अमेरिकामा आठ गोली लागेर पनि भाग्यले बाँचेकी रचना अहिले यस्ती भइन हेर्नुहोस तस्विरहरु
प्रकाशित मिति : आश्विन ५, २०७५ शुक्रबार
पिठ्यू, गाला, घाँटी, कम्मर, पेट र हातमा आठ राउन्ड गोली लागेर पनि कोही बाँच्न सक्ला र ? असम्भव ! एकै गोलीले पनि व्यक्तिको इहलीला समाप्त गरिदिन्छ तर राम्रो स्वास्थ्य सुविधा र भाग्यले साथ दियो भने कसैको केही लाग्दैन। यसैको उदाहरण बनिन् अमेरिका निवासी ३० वर्षीया रचना श्रेष्ठ । सहज जीवनको खोजीमा एक वर्षअगाडि अमेरिका पुगेकी उनलाई स्टोरमा काम गरिरहेको बेला एकाएक आठ राउण्ड गोली प्रहार भयो । सेन्ट फ्रान्सिस अस्पतालको बेडमा उनले एक साता मृत्युसँग पौँठेजोरी खेलिन् र अन्त्यमा जीत उनकै भयो ।
दुई वर्षको नाबालक छोरा अनि श्रीमान्का साथ अमेरिका आएकी थिइन् ३० वर्षीया रचना श्रेष्ठ । उनको परिवारलाई डिभी अर्थात् ग्रिनकार्ड लोटरीले स्थायी बसोबासका लागि अमेरिका आउने ढोका खोलेको थियो । ११ महिनाअघि काभ्रेको पनौतीबाट आएको श्रेष्ठ परिवार ओक्लोहामा राज्यको अटोकामा बस्न थाल्यो । संघर्ष गर्दै अघि बढेको त्यो सानो परिवार खुसी नै थियो, तर गत साउन ७ गते उनीहरूको त्यो खुसीमा अनायसै कालो बादल मडारियो । घरनजिकैको ग्याँस स्टोरमा काम गर्ने क्रममा दिनदहाडै एक १८ वर्षीय अश्वेत अमेरिकी युवाले रचनामाथि जथाभावी गोली बर्सायो । आठवटा गोली खाएकी श्रेष्ठ स्टोरकै भुइँमा ढलिन् ।
बेलैमा अस्पताल पुर्याइएकीले धन्न उनको प्राण गएन । त्यतिबेला उनी ह्यान्डी मार्ट स्टोरमा काम गर्थिन्, जुन स्टोर नेपालीले नै सञ्चालन गर्दै आएका थिए । स्थानीय सहयोगी शिव सिलवालले स्टोर सञ्चालकसँग भेट गराई उनलाई उक्त काममा लगाइदिएका थिए । गाडीको लाइसेन्स, काम अनि अरू धेरै कुराको सहजता देखेर उनीहरूले आफ्नो बसाइका लागि अक्लोहामा राज्यको सानो गाउँ अटोका रोजेका थिए । त्यहीं काम गर्दागर्दै दुवैले गाडीको लाइसेन्स पनि निकाले । घरनजिकै पाँच मिनेटको ड्राइभमा काम पनि पाए । पति–पत्नीले एउटै स्टोरमा काम सुरु गरे । रचना बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म काम गर्थिन् । धेरै नेपालीले अमेरिकामा सुरु–सुरुमा यस्तै स्टोरको काम रोज्छन् ।
उनले पनि भाषा छिटो सिकिने देखेर स्टोरको काम रोजिन् । अंग्रेजी भाषा राम्रो होला भनेर ग्याँस स्टोरमा काम थालें, घटनाको बेलीविस्तार लगाउँदै रचनाले भनिन् स्टोर खासै व्यस्त नहुने भएकाले काम पनि सजिलै थियो । स्टोरमा आउने ग्राहक पनि राम्रै थिए । घटनाको दिन उनको काम सकिन एक घण्टा मात्र बाँकी थियो । आफ्नो काम सकेपछि अमेरिकामा जोकोहीले पनि आफूले काम गरेको कार्यालय वा स्थान सरसफाइ गरेर छोड्नुपर्ने हुन्छ । रचनाले पनि ग्राहकको भीड पातलिएपछि मध्याह्न १२ बजेतिर स्टोरको सरसफाइ थालिन् । त्यस क्रममा उनले स्टोरका लागि आएको सामानको ‘डेलिभरी’ पनि लिइन् ।
त्यहीबेला ६ जना ग्राहक उनको स्टोरमा प्रवेश गरे । ती ६ जनामध्ये एक जना बाथरुम पसेको थियो । पाँच जनालाई सेवा दिएपछि उनी फेरि सरसफाइमा जुटिन् । बाथरुम छिरेको ग्राहक आउला भन्ने सोच्दै उनी कामतिरै लागिन् । सफाइ गर्ने क्रममा बाथरुममा छिरेको कालो वर्णको केटोले हात सफा गरिरहेको उनले देखेकी थिइन् । उनले त्यो कालो वर्णको केटो ग्राहक होइन, लुटेरा हो भन्ने पत्तो पाइनन् । उसले लुकेर उनको गतिविधि नियालिरहेको रहेछ । उक्त केटो हतियारसहित योजनाबद्ध तरिकाले स्टोरमा पसेको कुरा रचनाले पछि मात्र थाहा पाइन् । जब उनी स्टोरको काउन्टरतर्फ फर्केर सरसफाइ गर्दै थिइन्, त्यही बेला त्यो कालो केटोले बाथरुमबाट निस्केर उनको पछाडि दायाँतर्फ गोली बर्साउन थाल्यो ।