यस्तो छ नेपाल–चीन सैन्य अभ्यासको तयारी


प्रकाशित मिति : पुस २१, २०७३ बिहीबार

चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ । गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ । तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य अभ्यासको मिति, स्थान र प्रक्रियाको औपचारिक निर्णय हुनेछ । यद्यपि दुवै पक्षले सैन्य अभ्यास हुने दिन र स्थानबारे औपचारिक घोषणा गरेका छैनन् ।

‘अघिल्लो साता चिनियाँ सेनासँग इनिसिएल प्लानिङ कन्फ्रेन्स (प्रारम्भिक योजना बैठक) काठमाडौंमा सम्पन्न भएको छ, अब अन्तिम योजना बैठक बसेर त्यसबारे टुंगो लाग्छ,’ सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले नयाँ पत्रिकासँग भने, ‘पहिलो बैठकमा प्रस्ताव राखिएको छ, दुवैतर्फका विषय प्रस्तुत भएका छन् ।’ उनका अनुसार दुवै पक्षलाई मान्य हुने मिति, स्थान र अन्य प्रक्रियागत विषय अर्को बैठकबाट टुंगो लाग्नेछ । स्रोतका अनुसार सैन्य अभ्यासको नाम ‘प्रतिकार’ प्रस्तावित छ।

हालसम्म नेपालको संयुक्त सैन्य अभ्यास भारत र अमेरिकासँग मात्रै थियो । पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य अभ्यास हुँदै छ । ‘छिमेकी र उदाउँदो शक्तिराष्ट्रसँग सैन्य अभ्यास राख्नु कूटनीतिक र सामरिक सन्तुलनका लागि यो अर्थपूर्ण छ, यो राष्ट्रहितका पक्षमा छ,’ सामरिक मामिलाविज्ञ गेर्जा शर्मा वाग्लेले भने, ‘भारत यसमा उत्तेजित वा प्रतिक्रियात्मक हुनु आवश्यक छैन ।’

१४ पुसमै चिनियाँ घोषणा
चीनले १४ पुसमा नेपाली सेनासँग सैन्य अभ्यास हुने औपचारिक घोषणा गरेको थियो । बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता यान याजुनले सन् २०१७ को सुरुमै सैन्य अभ्यास हुने बताए पनि मिति तोकेका थिएनन् । उनको भनाइ थियो, ‘आपसी सम्मान, समानता, लाभका लागि बहुआयामिक सैनिक कार्यमार्फत सेनाको क्षमता अभिवृद्धि गर्न तथा आदानप्रदान तथा सहकार्यका लागि हामीले काम गर्दै आएका छौँ, निकट भविष्यमा प्रारम्भिक सञ्चारसँग सम्बन्धित विषयमा दुईपक्षीय सैन्य अभ्यास गर्दै छौँ ।’

के भन्छन् विज्ञ ?
स्वाभाविक हो, सार्क मुलुकसँग पनि हुनुपर्छ
विनोज बस्न्यात, पूर्वउपरथी
यस्तो खालको संयुक्त सैन्य अभ्यास नेपाली सेनाका लागि महत्वपूर्ण अवसर हो । आतंकवाद, प्रतिविद्रोह र प्रकोप व्यवस्थापनजस्ता विषय अहिले संसारका साझा हुन् । परिवर्तित परिप्रेक्ष्यमा यस्ता साझा चुनौतीलाई एक्लाएक्लै होइन, सबै मिलेर सामना गर्नुपर्छ । त्यसका लागि यस्तो सैन्य अभ्यासबाट अनुभव आदानप्रदान हुन्छ ।

यसबाट द्विपक्षीय तथा बहुपक्षीय सैन्य सम्बन्ध सुदृढ हुन्छ । सैन्य कूटनीतिक क्षेत्रको विस्तार हुन्छ । नेपाली सेनाको कूटनीतिक परिपक्वता पनि अभिवृद्धि हुन्छ । राष्ट्रहरूबीच आत्मीय विश्वास र समझदारी बढाउन मद्दत पुग्छ । अमेरिका र भारतसँग हामीले संयुक्त अभ्यास गरिरहेका छौँ । बहुपक्षीय सैन्य अभ्यास संयुक्त राष्ट्रसंघमार्फत भइरहेको छ । हामी पनि सहभागी हुन्छौँ, अरू देशहरू नेपालमा पनि आइरहेका छन् । अब दक्षिण एसियाका अन्य मुलुकसँग पनि हामीले संयुक्त अभ्यासका लागि प्रयास गर्नुपर्छ ।

राष्ट्रहितका लागि स्वाभाविक
गेजा शर्मा वाग्ले, सामरिक मामिला विज्ञ
पहिलोपटक नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासजस्तो रणनीतिक महत्वको सैन्य गतिविधिप्रति भारत र अन्तर्राष्ट्रिय समुदायको चासो स्वाभाविक होला । कूटनीतिक र सामरिक सन्तुलन कायम गर्ने दृष्टिकोणले चिनियाँ सेनासँग नेपाली सेनाले संयुक्त अभ्यास गर्नु राष्ट्रिय हितका लागि स्वाभाविक हो । भारत यसमा उत्तेजित वा प्रतिक्रियात्मक हुनु आवश्यक छैन ।

