कम्पनीले बाँड्यो पौने ३ अर्ब बोनस, बोरामा पैसा बोकेर घर फर्किए कर्मचारीहरु
प्रकाशित मिति : माघ १८, २०७५ शुक्रबार
आफूले काम गरिरहेको कम्पनीले जब प्रशस्तै मुनाफा कमाउँदछ अनि कर्मचारीलाई ठूलो रकम बोनस दिन्छ भने को कर्मचारी खुसी नहोला ?चीनमा हालै एउटा कम्पनीले आफ्ना कर्मचारीलाई झण्डै पौने ३ अर्ब रुपैयाँ बराबरको रकम बोनस बाँड्यो ।
नगदमा बाँडिएको उक्त बोनस रकम गोजीमा अटाउने कुरै भएन । त्यसैले कर्मचारीहरुले आफ्नो भागमा परेको बोनस रकम बोरामा भरेर घर लिएर आए ।
फंगदा स्पेसनल स्टिल टेक्नोलोजी नामक उक्त कम्पनी पछिल्ला वर्षहरुमा कर्मचारीलाई ठूलो धनराशी बोनस बाँड्नमा नाम कहलिएको छ ।
यो कम्पनीमा झण्डै पाँच हजार कर्मचारी काम गर्दछन् । त्यसैले उक्त बोनस रकम कर्मचारीहरुलाई बाँड्दा एउटाको भागमा लाखौँ रकम पर्यो । कार्यरत कर्मचारीले मात्र होइन, सेवानिवृत्त कर्मचारीले पनि केही बोनस रकम पाए ।
समाचार अनुसार कम्पनीले बाँडेको कूल बोनस रकमका नोटको वजन झण्डै २ टन थियो । अफिसमा उक्त रकम सबै ल्याएर नगदै बोनस बाँडियो ।
यो कम्पनीले पछिल्लो ७ वर्षमा आफ्ना कर्मचारीलाई २६ अर्ब रुपैयाँ भन्दा धेरै रकम बोनसमा बाँडिसकेको छ । कम्पनीको वार्षिक आय करोडौँ डलर रहेको छ ।