‘उफ् कस्तो धुलो!’ छिः कति फोहोर!’


प्रकाशित मिति : पुस २१, २०७३ बिहीबार

‘उफ् कस्तो धुलो!’

छिः कति फोहोर!’

‘आम्मै… कतिबिधि धुवाँ, धुलो, कोलाहल र दुर्गन्ध!’

यी कुनै नाटक या चलचित्रका संवाद होइनन्, सास फेर्नै सकसपूर्ण राजधानी उपत्यकाका प्राय बासिन्दाले सास–सासमा पोखिरहने मनकै वह हुन्।

किनकि, राजधानी उपत्यका वर्षैभरजसो प्रदूषित रहन्छ।

उपत्यकाका करिब ४० लाख बासिन्दा धुलो र धुवाँको कहर वर्षैभर बेहोरिरहन विवश छन्। जसको परिणाम स्वास्थ्य संक्रमणले हैरान बन्छन् या दीर्घरोगले थलिन्छन्।

उपत्यकाको वायुको अवस्था र त्यसले स्वास्थ्यमा पार्ने असरबारे निरन्तर अध्ययनपछि स्वास्थ्य अनुसन्धान परिषद्ले वर्षमा २०७ दिन (५७.७ प्रतिशत ) प्रदूषणको मात्रा राष्ट्रिय औसतभन्दा बढी (हानिकारक अवस्थामा) रहने गरेको देखाएको छ।

उपत्यकाको हावामा राष्ट्रिय मापदण्ड पिएम २.५ का लागि ४० माइक्रोमिटर प्रतिघनमिटरभन्दा कम हुनुपर्छ तर चिसो मौसममा अधिकतम १ सय ९२ माइक्रोमिटर प्रतिघनमिटरसम्म पिएम २.५ को मात्रा भेटिएको थियो।

वायु प्रदूषणको मुख्य कारकतŒवमध्ये २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलाका कण, कार्बन मोनोअक्साइड र नाइट्रोेजन अक्साइड स्वास्थ्यका लागि प्रमुख हानिकारक छन्। यस्ता कण श्वासप्रश्वासमार्फत शरीरभित्र पस्ने हुनाले बालबालिकामा श्वासनलीमा संक्रमण हुन्छ भने प्रौढमा श्वासप्रश्वासका दीर्घकालीन समस्या निम्तने विज्ञ बताउँछन्।

अध्ययनले वायु प्रदूषणको मात्रा राष्ट्रिय औसतमा १० प्रतिशतले बढ्दा श्वासप्रश्वासजन्य कारण अस्पताल नै भर्ना हुनुपर्ने अवस्था पनि ३ देखि ५ प्रतिशतले बढ्ने गरेको देखायो। परिषद्ले उपत्यकामा सडक विस्तारसँगै धुलो बढेपछि एक वर्षसम्म हावामा प्रदूषण मात्रासँगै उपत्यका प्रमुख १३ वटा अस्पतालमा भर्ना हुने बिरामीबारे संयुक्त रुपमा अध्ययन गरेको थियो।

अनुसन्धान केन्द्रका अनुसार काठमाडौंको पुतलीसडक ललितपुरको महालक्ष्मी स्थान र भक्तपुरको भीमसेनस्थान जगातिमा प्रदूषण मापन गर्ने स्टेसन राखेको थियो। एक वर्षको सोही अवधिमा बिरामी र मृत्युसम्बन्धी तथ्यांक संकलन गरिएको थियो जसमा उपत्यकाका वीर, कान्ति बाल, त्रिवि शिक्षण, बिएन्डबी, काठमाडौं मेडिकल कलेज, काठमाडौं मोडल, इशान बाल अस्पताल, भक्तपुर अस्पताल, ओम, नेपाल मेडिकल कलेज, सिभिस, सिद्धि मेमोरियल अस्पतालमा आएका बिरामीको तथ्यांक विश्लेषण गरिएको थियो।

