घट्ट चलाउने ६९ प्रतिशत चेपाङ


प्रकाशित मिति : पुस १४, २०७३ बिहीबार

नारायण ढुंगाना,  चितवन / शहरबजारमा पानी घट्टको बारेमा जानकारी हुने मान्छे कमै होलान् । कतिपयलाई घट्ट कस्तो हुन्छ भन्ने पनि थाहा छैन होला । तर पहाडी क्षेत्रमा दैनिकी गुजार्न पानी घट्ट महत्वपूर्ण मानिन्छ ।

खोलाको एउटा कुनाबाट कुलो खनेर पानी ल्याईन्छ । अलि अग्लो स्थानमा पुगेपछि काठको डुंड बनाएर पानी डुंडबाट खसालिन्छ । अनि तल काठकै भमरा (पानीले चल्ने मेसिन) जडान हुन्छ । भमराको माथिल्लो पट्टी मानीमा ठुलो ढुंगा कुँदेर बनाईएको गोलो घट्ट जोडिएको हुन्छ । पोथी घट्टलाई माटोमा टाँसेर राखिएको हुन्छ भने भाले घट्टलाई घुम्न मिल्ने बनाएर राखिएको हुन्छ । घट्टमाथि डोरीले चारतीर बानेर सोली झुण्ड्याईएको हुन्छ ।

जब माथि डुंडबाट खसालेको पानीको दवावले भमरा घुम्छ अनि घट्ट चल्न थाल्छ । सोलीको तल्लो भागमा काठको चरा (चरा आकारको काठ) जोडिएको हुन्छ जुन चराले घट्टलाई पनि छोएको हुन्छ । घट्ट घुम्दा त्यही चरा घट्टमाथि उफ्रन्छ । त्यसैको कम्पनले सोलीभित्र भएको अन्न घट्टको प्वालमा खस्छ र अन्न पिस्न थाल्छ ।

यसैगरी चल्ने चितवनको पहाडी क्षेत्र कोराकमा पानी घट्ट चलाउने अधिकाँश चेपाङ र तामाङ समुदाय छन् । पछिल्लो समयमा लोपोन्मुख बन्दै गएको पानी घट्ट सञ्चालन गर्ने सबै गरिव परिवारका छन् ।
चितवनमा हरियो वन कार्यक्रमले गरेको घट्टको अध्ययनमा यस्तो तथ्य बाहिर आएको हो । चितवनको शक्तिखोरका एकजना दलबहादुर चेपाङले यहाँको पहाडी क्षेत्रमा घट्ट मै चेपाङहरु निर्भर हुने गरेको बताउनुभयो । तर पानी अभाव र आधुनिकताले घट्ट हराउँदै गएको उहाँको भनाई छ ।

चितवनको पुर्वी पहाडी क्षेत्रमा रहेको कोराक गाविसमा यसरी घट्टको अध्ययन भएको हरियो वन कार्यक्रमी अनुगमन तथा मुल्यंकन सहायक आस्था क्षेत्रीले जानकारी दिनुभयो । चितवनमा ८ वटा पहाडी गाविस छन् । ती अधिकाँश गाविसमा कुनै न कुनै क्षेत्रमा पानी घट्ट छ ।

दैनिक अन्न कुटानी पिसानी गरेर खानाको जोहो यही घट्टबाट हुन्छ । त्यसमध्ये कोराक गाविसमा पछिल्लो पटकको सर्बेक्षणमा १६ वटा पानी घट्ट भेटिएका छन् । क्षेत्रीका अनुसार ति घट्टहरु विपन्न परिवारका सदस्यले चलाउँछन् ।
‘कोराकमा पहिले धेरै पानी घट्ट थियो, अध्ययनमा सक्रिय रहनुभएका हरियो वन कार्यक्रमका कार्यक्रम सहायक भाष्कर चौधरी भन्नुहुन्छ, अहिले घटेर १६ मा झरेको हो ।’

उहाँका अनुसार मुख्यगरी मेसिनरीको बढ्दो प्रयोगसँगै घट्ट लोप हुँदै गएको हो । उनीहरुको जिविकोपार्जन कसरी हुन्छ भनेर यहाँ अध्ययन भएको थियो । यसरी हेर्दा १६ मध्ये ११ वटा घट्ट चेपाङले चलाउँछन् । कोराक गाविसमा पानी घट्ट चलाउने मध्ये ६९ प्रतिशत चेपाङ पाईएका छन् । ३१ प्रतिशत तामाङ रहेको पाईएको चौधरी बताउनुहुन्छ ।

ती घट्टबाट प्रति बर्ष औषत रु ३० हजार १३ रुपैयाँ आम्दानी हुँदै आएको सर्वक्षणले देखाएको छ । घट्ट सञ्चालनमा भने कहिल्यै बादविवाद नहुने गरेको पाईएको उहाँको भनाई छ । यसरी घट्टमा कुटानी पिशानीका लागि ४० प्रतिशत महिला देखिएका छन् । पुरुष ३३, बालबालिका २३ र गर्भवती महिला ४ प्रतिशत जान्छन् ।
उनीहरुबाट सबैभन्दा बढी ३० प्रतिशत कोदो पिशानी हुने गरेको पाईएको छ । यसतै मकै २९ प्रतिशत, गहुँ १८ प्रतिशत, धान ४ प्रतिशत, जौ २ प्रतिशत र फापर १७ प्रतिशत कुटानी पिशानी हुन्छ ।

चितवन जिल्लाका विभिन्न क्षेत्रमा हरियोवन कार्यक्रम लागु भएको छ । कोराकमा लागु भएको कार्यक्रम अन्तरगत स्थानियको अबस्था पत्ता लगाउन पानी घट्टको सर्वेक्षण भएको कार्यक्रमका फिल्ड अफिसर शुशिल जोशी बताउनुहुन्छ ।

हरियो वनले चितवनमा घाँसै मैदान व्यवस्थापन, सिमसार क्षेत्र व्यवस्थापनसँगै संरक्षणका कार्यक्रमहरु चलाएको छ । विगत पाँच बर्षदेखि सञ्चालित यो कार्यक्रमले यो क्षेत्रमा रु ३ करोड ३८ लाखको कार्यक्रम सञ्चालन गरेको र अब दोस्रो चरणको कार्यक्रम शुरु हुने जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com