एचआईभी सङ्क्रमितको पीडा : खालीपेटमा औषधि
प्रकाशित मिति : मंसिर १९, २०७३ आईतबार
पौष्टिक आहारको कमीले एचआईभी सङ्क्रमित महिला झन्झन् कमजोर हुँदै गएका छन् । गरिबीका कारण सङ्क्रमितले प्रयोग गर्ने औषधि एआरभी खानसमेत उनीहरूलाई मुस्किल पर्न थालेको छ ।
प्रकाश सिंह
बाजुरा । बाह्रबिस– ७ सिगाडा बस्ने लालीदेवी साउदले पेटभरि खान नपाएको महिनौँ भयो । उनले दैनिक ज्याला–मजदुरी गरेर बिहान–बेलुकीको छाक टार्दै आएकी छिन् । साउद भन्छिन्, ‘एचआईभी/एड्सले श्रीमान्को मृत्यु भएको सात वर्ष भयो । भएको सम्पत्ति उपचारमा खर्च भयो । आखिर श्रीमान् पनि बाँच्न सकेनन्, भएको सम्पत्ति पनि सकियो ।’ उनले रुँदै भनिन्, ‘पेटमा धित मर्ने गरी खान नपाएको महिनौँ भयो ।’ उनी एचआईभी सङ्क्रमित हुन् । सङ्क्रमित भएको सात वर्ष भइसकेको छ । श्रीमान्को मृत्युपछि अहिलेसम्म पेटभरि कहिल्यै राम्रोसँग खान पाएकी छैनन् ।
अर्की सङ्क्रमित महिला हीरा नेपालीको पीडा पनि उस्तै छ । ‘एआरभी औषधि खाने गरेका छौँ, तर पेटभरि खाना खान पाउँदैनौँ, अनि कमजोरी भएर झन् बिरामी हुने हो नि,’ हीराले भनिन् । आफूमा बाँच्ने आस पनि घट्दै गएको उनको भनाइ छ । उनी भन्छिन्, ‘बच्चाहरूले पनि राम्ररो खान–लाउन पाएका छैनन् । सामान्य छाक टार्न धौधौ छ । बच्चाहरू कसरी
पढाउनु ?’
बाह्रबिस– ७ बस्ने जला रावलले एआरभी सेवन गर्न लागेको ६ वर्ष भयो । परिवार पाल्न समस्या भएकी रावलको एआरभी औषधिसँग पौष्टिक आहार नपाउँदा स्वास्थ्य अवस्था निकै नाजुक भइसकेको छ । ४ वर्ष पहिलासम्म उनी एआरभी औषधिसँगै पौष्टिक आहार (लिटो पीठो) समेत पाउँथिन् । त्यसैले स्वास्थ्य अवस्था राम्रै थियो । सरकारले ०६९ माघदेखि पौष्टिक आहार दिन छाडेपछि जलाले खालीपेटमा एआरभी खान थालेकी हुन् । खालीपेटमा औषधि खानाले उनमा कमजोरीपन देखिन थालेको छ । रगतमा हेमोग्लोबिनको मात्रासमेत कम हुँदै गएपछि उनमा बाँच्ने आस पनि घट्दै गएको छ ।
यी केही पात्र मात्र हुन् । बाजुरा र आसपासका जिल्लामा धेरै एचआईभी सङ्क्रमित महिला खालीपेटमा औषधि खान बाध्य छन् । अछाम दर्नाकी एचआइभी सङ्क्रमित गंगा थापाले भनिन्, ‘के गर्ने, भएको सम्पत्तिले श्रीमान्को औषधि ग¥यौँ, श्रीमान् पनि बचेनन्, अब आफूलाई औषधि खानसमेत सम्पत्ति छैन ।’ घरमा पोषिलो खानेकुरा खान नपाएर खालीपेटमा एआरभी खानाले कमजोर भएको र बेलाबखत रिँगटा लाग्ने गरेको थापाले बताइन् ।