अनुसन्धानमा संलग्न परिषद्का अनुसन्धान शाखा प्रमुख डा. कृष्ण अर्यालका अनुसार त्यस क्रममा भर्ना भएका मध्ये ४० प्रतिशतमा दीर्घ श्वासप्रश्वास र करिब ३० प्रतिशतमा निमोनिया देखिएको थियो।

वरिष्ठ श्वासप्रश्वास रोगविशेषज्ञ डा. अर्जुन कार्कीले राजधानीको धुलो र प्रदूषण वर्तमान र भावी पुस्तालाई समेत ठूलो जनस्वास्थ्य चुनौती भएको बताए। ‘नागरिकको स्वास्थ्यमा यति धेरै बेवास्ता हुँदा पनि सरकारको ध्यानै पुगेको देखिन्न,’ उनले नागरिकसँग भने, ‘निरन्तर खबरदारी नगरे ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउँछ।’

चिकित्सकका अनुसार धुलो र प्रदूषणका कारण सुरुमा हाच्छिउँ आउने, क्रमशः नाक बन्द हुने, घाँटी खसखस र छालामा डाबरसमेत देखिने लक्षण पैदा हुन्छ। बिस्तारै यस्ता समस्या लामो समय रहँदा घाँटी दुख्ने, खोकी लाग्ने भएर श्वासप्रश्वासका दीर्घकालीन समस्यामा परिणत हुन्छ।

डा. कार्कीका अनुसार धुलो र प्रदूषणले श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्यासँगै मुटु रोग र क्यान्सरको खतरासमेत बढाउँछ। ‘प्रदूषणबाट बच्ने नीति र कार्यक्रम तत्काल चलाउनुपर्छ,’ उनले भने, ‘यो आम मानिसको स्वास्थ्यको भयावह चुनौती हो।’

स्वास्थ्य मन्त्रालयको स्वास्थ्यसम्बन्धी सम्पूर्ण तथ्यांकहरुको संकलन गर्ने निकाय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) को तथ्यांकले समेत पाँच वर्षमा श्वासप्रश्वासजन्य बिरामीको संख्या दोब्बर भएको देखाएको छ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०६९/७० मा १९ हजार ८ सय ४४ देखिएकामा क्रमशः बढेर गत वर्ष २९ हजार हाराहारी पुगेको छ। थुपै्र डाक्टरका क्लिनिकमा गएका बिरामीको तथ्यांक नआउने हुँदा यो तथ्यांक अझै माथि भएको डा. कार्की बताउँछन्।

प्रमुख अनुसन्धानकर्ता डा. अर्यालका अनुसार सबैभन्दा बढी प्रदूषण मंसिरदेखि वैशाखसम्म राष्ट्रिय औसतभन्दा बढी र असारदेखि असोजसम्म मात्र कम पाइएको थियो।

काठमाडौं लगायत नेपालका मुख्य सहरमा बढ्दो जनसंख्या, जथाभाबी सहरीकरण र औद्योगीकरण तथा गाडीबाट निस्कने धुवाँजस्ता कुराले प्रदूषण बढ्दै गएको छ।

अनुसन्धान प्रतिवेदनअनुसार मध्यरातपछि र सूर्योदयअघि प्रदूषणको मात्रा सबैभन्दा कम थियो भने बिहान क्रमशः बढ्दै गएर ८–९ बजे सबैभन्दा बढी पाइएको थियो।

‘नाइट्रोजनअक्साइडहरुको मात्रा पनि पिएम २.५ को जस्तै वृद्धि भएको देखिन्थ्यो,’ डा. अर्यालले भने, ‘अर्कोतिर श्वासप्रश्वाससम्बन्धी समस्याले अस्पताल भर्ना हुने बिरामीमध्ये अधिकांश दीर्घ श्वासप्रश्वास सम्बन्धी समस्याका (३९.४९) थिए।’

