एक महिना हस्पिटलमा राखेपछि बच्चा निको भयो र घरमा ल्याएँ । ऊ अहिले नर्सरीमा पढ्छ । निकै चलाख छ । मलाई देख्न वित्तिकै मामु ए लेख्न सिकें भन्दै आउँछ । यस्ता घटनाले दिमाग हल्लाउँछ । भगवानलाई सम्झन्छु । हे भगवन ! मानिस आफ्नै सन्तानलाई यस्तो कसरी गर्न सकेको होलान् ?
यस्तै बृद्धा बा आमालाई सडक र फोहोरबाट उठाएर ल्याउँदाको पीडा के सुनाउँ ! सुनाई साध्य छैन । सायद जिवनमा त्यो भन्दा पीडा र दुःखको हद अरु केही हँुदैन । म त कल्पना समेत गर्न सक्दैन । समाजमा यस्ता मान्छे छन्, जसले एकातिर धन सम्पति, अर्कोतिर आमाबाबुलाई तराजुमा राखेर तौल्छन् । तराजुमा आमाबुबा र सम्पत्ति बराबर भयो भने बाबुआमा पाल्ने होइन भने, घरबाट निकाल्ने वा कुनै ठाउँमा लगेर छोड्ने वा कुटपीट गर्ने खान नदिने गरेको पाइन्छ । संसारमा सबै कुरा किन्न पाईन्छ तर, आफ्नो जन्मदिन बाबुआमा पैसाले किनेर पाईदैन ? म कहिले काँही आफैलाई प्रश्न गर्छु ,बाबुआमा विनाको सफलता के सफलता ? के खुशी ? कस्तो खुशी ? तर,यस्ता मान्छे प्रति घृणा लाग्दैन, विचरा भन्न मन लाग्छ ।
छोराछोरीलाई युरोपका कलेजमा पढ्न पठाउँदा सबै कुरा गुमाई सकेका हुन्छन् । आमाबुबो शरीर बुढा भैसकेको हुन्छ तर, सहारा भनेको छोराछोरी बृद्ध आश्राम र सड्कमा छोडी दिन्छन् । आमाबुबाको आशीर्वादको लागि तड्पने मानिस पनि देखेका छौँ, सबै खराब हुन्छन् भन्ने होइन ।
मानवियतको हिसाबले हेर्दा, हाम्रो समाज कता जाँदैछ ?
मानवताको नाता, बाहेक अरु केही होइन मेरो । मैले अरुले फोहोर जस्तै गरी फ्याकेको आमाबुबालाई सडक पेटीबाट उठाएर खान र न्यानो ओछ्यानमा सुताउँदा समाज र राज्यले बेलाबेला दुःख दिन्छ । बच्चा फाल्नेलाई राज्यले खोज्दैन । फालेको बच्चा पाल्ने र बुढा बा आमालाई तातो गास खान र न्यानो ओछ्यानमा सुताउँदा पटक पटक परीक्षा दिनु परेको हुन्छ ।
बाहिर शरीर सडेको अबस्थामा ल्याएर उपचार गर्दै, हात खुट्टा धोइदिदा, – यो मैला गएन दिक्षा भन्छन् । अर्काको बुबाआमाको फोहोर शरीर धुँदा, दिसा पिसाब धुँदा, भन्छन् – धोएको सबै नाटक हो । यस्ता कुराले बेलाबेला दिक्क लागेर आउँछ तर, ती चिचिला नानीबाबु र अनुहार चाउरी परेका, कुप्रो शरीर र सहारा बिहिन आमा बा देख्दा ‘हैन, म अरुको कुरामा लाग्नु हुँदैन, मैले यी असहायको लठ्ठी बन्नुपर्छ’ भन्दै आफैलाई हौसला दिन्छु । अगाडी बढ्ने शाहस बटुल्छु । उहाँहरुको अनुहारमा हेर्छु र पीडा भुल्छु ।
समाजिक क्षेत्रमा आफुले सिन्को नभाच्ने तर अरुले गरेको कुरालाई खुट्टा तान्ने र कुरा नकाट्ने मान्छेको कमी छैन । बाटोको डिलमा बसेर लिला हेर्नेको एउटा जमात छ, जसको काम भनेको काम गर्नेलाई जसरी हुन्छ लडाउने र आनन्द लिने गरेको पाइन्छ ।
म पनि मान्छे हो, पीडा त हुन्छ नि ? अहिले म अचार बनी सकेकी छु । अचारलाई अब कति पिस्नु हुन्छ । त्यसलाई पिस्दा केही फरक पर्दैन । हाम्रो समाज लडेकोलाई उठाउने हैसियत राख्दैनन्, उठेकोलाई लडाउन सकेजति बल लगाउँछन् ।
अरुलाई समाज सेवा गर्नु भन्दैन । तर, काम गर्नेलाई लडाउनमा समय खेर नफाल्नु भन्न चाहान्छु । सेवाभावलाई थोरै मात्र बुझ्ने कोशीस गरे हुन्थ्यो । (काखको दुधे वालक देखाउँदै ) यो बच्चाको न जन्मदिने आमा छ नत बुबा नै । न अरु कोही आफन्त । यसको बाँच्ने अधिकार छैन, के मैले यो बच्चालाई काख दिएर गल्ती गरे ? सडक छेउमा, आधा शरीर कुहिएको बुढो मान्छेलाई उद्धार गरेर गल्ती गरें ? मेरै आँखा अगाडी सडकमा लडेको बुढो बेसहारा मान्छेलाई देख्दा नाक छोप्दै थुकेर हिडेका छन् । तपाईं आफै भन्नु समाज कता गएको छ ।
कतै बाट सहयोग पाउनु भएको छ कि ?
