अष्ट्रेलियामा १० वर्षदेखि रहेका यी विद्यार्थीलाई विवाह र पढाइको कोर्स पूरा नगरेका कारण भिसामा समस्या


प्रकाशित मिति : मंसिर १२, २०७५ बुधबार

अष्ट्रेलियामा दश वर्ष देखि रहेका एक विद्यार्थीलाई The Administrative Appeals Tribunal (AAT) ले भिसा दिन अस्विकार गरेको छ। भारतका गुर्मिन्दर सिंह सन् २००८ मा अंग्रेजीको भोकेसनल कोर्सको लागि अष्ट्रेलिया आएका थिए । तीन महिनाको उक्त कोर्स सकेपछि उनले हस्पिटालिटी म्यानेजमेन्ट पढे । उक्त कोर्स उनले पूरा गरे, तर पास भने गरेनन् ।

अष्ट्रेलियामा बसेर पढ्दै गर्दा गुर्मिन्दर सिंह नेपाली युवतीसंग प्रेममा परेका थिए । तर, परिवारले आफ्नै देशको र आमाबुवाले रोजेको केटीसंग मात्र विवाह गर्न दबाब दिएपछि उनले प्रेमसम्बन्ध टुंगाएर परिवारको इच्छा अनुसार विवाह गरे । त्यसपछि उनकी श्रीमती पनि अष्ट्रेलिया आइन् । श्रीमती अष्ट्रेलिया आएपछि उनले पढ्ने चाहना राखीन् । दुई जनाको पढाइ खर्च धान्न नसक्ने भएपछि गुर्मिन्दरले आफ्नो पढाइ छोडे र श्रीमतीलाई पढ्न दिए ।

श्रीमती विद्यार्थी भएकोले अष्ट्रेलियामा त्यसपछिको भिसाको लागि गुर्मिन्दर श्रीमतीको डिपेनडेन्ट भिसामा रहे । तर वैवाहिक सम्बन्ध टुट्यो । गुर्मिन्दर उनकी श्रीमतीको डिपेनडेन्टमा रहेको र अब वैवाहिक सम्बन्ध टुटेकोले उनलाई भिसा रद्दको सुचना आयो । त्यसपछि उनले २०१४ मा कमर्सियल कुकरीको लागि विद्यार्थी भिसामा आवेदन दिए । तर २०१५ मा उनलाई अष्ट्रेलियामा रहनको लागि मात्र पढाइको बाहना बनाएको भन्दै इमिग्रेसनले भिसा दिन मानेन ।

गुर्मिन्दरले आफूले अष्ट्रेलिया बसाइमा बिताएका वर्षहरुले धेरै कुराहरु सिकाएको र अब कुकरी पढेर भारतमा फर्किने योजना रहेको बताउंदै भिसाको लागि प्रयास जारि राखे । तर AAT ले गुर्मिन्दरको अबको लक्ष्य र उनको योजना राम्रो भएतापनि उनले लिखित रुपमा कुनै पनि कुरा उल्लेख नगरेकोले अष्ट्रेलियामा बस्नको लागि मात्र भिसाको प्रयास गरेको देखिने उल्लेख गर्दै दिन नमिल्ने बताएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com