नेपाली सेनालाई तेस्रो देशको चस्माबाट नहेरौँ : भारत
बुधबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय पूर्वसेनाध्यक्षसमेत रहेका विदेश राज्यमन्त्री भिके सिंहले नेपालीमै भने, ‘म पनि नेपाली सेनाको पूर्वमानार्थ सेनापति हुँ, नेपाल र भारतका सेनाको सम्बन्ध विकसित र बलियो छ, हाम्रा धेरै नेपाली पेन्सनहोल्डर छन् ।’

नेपाल–चीन सैन्य अभ्यासबारे पत्रकारले सोधेको प्रश्नमा उनले यस्तो जवाफ दिएका हुन् । भारतीय स्थल सेनाले चीन, श्रीलंका, फ्रान्स, अमेरिका, नेपाल, सेसेल्स र काजकिस्तानसँग द्विपक्षीय सैन्य अभ्यास गर्दै आएको छ । भारत र चीनबीच १९ अक्टोबरमा लद्दाख तथा नोभेम्बर १७ मा पुनेमा सैन्य अभ्यास भएको थियो ।

चीनसँग पहिलोपटक अभ्यास भारत र अमेरिकासँग पहिल्यै

दक्षिण एसियाको सबैभन्दा पुरानो नेपाली सेनासँग चिनियाँ सेनाले संयुक्त अभ्यासका लागि पहिलोपटक प्रस्ताव गरेको हो । गत वर्ष प्रधानसेनापति राजेन्द्र क्षत्रीको चीन भ्रमणमा चिनियाँ सेनाप्रमुखसँग यसबारे कुराकानी भएको सैनिक स्रोतले बतायो । रक्षामन्त्री बालकृष्ण खाणको हालै चीन भ्रमणमा पनि चिनियाँ अधिकारीले यसबारे कुराकानी गरेका थिए ।

नेपाली सेनालाई चिनियाँ सेनाले अस्पताललगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङ चीन जाँदा चिनियाँ सेनाले एउटा उच्चस्तरीय प्रविधियुक्त अस्पताल बनाइदिने प्रस्ताव गरेको थियो, राजनीतिक नेतृत्वले स्वीकार गरेन, अहिले सेनाको कल्याणकारी कोषबाट दुई अर्ब रुपैयाँ खर्च गरेर भेट्रान्स अस्पताल बनाउनुपरेको छ,’ सेनाका एक बहालवाला उपरथीले नयाँ पत्रिकासँग भने, ‘चिनियाँ सेनासँग सम्बन्ध थप सुदृढ पार्ने कुरालाई स्वाभाविक मान्नुपर्छ, भारतीय सेनासँग हाम्रो सम्बन्ध घनीभूत छँदै छ ।’

अमेरिका र भारतसँग पहिल्यै
नेपालले भारत र अमेरिकासँग यसअघि दुईपक्षीय संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । सन् २०११ देखि नेपाल र भारतका सैनिकबीच ‘सूर्यकिरण’ नामको सैन्य अभ्यास हुँदै आएको छ । यस वर्ष रूपन्देहीको सालझन्डीस्थित सैनिक तालिम केन्द्रमा आयोजित सैन्य अभ्यासको समापनमा भारतीय सेनाका निवर्तमान सेनाध्यक्ष दलवीरु सिंहसमेत आएका थिए । नेपाली र भारतीय सेनाबीच दशवटा संयुक्त अभ्यास हुँदै आएको छ ।

नेपाली सेनाको विशेष बाहिनीमा अमेरिकी सेनाको प्रत्यक्ष सहयोग रहँदै आएको छ । विशेषगरी महावीर गण (रेन्जर), भैरवनाथ गण, युद्ध भैरव गणमा अमेरिकी सेनाको एसिया प्यासिफिक कमान्ड सम्बद्ध सैनिकले निरन्तर सैन्य अभ्यास गर्दै आएका छन् । पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा पनि अमेरिका, भारतलगायत विभिन्न मुलुकका सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास हुँदै आएको छ ।

नेपाली सैनिक अधिकारीहरू भारत, चीन, बेलायत, अमेरिका, पाकिस्तान, बंगलादेशमा तालिम लिइरहेका छन् । हरेक वर्ष भारतमा ३५ जना, चीनमा २७ जना, अमेरिकामा १५ जना, बंगलादेशमा पाँचजना सैनिक अधिकृतले स्टाफ कलेज, सिनियर कमान्ड, हाइअर कमान्ड, नेसनल डिफेन्स कलेजको कोर्स गरिरहेका छन् । नेपाली सैनिक प्रतिष्ठान खरिपाटी, कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी, शान्ति सेना तालिम केन्द्र पाँचखाल, माउन्टेन वारफेयर तालिम मुस्ताङ, जंगल वारफेयर अमलेखगन्जमा विभिन्न देशका सैनिक अधिकृतले तालिम लिइरहेका छन् । नयाँ पत्रिकाबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com