यी हुन सरकारले निलेका राष्ट्रिय पहिचानका उद्योगहरु
प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार
राजनीतिक परिवर्तन पछि कुनै पनि मुलुकले आर्थिक गति लिन सकेन भने त्यस्ता देशमा प्रतिगमनको खतरा रहने गर्दछ । परिवर्तनको अनुभुति जनताले तब मात्र पाउँछन् जव उनीहरुको जिवनस्तरमा परिवर्तनको अनुभुति हुन थाल्छ । जनतामा निराशा जति बढ्दै गयो त्यति परिवर्तन बिरोधीहरुले खेल्ने ठाउँ पाउँछन् । राजनीतिक परिवर्तन भएको १० वर्ष पुग्दा पनि मुलुकले आर्थिक गति लिन नसक्दा नागरिकमा निराशा उत्पन्न हुन थालेको छ । कागज र भाषणमा आर्थिक समृद्दिका कुरा गरिएपनि व्यवहारमा भने कहीँ कतै देख्न सकिएको छैन । यसै वर्षदेखि नेपालमा उद्योग दिवस मनाउन थालिए पनि मुलुकको नाक जोगाउन सफल उद्योगहरु भने एक पछि अर्को गरि बन्द हुने क्रम जारी छ ।
कुनैबेला नेपालको शिर जोगाउने बाँसबारी छाला जुत्ता कारखाना , हिमाल सिमेण्ट उद्योग , भृकुटी कागज कारखाना , हेटौडा कपडा उद्योग यतिबेला एकादेशको कथा बनिसकेका छन । उदारीकरण र नीजिकरणको नाममा राज्य स्वयंले आफ्ना उद्योगहरु कौडीको भाउमा बेच्दिंदा धेरै उद्योगको नामो निशाना मेटियो । केहीँ दिन अघि मात्र पहिलोपटक उद्योग दिवस मनाएको हाम्रो मुलुकको अवस्था यस्तो कारुणीक छ ।
बुटवल औद्योगिक क्षेत्र यति बेला नाममा मात्रै खुम्चिंदै गएको छ । जुन ४३४ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो औद्योगिक क्षेत्र नेपालका १० वटा औधोगिक क्षेत्र मध्ये एक महत्वपूर्ण हो । राज्यले प्राथमिकताका साथ रुपन्देहीलाई औद्योगिक नगरी बनाउने योजना ल्याएपनि बिभिन्न कारणले वर्षौदेखि काम अगाडी बढ्न सकेको छैन । आत्मनिरभरताको बलियो कसी आफ्नै उत्पादन हो तर हाम्रा उत्पादन औंलामा भाँचेर गन्ने अवस्थामा आई पुगेको छ । बुटवल धागो उद्योग २०४८ साल मंसिर १९ गते तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाले उदघाटन गरेका थिए । कारखानाले दैनिक ९ टन धागो उत्पादन गर्ने क्षमता राख्थ्यो जुन ६६ सालमा आइपुग्दा ब्रम्हनालमा पु-याइयो, धागो कारखाना कस्को कारण मृत्युवरण गर्न पुग्यो र बन्द कारखानाको अहिलेको अवस्था कस्तो छ ?
८ सय कर्मचारीले रोगजगारी मात्रै पाएका थिएनन्, देशको शिर ठाडो बनाउने आधारको रुपमा पनि स्थापित भएको थियो । जुन स्थापनाको अठारौं वर्षमा नामेट हुने गरि विस्थापित हुन पुग्यो । यस्को पछाडि धेरै कारणहरु छैनन् । स्वार्थगत राजनीति र अनावश्यक टे«ड युनियन अधिकारका कारण बुटवल धागो कारखाना बन्द भएको हो । प्रजातन्त्रको जधाभावी ब्याख्या गरिंदा राजनीतिक दलका नेताको दुहुनो गाई बन्यो र उद्योग बन्द हुने अवस्थामा पुग्यो ।
नेपालको राजनीतिक बिकासको पछिल्लो २७ वर्षलाई हेर्ने हो भने यो कालखण्डमा पञ्चायतले बनाएका उद्योग धन्दाको दोहन मात्रै भए । राज्यस्तरबाट एउटा पनि उद्योग स्थापना हुन सकेन जस्को उदाहरण खोज्न धेरै टाढा जानै पर्दैन । बुटवल धागो कारखाना,भृकुटि कागज कारखाना,हेटौडा कपडा उद्योग प्रजातन्त्रले निलेको उदाहरण आज पनि ताजै छ ।
देशको बिकास नभएको भन्दै देशलाई गाली गर्दै दैनिक हजारौ युवा बिदेश पलायन भैरहेका छन् । स्वदेशमा भएका अद्योग चल्न नदिने योजना बन्छन् । औधोगिक क्षेत्र धारासायी बनाउन निजी क्षेत्रले षड्यन्त्र गर्छ सरकारी कर्मचारी र राजनीतिक नेतृत्व कति आउँछ र भन्छन् । यहि मनोगत रोगको शिकार हुँदा भएका उद्योग दिन प्रतिदिन रुग्ण हुने र अन्तमा बन्द गराउने षड्यन्त्र भित्रैबाट हुने गरेको छ । यसलाई सामान्य नागरिकले बुझ्ने भाषामा भन्दा हाम्रा नेताहरु बिकाउ भए टिकाउ हुन सकेनन् भन्दा अति नहोला । समस्या र समाधानका सबै उपाय जानेको अहिलेको नेतृत्वले कसरी समस्याको समाधान गर्ला र बन्द उद्योगहरु पुन सञ्चालनमा आउलान् ?