जसको कोही हुँदैन उसको अभिभावक भनेको राज्य हो । खै त राज्यले गरेको ? हामीलाई अहिलेसम्म राज्यले एकमुठी चामल सहयोग गरेको छैन । यसमा कुनै गैर—सरकारी संस्थाको सहयोग पनि छैन । आजसम्म जति पनि सहयोग मिलेको छ, त्यो देश विदेशमा बस्ने नेपाली दाजुभाई दिदी बहिनीहरुबाटै मिलेको हो । समाजमा सेवा गर्ने भावना भएका धेरै व्यत्तित्वहरु हुनुहुन्छ । उहाँ मनकारी व्यत्तित्वहरु प्रति सधै आभारी छु । कसैले दाल चामल, कसैले औषधि उपचार, कसैले कपडा, कसैले बालबालिकालाई किताब कापी ल्याई दिनुहुन्छ । ३२ जना बच्चा स्कुल जान्छन् अहिले ।
समाजसेवा भन्दाबढी कुराको सेवा गर्नेलाई के भन्नुहुन्छ ?
सेवालाई सेवाको आँखाले हेरिदिए पुग्छ । जे हो त्यही नजरबाट हेर्नुपर्छ । मानिसको आँखा एउटै हो,तर हेर्ने दृष्टि फरक भईदिन्छ । भन्नु र काम गर्नुमा धर्ति आकाशको फरक हुन्छ ।
उद्धारपछि परिवारसँग मिलन पनि गराउनुहुन्छ ?
उद्धारपछि केही दिन पवित्र सेवा समाजमा राखेर उहाँहरुको घरपरिवारको खोजीमा लाग्छु । घरको बारेमा राम्रोसँग बताउन सक्ने हुनुभयो भने आफ्न्त वा घरमा पुर्याई दिन्छौँ । फोटो सहित सामाजिक सञ्जालमा पोष्ट गरेको हुन्छु । कोही आफै लिन आउनुहुन्छ । कतिपयले नियोजित हिसाबले बाटोमै छोडेर भागेका हुन्छन् उहाँहरु खबर गर्दा वा मान्छे चिन्दा पनि लिन आउनु हुँदैन । कतिपय खुशी हुँदै आउनुहुन्छ । हराउनु भएको थियो, यहाँ आश्रय दिनुभयो भन्दै धन्यवाद दिनुहुन्छ । अनि लिएर घर जानुहुन्छ । कतिपय बोल्न सक्नु हुँदैन, उहाँहरुले के बताउने ? उहाँहरु म सँगै हुनुहुन्छ ।
बच्चा र बुढाबुढी शारिरीक हिसाबले अलि नाजुकै हुन्छन् । विरामी त हुन्छन् होला ? यतिधेरै हुनुहुन्छ । गाह्रो कत्तिको हुन्छ ?
राती त तिरिमिरी खेलाउँछन् । घरमा विरामी नभएको दिनै हुँदैन । केही न केही सानो तीनो भएपनि बिरामी परेकै हुन्छ । तपाई आफै सोच्नु त घरमा एक जना विरामी हुँदा कस्तो हुन्छ । यहाँ त, बच्चा ३६ जना छन् । कहिले त एकै पटक रुन थाल्छन् ।
त्यसो भए हैरान बनाउँछन् होला नि ?
