थाइल्याण्डमा विषाक्त धुलोका कारण चार सय बढी विद्यालय एक हप्ताका लागि बन्द
प्रकाशित मिति : माघ १७, २०७५ बिहीबार
बैंककको हावामा फैलिएको विषाक्ता धुलोका कारण त्यहाँका चारसय बढी विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । बच्चाहरुलाई यसको नकारात्मक प्रभावबाट बचाउनका लागि यसो गरिएको हो ।
थाइल्याण्डको राजधानीले अहिलेसम्मकै खराब वायु प्रदुषणको सामना गरिरहेको छ । यहाँको वायु पीएम२.५ नामक अत्यधिक मसिनो धुलोका कणका कारण प्रदुषित भइरहेको छ ।
गाडीबाट निस्कने धुँवा–धुलो र फ्याक्ट्रीका कारण वायु प्रदुषण चरम बिन्दुमा पुगेको बताइएको छ ।
सरकारले वायु प्रदुषण हटाउने गरेका विभिन्न प्रयास प्रभावकारी हुन सकेका छैनन् ।
सरकारले प्रदुषण कम गर्न वर्षा गराउने कृत्रिम बादल बनाउन प्रयास गर्यो, ट्राफिक कम गर्यो तर पनि यसको असर निकै कम रह्यो ।
अर्को हप्ता पर्ने नयाँ वर्षको छुट्टीमा कसैलाई पनि आतिशबाजी नगर्न सरकारले निर्देशन दिएको छ ।
द वर्ल्ड एयर क्वालिटी इन्डेक्स प्रोजेक्टका अनुसार बैंककको एयर क्वालिटी इन्डेक्स १७० पुगेको छ जसले यसलाई अस्वस्थ बनाएको छ ।