खालीपेटमा एआरभी सेवनले सङ्क्रमितलाई निकै समस्या भएको अहेब दीपक शाह पनि स्वीकार गर्छन् । उनले भने, ‘०६९ माघसम्म नेपाल सरकारअन्तर्गत बाल स्वास्थ्य महाशाखाले एआरभीसँगै पौष्टिक आहार पनि दिने गरेको थियो । त्यसयता भने एकाएक यो सुविधा रोकिएको छ । पौष्टिक आहार बन्द भएपछि एआरभी सेवन गर्नेको स्वास्थ्य अवस्था साँच्चिकै कमजोर हुँदै आएको उनको भनाइ थियो ।
सुदूरपश्चिमका एचआईभी सङ्क्रमित महिलाका धेरै पीडा छन् । ‘पौष्टिक आहारको कुरा छोडौँ, पेटभरि खान पुग्दैन । त्यसमा पनि एआरभी औषधिले झन् कमजोर पार्दै लगेको छ,’ प्रभावित मीना विकले भनिन् । उनकी छोरीले एसएलसी पास गरेको दुई वर्ष भयो, उनको इच्छा प्राविधिक शिक्षा पढ्ने थियो, तर आर्थिक अभावमा गाउँमै रहेको उमाविमा पढिरहेकी छिन् । आफ्नोजस्तै धेरै सङ्क्रमित महिलाका बच्चाले उच्च शिक्षा आर्जनमा समस्या भोग्दै आएको विक बताउँछिन् ।
पौष्टिक आहार नपाउँदा एचआईभी सङ्क्रमितहरूमा रगतको कमी देखापर्ने समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । शरीरमा रगतको कमी भएमा एआरभी सेवन गर्नसमेत समस्या हुने गर्छ । अधिकांश एचआईभी सङ्क्रमित व्यक्ति गरिब र न्यून आर्थिक अवस्थाका छन् । ‘सामान्य छाक टार्न त धौ–धौ छ, कसरी पौष्टिक आहार किनेर खाने ?’ पीडामा बाँच्न बाध्य सङ्क्रमित मीना विकले बताइन् । बिहान–बेलुका छाक टार्न त दैनिक ज्याला–मजदुरी गर्नुपर्ने बाध्यता रहेको छ । कमजोरी हुँदै गएपछि अन्य सङ्क्रमणसमेत बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
एचआईभी सङ्क्रमित पीडैपीडामा बाँच्न बाध्य भए पनि सरकारले कुनै वास्ता नगरेको अधिकारकर्मीले बताएका छन् । औषधिसँग कुनै पोषणयुक्त खानेकुरा नहुँदा उनीहरूमा पोषणको समस्या देखिएको बाह्रबिस स्वास्थ्यचौकीका इन्चार्ज कुलबहादुर रावलले बताए । स्वास्थ्य अवस्था कमजोर हुँदा सङ्क्रमितहरूमा विभिन्नखाले रोगको सङ्क्रमण देखिन थालेको रावलको भनाइ छ ।
पौष्टिक आहार खान नपाउँदा एचआईभी सङ्क्रमितमा रगतको कमी देखापर्ने स्वास्थ्यकर्मीको भनाइ छ । शरीरमा रगतको कमी भएमा एआरभी सेवन गर्नसमेत समस्या हुने गरेको छ । नेपाल सरकारले दिँदै आएको पौष्टिक आहार बजेट अभाव भएको भन्दै रोकिदिएपछि बिरामीले खालीपेटमा औषधि खाने गरेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका सङ्क्रमितलाई सरकारले एकाएक पौष्टिक आहार दिन रोक लगाएपछि उनीहरू जोखिममा रहेको निर्देशनालयको भनाइ छ ।
(सञ्चारिका फिचर सेवा)(प्रकाश, बाजुराका पत्रकार हुन् ।)