क्रिकेटर ज्ञानेन्द्र मल्लका प्रश्न, नायिका करिश्मा मानन्धरको उत्तर


प्रकाशित मिति : पुस ६, २०७३ बुधबार

ञानेन्द्र   तपाईंले चलचित्र उद्योगमै धेरै वर्ष बिताइसक्नुभयो । अहिले पनि उस्तै सुन्दरी हुनुहुन्छ, यसको राज के हो ?

करिश्मा :  मेरो सधैँ खुसी रहने बानी छ, चिन्ता धेरै लिने स्वाभाव छैन । अर्को कुरा, म नियमित नभए पनि समय मिलेका वेला ‘हेल्थ क्लब’ जान्छु, एक्सरसाइज गर्छु । सुन्दरताको खास राज यही नै हो कि !

ज्ञानेन्द्र :  नेपाली चलचित्र उद्योगको विकास गर्ने तपाईंसँग कुनै योजना छन् ?

करिश्मा:  म एउटा कलाकार मात्र नभएर निर्मात्री र निर्देशक पनि हुँ । आफ्नो ठाउँबाट चलचित्र उद्योगको विकासका लागि गर्न सक्ने काम गर्छु, गर्नेछु । चलचित्रकै हितका लागि भनेर मैले मेरो घर (गोदावरी)मा ‘फिल्म स्टुडियो’ नै खोलेकी छु ।

ज्ञानेन्द्र:   राजनीतिमा पनि सक्रिय हुनुभएको छ, त्यसबाहेकका पनि केही योजना छन् कि ?

करिश्मा:   पछिल्लो समय राजनीतिमै क्रियाशील छु । चलचित्र क्षेत्रलाई पनि छाड्ने कुरा भएन । समय मिलाएर सिनेमामा काम गरिरहेकी छु । अरू, योजना त बिस्तारै भनौँला नि ।

ज्ञानेन्द्र:   नयाँ सिनेमामा हामीले तपाईंलाई कस्तो भूमिकामा देख्न पाउँछौँ ?

करिश्मा:  ममा अभिनयको प्यास मेटिएको छैन । समाजमा  भएका सत्य घटनामा आधारित यथार्थपरक चलचित्रमा काम गर्न मन छ । त्यस्तो सिनेमामा ‘अफर’ आएमा सहजसाथ काम गर्छु ।

ज्ञानेन्द्र:  नेपाली खेलकुदलाई कत्तिको ‘फलो’ गर्नुहुन्छ ?

करिश्मा:  फलो गर्छु नि, किन नगर्नु ? नेपाली क्रिकेट धेरै अगाडि बढिसकेको छ । पछिल्लो समयमा फुटबलले पनि राम्रो गरिरहेको छ ।

ज्ञानेन्द्र :  मनपर्ने खेलचाहिँ कुन हो ?

करिश्मा:   पक्कै पनि क्रिकेट । पहिले–पहिले नेपालमा क्रिकेट ‘पपुलर’ नभएको वेलादेखि नै मैले ‘फलो’ गर्ने गरेकी थिएँ ।

ज्ञानेन्द्र:  अरू खेलबारे कत्तिको जानकार हुनुहुन्छ ?

करिश्मा:  मलाई खेलकुद क्षेत्र नै मनपर्ने भएकाले ‘फलो’ गर्ने गरेको छु । कुस्तीदेखि लिएर सबै खेलको म जानकार छु ।

ज्ञानेन्द्र:   तपाईंहरूको पुस्ताको सक्रियता कम भएपछि कसले नेपाली चलचित्र धानेको छ जस्तो लाग्छ ?

करिश्मा:   धेरैजना राम्रो हुनुहुन्छ । सबैको नाम लिन सकिँदैन । नामै लिनुपर्दा रेखा थापा, आर्यन सिग्देल र नम्रता श्रेष्ठ हुनुहुन्छ  ।

ज्ञानेन्द्र : उनीहरूभन्दा पछाडि आएको पुस्ता कस्तो छ ?

करिश्मा:  अनमोल केसी, साम्राज्ञी शाह, अनि ऐश्वर्याकी हिरोइन दीपिका प्रसाईं । यीबाहेक अरू पनि धेरै छन्, जसले नेपाली चलचित्र उद्योग धान्न सक्छन् । प्रस्तुतिः दीपेन्द्र सापकोटा

(स्रोतः गज्जब साप्ताहिक)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com