अष्ट्रेलियाको ‘गणेश बीयर’ माथिको विवाद भाइरल बन्यो
प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार
अष्ट्रेलियाको एक बीयर कम्पनीले उत्पादन गरेको बीयरको बोतल हिन्दू देवता गणेशको फोटो प्रयोग गरेपछि सर्वत्र विरोध शुरु भएको छ ।
अष्ट्रेलियाका हिन्दू समुदायका साथै विश्वभरका हिन्दूहरुले भगवान गणेशको फोटोलाई मदिराको व्यापारकालागि प्रयोग भएकोमा कडा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा विश्वभरबाट यसको विरोध भैरहेको छ । भारतीय हिन्दूहरुले यसबारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ध्यानकर्षण गराएका छन् । बीयर कम्पनी विरुद्ध अनलाइन पिटिशन साइन गर्ने अभियान समेत सामाजिक सञ्जालमा शुरु गरिएको छ ।
अष्ट्रेलियाको ब्रुकवेल यूनियन नामक कम्पनीले गणेशको फोटोलाई लेबल बनाएर जिन्जर बीयर बजारमा ल्याएको हो । नयाँ बीयरको प्रवद्र्धन गर्न तयार पारिएको विज्ञापनमा गणेशको हुलियामाथि नै तोडमोड गरिएको छ । विज्ञापनमा प्रयोग गरिएको वाक्यप्रति हिन्दू समुदाय झनै आगो भएका छन् । बीयरले स्लोगनको रुपमा लेखिएको वाक्यमा भनिएको छ–क्वालिटी अन द इन्साइड,ननसेन्स अन द आउटसाइड ।
यसैबीच उत्तरी सिड्नीमा अवस्थित ब्रुकवेल यूनियनले यस विवादको उपर्युक्त समाधानको विकल्पबारे छलफल गर्न अष्ट्रेलियाका हिन्दू समुदायसँग अपिल गरेको छ । ‘हाम्रो उदेश्य कसैको आस्थाको अनादर गर्नु होइन,’ कम्पनीका सह संस्थापक जरोन मिचेलले बताए ।
उक्त कम्पनीले यसअघि पनि विभिन्न हिन्दू देव देवताहरुको फोटो राखेर मदिरा उत्पादन गरेर आलोचना खेपिसकेको छ । कम्पनीले सन् २०१३ मा गणेश र लक्ष्मीको फोटो राखेर बीयर बजारमा ल्याएको थियो ।