३ नम्बर प्रदेश सबैभन्दा धनी प्रदेश
प्रकाशित मिति : श्रावण २६, २०७५ शनिबार
मुलुकको कूल ग्राह्स्थ उत्पादनमा सबैभन्दा धेरै प्रदेश ३ को योगदान रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको प्रदेशगत विवरण अनुसार ३० खर्ब रुपैयाँ कूल ग्राह्स्थ उत्पादन रहेको नेपालमा गत आर्थिक वर्ष २०७४/७५ को ११ महिनामा प्रदेश ३ को ९५ अर्ब ९३ करोड ३१ लाख रुपैयाँ ग्राह्स्थ उत्पादन रहेको छ।
यो नेपालको कूल ग्राह्स्थ उत्पादनको ३१ दशमलब ९ प्रतिशत हो। उक्त प्रदेशमा प्रतिव्यक्ति आय १ हजार ५ सय ३४ अमेरिकी डलर (१ लाख ६८ हजार ४ सय ७९ रुपैयाँ) रहेको केन्द्रीय बैंकले जनाएको छ।
मुलुकको ७ वटा प्रदेशमा सबैभन्दा कम कर्णाली प्रदेशमा १२ अर्ब ४३ करोड १७ लाख रुपैयाँ ग्राह्स्थ उत्पादन छ। यो कूल ग्राह्स्थ उत्पादनको ४ दशमलब १ प्रतिशत हिस्सा हो। उक्त प्रदेशमा प्रतिव्यक्ति आय ६ सय ७७ अमेरिकी डलर (७४ हजार ३ सय ३४ रुपैयाँ) रहेको छ।
यसैगरी प्रदेश १ को ग्राह्स्थ उत्पादन ५ लाख २५ हजार ९४ रहेको छ। यो मुलुककै कुल ग्राहस्थ उत्पादनको १७ दशमबल ५ प्रतिशत हो। प्रदेश १ मा प्रतिव्यक्ति आय १ हजार २४ अमेरिकी डलर (१ लाख १२ हजार ४ सय ३५ रुपैयाँ) रहेको छ।
४८ अर्ब ८२ करोड ९ लाख रुपैयाँ प्रदेश २ को ग्राह्स्थ उत्पादन रहेको छ। यो मुलुकको कूल ग्राह्स्थ उत्पादनको १६ दशमलब २ प्रतिशत हो। प्रदेश २ को प्रतिव्यक्ति आय ७ सय ९९ अमेरिकी डलर (८७ हजार ७ सय ३० रुपैयाँ) रहेको छ।
गण्डकी प्रदेशको ग्राह्स्थ उत्पादन ३१ अर्ब ५७ करोड १६ लाख रुपैयाँ छ। यो मुलुककै कुल ग्राहस्थ उत्पादनको १० दशमबल ५ प्रतिशत हो। उक्त क्षेत्रको प्रतिव्यक्ति आय १ हजार २१ अमेरिकी डलर (१ लाख १२ हजार १ सय ५ रुपैयाँ) रहेको छ।
यस्तै प्रदेश ५ को ग्राह्स्थ उत्पादन ४० अर्ब ४० करोड ५३ लाख रुपैयाँ छ। यो कूल उत्पादनको १३ दशमलब ४ प्रतिशत हो। प्रदेश ५ मा प्रतिव्यक्ति आय ८ सय ६८ अमेरिकी डलर (९३ हजार ७ सय ४४ रुपैयाँ) रहेको छ। प्रदेश ७ मा १९ अर्ब ५ करोड १५ लाख रुपैयाँ ग्राह्स्थ उत्पादन छ। यो कूल ग्राहस्थ उत्पादनको ६ दशमलब ३ प्रतिशत हो। उक्त प्रदेशमा ६ सय ६० अमेरिकी डलर ( ७१ ह्जार २ सय ८० रुपैयाँ) प्रतिव्यक्ति आय छ।
नेपाल राष्ट्र बैंकका निर्देशक नरबहादुर थापाले मानव विकास प्रतिवेदनका आधारमा गत वर्ष २०७४÷७५ को ११ महिनाको क्षेत्रगत आर्थिकस्थिति थाहा भएको जानकारी दिए। उनले क्षेत्रगत उत्पादन स्थितिमा केही समयमा फरक हुने उल्लेख गरे।