गीता खत्रीको अध्यक्षतामा अनेसास बोर्ड अफ ट्रस्टी नयाँ कार्यसमिति
प्रकाशित मिति : पुस ७, २०७५ शनिबार
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीज (बिओटी) को २०१८–२०२२ को नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ । बिअटीको निवार्चन हरेक चार वर्षमा हुने गदर्छ ।
निर्वाचन परिणाम अनुसार अध्यक्ष पदमा गीता खत्री, सचिबमा शिव लामीछाने, कोषाध्यक्षमा राम लामा अविनासी र सदस्यमा तीर्थराज अधिकारी तथा पुरस्कार समितिको अध्यक्षमा डा. गोपी उप्रेती निर्विरोध तथा उपाध्यक्ष पदमा पदम विश्वकर्मा ४० मत र पुरु सुवेदी ३२ मत प्राप्त गरि विजयी हुनु भएको छ भने उहांहरुको निकटतम प्रतिव्दन्दी बलराम थापाले २३ मत प्राप्त गर्नु भएको थियो ।
अनेसास बोर्ड अफ ट्रस्टी सदस्यहरु संयुक्त राज्य अमेरिका, नेपाल, जापान, अस्ट्रेलिया, कुवेत, इजरायल र म्यानमारमा गरी कूल ६१ जना रहेकामा यस पटकको निर्वाचनमा कूल ५७ मत खसेको थियो । निर्वाचनका लागि मतदानको समय यही डिसेम्बर १५ देखि १८ सम्म राखिएको थियो ।
नेपालबाहिरका मुलुकमा छरिएका नेपालीहरुकाबीच नेपाली भाषासाहित्यको विकासविस्तार गरी नेपाली भाषासाहित्यलाई प्रवासका नेपालीका नयाँ पुस्ताबीच जीवन्त राख्ने भावनाले सन् १९९१ मा होमनाथ सुवेदीको संस्थापक अध्यक्षतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको स्थापना संयुक्त राज्य अमेरिकाको वासिङ्टन डी सीमा भएको हो । हाल अनेसासका विभिन्न ३० भन्दा बढी देशमा करीब ८० शाखाहरु क्रियाशील छन् ।
अनेसासको इतिहास करीब तीन दशक पुरानो हुनुका साथै अनेकन देशमा धेरैशाखामा विस्तार भइसक्दा पनि केन्द्रीय कार्यालय भवन नभएको अवस्थामा यस कार्यसमितिले अनेसासको केन्द्रीय कार्यालय भवनको व्यवस्था मिलाइ हरेक दुई वर्षमा वितरण गर्ने अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारको छनौट प्रक्रिया र पुरस्कारको स्तरलाई अझ व्यवस्थित र पारदर्शी बनाउने कार्यमा नयां कार्यसमितिको पहिलो प्राथमिकता रहनेछ ।
अनेसासको विधानअनुसार बिओटीले अनेसास केन्द्रीय समितिलाई आवश्यक परामर्श दिनुका साथै केन्द्रका गतिविधिलाई अनुगमनकारी भूमिका निर्वाह गर्ने गर्दछ ।