फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको भिसा
प्रकाशित मिति : फाल्गुन १८, २०७५ शनिबार
अष्ट्रेलिया सरकारले अप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको भिसा दिने घोषणा गरेको छ । विभिन्न पेशाका दक्ष अप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको भिसा दिने भएको हो ।
अद्यागमन मन्त्री डेभिड कोलम्यानले सरकारले सञ्चालन गरेको १९.४ मिलियन डलर योजना अन्तर्गत दक्ष अप्रवासीहरुलाई फाष्ट ट्रयाक प्रणालीबाट अष्ट्रेलियाको भिसा दिने निर्णय भएको घोषणा गरेका हुन् । अष्ट्रेलिया सरकारले ग्रामीण क्षेत्रहरुको विकासकालागि १९.४ मिलियन डलर योजना ल्याएको हो ।
यस योजना अन्तर्गत आगामी पाँच वर्षभित्र ग्रामीण क्षेत्रका विभिन्न स्थानीय व्यवसायीहरुलाई दक्ष जनशक्ति उपलब्ध गराउने सरकारको योजना छ । यस योजना अन्तर्गत सरकारले निर्धारण गरेका क्षेत्रमा गएर पाँच वर्ष काम गरेका विदेशी दक्ष कामदारहरुलाई अष्ट्रेलियाको स्थायी बसोबास अनुमति पीआर भिसा दिने प्रधानमन्त्री स्कट मोरिसनले यसअघि नै घोषणा गरिसकेका छन् । ग्रामीण भेगमा सञ्चालित उद्योग व्यवसायहरुमा दक्ष कामदारको अभाव भएपछि सरकारलाई दबाब परेको थियो ।
अष्ट्रेलिया सरकारले हरेक वर्ष १ लाख ९० हजार दक्ष जनशक्तिलाई पीआर दिने नीति बनाए पनि पछिल्लो केही वर्ष यता भने १ लाख ६० हजारभन्दा बढीले पीआर पाउन सकेका छैनन् । यसले गर्दा अष्ट्रेलियाका विभिन्न भेगमा दक्ष जनशक्तिको अभाव हुँदै आएको छ ।