अध्ययनले बालबालिका ०–९ वर्ष र वयश्क ५० भन्दा माथिलाई वायुप्रदूषणको उच्च जोखिम रहने देखिएको छ। १० माइक्रोमिटर प्रतिघनमिटर प्रदूषण बढ्दा एकदेखि पाँच प्रतिशतसम्म श्वासप्रश्वाससम्बन्धी समस्याबाट अस्पताल भर्नादर वृद्धि हुने अध्ययनले देखाएको हो।

प्रदूषण गराउने कारकतŒवमा मुख्य गरेर गाडीको धुवाँ, इँटाभट्टा र जेनेरेटरले निकाल्ने धुँवा नै भएको अन्तर्राष्ट्रिय स्तरमा स्थापित भए पनि यहाँ राज्य र सर्वसाधारणको यसप्रति गम्भीर चासो नगएको डा. अर्यालले बताए।

‘सरकारले काठमाडौं उपत्यकामा वायुप्रदूषण रोकथाम र नियन्त्रण गर्न नीतिनियम प्रभावकारी ढंगले गराउन जरुरी छ,’ अर्यालले भने, ‘अन्यथा सरकारले जनस्वास्थ्य समस्यामा ठूलो धनराशि खर्चनुपर्छ।’

वरिष्ठ जनरल प्राक्टिसनर डा. डिपी सिंहका अनुसार धुलोका कारण श्वासप्रश्वास, दम, बोङकाइटिस्ट मात्र होइन, पेट, मुटु, मानसिक, आँखा र छालाका बिरामीको संख्यासमेत उत्तिकै बढिरहेका छन्। विज्ञका अनुसार धुलो र धुवाँमा रहेका मसिना कण श्वासनली हुँदै फोक्सोमा पुगेपछि श्वास लिन र फाल्न कठिन हुन्छ। यसले श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग नभएकामा समेत बोङकाइटिस, दम, मुटु समस्या देखिने खतरा रहन्छ।

ट्राफिकमा बढी जोखिम

अनुसन्धान परिषद्ले प्रदुषणले ट्राफिक प्रहरीमा पारेको प्रभावबारे गरेको छुट्टै अध्यायनले बढी प्रदूषण भएका ठाउँमा खटिएका प्रहरीको फोक्सोको कार्यक्षमता घट्दै गएको देखाएको छ। सडकमा खटिने प्रहरीले अधिकांश जोखिमयुक्त समय सडकमै विताउँने हुँदा उनीमा बढी असर देखिएको हो।

परिषद्ले ट्राफिक प्रहरीको शरीरमा नै प्रदुषण मापक यत्र जडान गरेर प्रदूषणको तह र पछि फोक्सोको कार्यक्षमताको परीक्षणसमेत गरेको थियो। ‘सबैभन्दा बढी प्रदूषणको सामाना बालाजुमा खटिने ट्राफिकले गरेका थिए,’ डा.अर्यालले भने।

‘प्रहरीमा फोक्सोमा छिर्ने पिएम २.५ को एक्पोजन औसत १४४ देखि १९२सम्म भेटिएको छ,’ डा.अर्याल थप्छन्, ‘जब कि औसत भन्दा झण्डै पाँच गुणा हो,’। उनले यसरी खटिने ट्राफिक मध्ये चुरोट खाने र घरभित्रको धुँवामा एक्पोजर बढी भएकाहरुमा झन् बढी फोक्सोका कार्यक्षमता झन् घटेको पाइएको छ। चिकित्सकहरुका अनुसार यसरी सडमा खटिने अधिकांश प्रहरीले कपडाको मास्क प्रयोग गरेको पाइएको र त्यस्ता मास्कले यस्त प्रदूषणयुक्त कण रोक्न नसक्ने बताए। ‘कम्तिमा सर्जिकल मास्क वा एन ९५ भन्ने विशेष खालको मास्क प्रयोग गरे ९० प्रतिशत प्रदुशणबाट बच्न सकिन्छ,’ उनले भने। नागरिकबाट

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com