टोकियोको खाबुकिच्योमा गोली हानी एकको हत्या
प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

टोकियोको मनोरञ्जन स्थलको रुपमा प्रख्यात स्थान खाबुकिच्योमा एक व्यक्तिको गोली हानी हत्या भएको छ ।
दुई आपराधिक गिरोहमा संलग्न व्यक्तिहरुवीच भएको झगडाका कारण गोली हानी हत्या गरिएको हुनसक्ने प्रहरीलाई उधृत गर्दै क्यादो न्यूजले समाचार प्रकाशित गरेको छ ।
समाचार अनुसार काराओके बारमा गोली लागेका ति व्यक्तिलाई रगताम्मे अवस्थामा उद्दार गरि अस्पताल पुर्याईएको थियो । अस्पताल पुगे लगत्तै चिकित्सकले ति व्यक्तिलाई मृत घोषणा गरेका थिए ।
सोमबार साँझ करिव ६ः३० बजेको समयमा सो काराओके बारमा काम गर्ने एक कर्मचारीले प्रहरीको आकस्मिक फोन नम्वरमा फोन गरेर द्दटनाबारे जानकारी गराएका थिए । कसले गोली हानेको हो भन्ने एकिन नभएपनि गोली प्रहार गरि फरार भएका व्यक्तिको खोजिकार्य तिब्र पारिएको प्रहरीले जनाएको छ । घटनास्थलमा बन्दुक नभेटिएपनि घटना भएको भवनको पाँचौ तलामा गोलीको खोका भेटिएको समाचारमा उल्लेख छ । सिसीटिभी फुटेजमा भने उनीहरु दुबैजना एकैपटक खाराओके भित्र छिरेको देखिएको छ ।
घटनास्थल राजधानी टोकियोको जेआर सिन्ज्युकु स्टेशनबाट ५०० मिटर मात्रको दूरीमा अवस्थित काराओके बारमा घटेको हो । काराओके बार गीत गाउँदै र पिउँदै रमाइलो गर्ने स्थानका रुपमा प्रख्यात छन् ।
काबुकिच्यो एरिया रेड लाइट डिस्ट्रिक्टका रुपमा परिचित छ भने यो निकै व्यस्त पर्यटकिय क्षेत्र पनि हो । यहाँ डान्स बार, पब, काराओके, फिल्म हल, रेष्टुरेन्ट, पाचिङ्को, गेमहाउस जस्ता थुप्रै मनोरन्जनात्मक स्थानहरु छन् ।
नेपालीहरुको बाक्लो आउजाउ हुने खाबुकिच्यो क्षेत्रमा नेपालीहरुले पनि जापानी रेष्टुरेण्ट ईजागाया सहित नेपाली रेष्टुरेण्टहरु समेत सञ्चालन गर्दछन् ।