वैदेशिक रोजगारको तथ्याङ्क अब एकीकृत प्रणालीमा : यसरी हुँदैछ ‘इन्टरलिंक’


प्रकाशित मिति : भाद्र २५, २०७५ सोमबार

वैदेशिक रोजगारको लागि विदेशिने युवाहरुको सङ्ख्या वार्षिक करिब ४ लाखको हाराहारीमा रहेको हामी दाबी गर्छौँ । यो दाबी वैदेशिक रोजगार विभागबाट लिइएको श्रम स्वीकृतिको आधारमा तयार गरिने र त्यहीँबाट प्राप्त हुने डाटामा आधारित तथ्याङ्क मात्रै हो ।

विभागबाट रोजगारीमा जानका लागि श्रम स्वीकृति लिने सबै युवायुवती विदेश पुग्छन् भन्ने पनि होइन । तर, वैदेशिक रोजगार विभाग वा सरकारसँग कति युवायुवती रोजगारीका लागि विदेशिए भन्ने आधिकारिक तथ्याङ्क नहुँदा यकिन तथ्याङ्क पाउनै मुस्किल थियो ।

त्यतिमात्रै होइन, वैदेशिक रोजगारीमा गएकामध्ये कति मानिस फर्किए भन्ने तथ्याङ्क पनि सरकारसँग छैन । जसका कारण श्रम स्वीकृति लिनेको सङ्ख्या देखिएपनि फर्कनेको सङ्ख्या देखिएको थिएन ।

तर, अब भने वैदेशिक रोजगारीमा जाने मात्रै होइन, उताबाट फर्कनेको एकीकृत तथ्याङ्क सरकारसँग हुने भएको छ । त्यतिमात्रै होइन, अब राहदानी विभाग, कन्सुलर विभाग, अध्यागमन विभाग, दूतावास तथा वैदेशिक रोजगार विभागबीच एकीकृत तथ्याङ्क संकलनको काम शुरु हुन लागेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पहलमा असोज १५ गतेदेखि एकीकृत तथ्याङ्क संकलनको काम सुरु हुने भएको छ ।

सोमबार श्रम मन्त्रालयले पत्रकार सम्मेलन गरी एकीकृत तथ्याङ्क किन र कसरी राखिने तथा कुन कुन निकायसँग कसरी अन्तरसम्बन्ध हुने भनी जानकारी गराएको छ ।

यसरी हुँदैछ इन्टरलिंक

करिब १ वर्ष लगाएर तयार पारिएको एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEIMS) सफ्टवेयरको परीक्षणको काम भइरहेको छ । परीक्षणका क्रममा उक्त सफ्टवेयरले राम्रोसँग काम गरेको छ । अब लगत्तै इन्टरलिंक हुनुपर्ने विभिन्न निकायसँग यसको लिंक गराइने छ र तथ्याङ्कलाई एकीकृत बनाइने छ ।

दूतावासँग यसरी हुन्छ इन्टरलिंक

वैदेशिक रोजगार विभागले तयार पारेको सफ्टवेयर अब विदेशस्थित नेपाली दूतावासमा पठाइने छ । त्यहाँको कुनै निश्चित कम्प्युटरमा मात्रै खोल्न मिल्ने गरी युजर नेम र पासवर्ड प्रदान गरिनेछ । त्यसलगत्तै त्यहाँबाट वैदेशिक रोजगारीमा आएका माग वा पूर्व स्वीकृतिको विषयमा त्यहीँबाट छानबिन गरी अनलाइनबाटै भेरिफाई गरिनेछ । यसो गर्दा झूटो विवरण पेश गरी कामदारको माग ल्याउने वा नक्कली मागपत्र ल्याउने समस्या समाधान हुनेछ ।

त्यसैगरी यसै सिस्टमबाट अनलाइनमार्फत् नै गुनासो वा उजुरी गर्न सकिने भएकाले एक क्लिकको भरमै सम्पूर्ण विवरण आउने भएकाले कुनै व्यक्ति समस्यामा परेमा तत्कालै ट्रयाक गरी समस्या समाधान गर्न सकिने छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com