कृसु क्षेत्रीको ‘चराको गीत’ शनिबार न्युयोर्कमा लोकार्पण हुने
प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार
न्युयोर्कमा कार्यरत नेपाली वाणिज्यदूत साहित्यकार कृसु क्षेत्रीको नयाँ कविता संग्रह ‘चराको गीत’ शनिबार न्युयोर्कमा लोकार्पण हुने भएको छ । शनिबार दिउसो ४ बजे न्युयोर्कको ज्याक्सन हाइटमा रहेको यहूदी सेन्टरमा कविता संग्रह लोकार्पण हुने भएको छ ।
यो कविता संग्रह ८ महिना अगाडि गत जनवरीमा साझा प्रकाशनले बजारमा ल्याएको हो । १२ बर्षको अन्तरालमा क्षेत्रीको नयाँ कवितासंग्रह बजारमा आएको हो । यस अगाडि २०६३ सालमा उहाँको ‘बोधिसत्वको मृत्युउत्सव’ कवितासंग्रह प्रकाशित भएको थियो ।
नयाँ कविता संग्रहको प्रकाशनपछि क्षेत्रीले खुशी व्यक्त गर्दै भन्नुभएको छ – ‘१२ वर्षमा खोलो फर्किन्छ भन्थे, हो रहेछ । २०६३ सालमा बोधिसत्वको मृत्युउत्सव कवितासंग्रहपछि बल्ल १२ वर्षमा मेरो नयाँ कवितासंग्रह चराको गीत प्रकाशन भएको छ ।’
लगभग डेढ वर्ष पहिले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कवितासंग्रह प्रकाशन गर्ने गरी स्वीकृति दिनुभएको भन्दै उहाँले महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा र साझा प्रकाशनलाई धन्यवाद दिनुभएको छ ।
केही पुराना र केही नयाँ कविता गरी ४२ थान कवितासहित कविता संग्रह प्रकाशित भएको हो । संग्रह प्रकाशनका लागि हरपल उत्साहित गर्ने महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, भूमिकालेखक वरिष्ठ समालोचक डाक्टर लक्ष्मणप्रसाद गौतम, आवरणका लागि प्राज्ञ रमेश श्रेष्ठ, लेखक तस्विरका लागि वरिष्ठ फोटोग्राफर विमल नेपाल र टाइपसेटिंगका लागि भोला महर्जनलाई क्षेत्रीले धन्यवाद दिनुभएको छ ।
खसोखासमा प्रकाशित कृसु क्षेत्रीबारे थप सामाग्री
अमेरिकाका लागि नेपाली वाणिज्यदूत कृसु क्षेत्रीको जीवन : माफी माग्दै उनले प्रेमपत्र पठाइन्