पुरा सुत्न नपाएको धेरै भयो । कहिले कस्लाई दुध खुवाउ, कहीले कस्लाई ? ओबानो ओछ्यानमा नसुतेको बर्षौ भयो । एउटा सुते अर्को उठ्छ, अर्को फेरि दिसा पिसाब गर्छ । एउटा उठाए अर्को रुन्छ यस्तै हो । मेरा दुबै काख खाली हुँदैनन् । सानोलाई झन् धेरै स्याहार सुसार गर्नु पर्यो । हैरान हुँदैन, कहिले काहीँ थकित र विरामी पर्छु ।
तपाईको पहिलो सन्तान कति वर्षको भयो ?
पहिलो छोरी हुन् । उनी नौ कक्षामा अध्यायन गर्दै छिन् । १४ वर्षको भईन ।
यतिधेरै नानी बाबुको भविश्यका बारेमा के सोच्नु भएको छ ? आफ्ना सपना सुनाउँछन् होला ?
मैले बेलाबेला सोध्ने गर्छु तिमीहरु ठूलो भएर के बन्ने ? कसैले मामु जस्तो बन्ने, कोही डाक्टर, कोही पाइलट, कोही मिस नेपाल, कोही पुलिस,कोही स्टाफ नर्स बन्ने कुरा सुनाउँछन् । हरेक बच्चाका फरक—फरक सपना छन् । पहिलो त यी नानीबाबु हुर्काउनु पर्यो । उनीहरुको शिक्षा स्वाथ्य हेर्नु पर्यो । भोलीको कुरा मैले भगवानको भरोसा छोडिदिएको छु । केही न केही उपाय लाग्ला ? कोही न कोही पक्कै आउनुहुन्छ, छोराछोरी एन्जल बनेर । मलाई भगवानप्रति पूर्ण विश्वास छ । यी बच्चाहरुको भविश्यको लागि कोही त आउला ? उसैको बाटो कुरेर बसेको छु । मेरा बच्चाहरु ठूलो भएपछि राम्रो मान्छे बन्ने छन्, उनीहरुबाट मैले राम्रो आशा गरेको छु ।
माया कत्तिको लाग्छ ?
मलाई थाहा छैन जन्म दिने आमाले कत्तिको माया गर्दछन् । कति माया गर्छु, कसरी व्यक्त गरौँ । मायाको सिमा हुँदैन ।
समाज सेवामा लाग्ने सोच कसरी आयो ?
फोहोरको थुप्रोमा बेबारिसे फालिएको मान्छेको कथाले यो सेवामा प्रवेस गरायो । एक दिनको कुरा हो म कम्प्यूटर पढेर घर फर्कदै थिए । शंकरदेव क्याम्पस नजिकैको फोहोर छेउमा एक जना मानिस देखँे । उनको नजिक गएर कुरा गरें । उनको कोही छैन भने । त्यो बेला म एउटा विद्यार्थी थिएँ । के गर्ने होला धेरै सोचें । सुरु सुरुमा भाउजुले दिएको खाना लुकाएर प्लाटिकमा पोको परेर ल्याई दिन थाले । त्यो रात दिन्द्रा लागेन । दिमागमा अनेक प्रश्न उब्जिए । फोहोरको थुप्रो बाटो हिड्नेहरु सबै नाक छोपेर हिड्छन्,ती मानिस कसरी बसेका होलान् ? बाध्यता भनौ वा बिडम्बना, उनी अरुले फालेको खानो कुरा टिपेर खाएका हुन्थे । पानी कस्ले दिन्छ होला, यस्तै यस्तै । हो त्यही दिन देखि म असहायहरुको सेवामा काम गर्छु भन्ने सोचें । अहिले यो क्षेत्रमा काम गर्न थालेको १६ वर्ष पुगेछ ।
तपाईको आफ्नै परिवारको सहयोग छ कि छैन ?
परिवारको सहयोग र साथले उठेको छु । कुराका समाजसेवीहरुले मेरो हिम्मत र पवित्र समाजसेवाको चाहानालाई पटक पटक हतकडी लगाउन खोजे । मेरा हरेक पाइला पाइलामा मेरो जन्मदिने आमाबुबा र भाईबहिनी सधै खडा भए । आमा त ठूलो छोरीको परिवार भन्दै यहाँ पवित्र समाज सेवामा आएर खाना बनाउने, साना बच्चालाई नुहाईदिने, खाना खुवाउने गर्नु हुन्छ । मैले बच्चाबच्चीलाई केही भन्नु हुँदैन । आमाले मलाई गाली गर्नु हुन्छ । बच्चालाई किन गाली गर्ने भन्दै हपार्नु हुन्छ । भाईहरुले बृद्ध बाहरुको लुगा धोइदिने,दारी कपाल काटिदिने र नुहाइदिने गर्दछन् ।