नेपाली लोकगीतमा पीएचडी गरेकी अमेरिकाकी अन्ना, यति मीठो गाउँछिन् लोक गीत ( भिडियो )
प्रकाशित मिति : पुस २०, २०७५ शुक्रबार
नेपाली लोक गीत नेपालीहरुको मौलिक पहिचान हो । पूर्वेली संगीत शैलीले भने लोक गीतलाई केही ओझेलमा पारेको महसुस हुन्छ । तर अमेरिकाकी अन्ना स्टिरले भने नेपाली लोक गीतमा पीएचडी गरेर नेपाली लोक संगीतलाई विदेशीहरुमाझ पनि पुराएकी छिन् ।
अन्ना स्नातक तहमा पढ्दा नै नेपाल आएकी थिइन् । उनी आफ्नै पढाइको सिलसिलामा विशेष गरि शास्त्रीय संगीत सम्बन्धि जानकारी लिनको लागि यहाँ आएकी थिइन् । तर, उनलाई नेपाली लोक गीतले आकर्षित गर्यो । आफ्नो काम सकेर उनी अमेरिका फर्कीइन् , तर नेपालको लोक गीतले उनको मन भने नेपाल तिर नै तानिरह्यो । त्यसपछि उनले पीएचडीको लागि नेपाली लोक गीतको विषयलाई छानेर नेपाल आइन् । यहाँ आएर दोहोरी साँझ, दोहोरी गाउँघर हुँदै उनले भाषा सिक्ने, लोक गीत अध्ययन गर्ने मात्र गरिनन् , दोहोरी गाउने सम्म बनिन् ।
अन्ना युनिभर्सिटी अफ हवाईमा प्रोफेसर छिन् । त्यसैले उनी अमेरिकामा बस्छिन् । तर, हाल एक वर्षको लागि उनी नेपाल आएकी छिन् । उनले नेपाली गीतको एल्बम निकालेकी छैनन् , तर नेपाली लोक संगीत समबन्धी अंग्रेजी भाषामा पुस्तक लेखेकी छिन्, जुन अमेरिकामा सार्वजनिक भएको छ ।