अमेरिका र चीनबीच तनाव कम हुने संकेत


प्रकाशित मिति : मंसिर १६, २०७५ आईतबार

अमेरिका र चीनबीच जी–२० सम्मेलनमा भएको वार्तापछि यी दुई देशकाबीचमा बढिरहेको तनाव कम हुने संकेत देखिएको छ । अर्जेन्टिनाको व्यूजर्स आयर्समा दुई दिने जी–२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी सी जिनपिङबीचको भेटवार्ताले विश्वको अर्थतन्त्रमा सम्भावनाको ढोका खोलेको विश्लेषकहरुले बताएका छन् ।

अमेरिकाले गत जुलाई महिनादेखि चीनबाट निर्यात हुने सामानमा १० देखि २५ प्रतिशत कर बढाएपछि जवाफमा अमेरिकी सामानमा चीनले पनि कर बढायो । त्यसपछि शुरुभयो यी दुई देशबीच व्यापारीक शीतयुद्ध । विश्वका ठूला शक्ति राष्ट्र अमेरिका र चीनबीच व्यापारिक द्धन्द्धको अवस्था आएपछि विश्वकै अर्थतन्त्रमा गम्भीर असर पर्ने देखिएको थियो । तर अर्जेन्टिनाको व्यूनर्स आयर्समा आयोजना भएको जी–२० सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीचको भेटवार्तापछि केही सकारात्मक नतिजा निस्किएको छ ।

आगामी जनवरी १ देखि ९० दिनका लागि दुवै देशले बढाएको कर लागु नगर्नेमा सहमति जनाएका छन् । यो अवधिमा दुवै देशले एकअर्कासँग वार्ता जारी राख्ने र विवादित विषयमा छलफल गरी सहमतिमा पुग्ने उल्लेख भएको बिविसीले जनाएको छ । साथै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ९० दिनको समयमा वार्ता सकारात्मक हुन नसकेमा भने चीनिंया उत्पादनमा लगाउँदै आएको १० प्रतिशत कर बढाएर २५ प्रतिशत पु¥याइने स्पष्ट पारेका छन् ।

जी–२० सम्मेलनबाट फर्कनेक्रममा ट्रम्पले चीनसँगको वार्तापछि अभूतपूर्व सम्झौता भएको र त्यसले कृषीमा अत्यन्तै सकारात्मक नतिजा देखिने प्रतिक्रिया दिएका छन् । उता चीनियाँ समाचार संस्थाले पनि दुवै देशबीच एकअर्कामाथि हाललाई कर नलगाउने सहमति भएको उल्लेख गरेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com