‘छोरी पढाएपछि यस्तै हुन्छ भन्दै बदनाम गरियो’


प्रकाशित मिति : फाल्गुन २३, २०७७ आईतबार

राजनीतिमा पहाडजस्तै उचाई बनाउनुभएकी नेता पम्फा भुसालको संघर्षको कथा ।

छोरीले गरेको राम्रो कामलाई छोरासंग तुलना गर्ने समाजभित्र उकुस मुकुस परेकी पम्फा भुसाललाई (शहिद) टंक प्रसाद भुसालले नयाँ गोरेटोमा पाइला टेकाउनु भयो । सानैदेखि छोराछोरीको भेदभावलाई केलाउन सक्ने र त्यसको विरुद्ध आवाज उठाउने पम्फालाई टंक भुसालसंगको भेटले राजनीतिमा ल्याइपुर्यो । विभेद विरुद्धको लडाइ लड्न राजनीतिमा लाग्नु पर्ने सल्लाह टंक प्रसाद भुसालबाट मिल्यो ।

काँडैकाँडाले जेलेको समाजभित्र फुल्नु पम्फाका लागि ठूलै चुनौति थियो । छोरी पढाउनु हुँदैन भन्ने समाजका विरुद्ध उत्रिएकी पम्फा स्कुलमा सधै होल फस्ट हुने छात्रा हुन । ‘म स्कुल पढ्न निस्कीएपछि गाउँलेहरु कुरा काट्नकै लागि भेला हुन्थ्ये । तर मेरो आमाले सधै साथ दिनु भयो, पम्फाले भन्नु भयो ।’
पम्फा परिवारको तेस्रो सन्तान हुनुहुन्छ ।

उहाँको परिवारमा राम्रो लगाउन र खान दुःख नभएपनि छोरी छोरी भएकोले समाजबाट अपहेलनाको समाना हरेक पाइलामा गर्नु परेको थियो । घरमा छोरा नभएको कारण साईला बुबाले नक्कली लालपूर्जा बनाएर उहाँको परिवारको सम्पत्ति हड्प्ने योजनामा मुद्धा दर्ता गरे । आफ्नो सम्पत्ति बचाउन उहाँको परिवारले १८ वर्षसम्म अदालतको ढोका ढकढकाउनु पर्यो ।

विद्यार्थी जीवन

जनता प्रा.वि आपखोलामा कक्षा पाँचसम्म अध्यान सकेपछि बाँकी पढाईको लागि पम्फा सरदरमुकाम सन्धिर्खक आउनु भयो । सन्धिखर्कमा रहेको जनज्योति माविमा भर्ना हुनु भएको उहाँ स्कुलमा कहिल्यै दोस्रो हुनु परेन ।

समाजिक र लैगिङ्क समस्याको समाधान गर्ने पार्टी कम्युनिष्ट हो भन्ने लागेपछि २०३३ सालमा विद्यार्थि सदस्यता लिइन । पंञ्यायत कालमा प्रतिबन्धित संगठनको सदस्यता लिनु चानचुन बिषय थिएन । विद्यार्थिको सदस्यता लिदा उहाँ १४ वर्षको हुनुहुन्थ्यो ।

०३६ सालमा अर्घाखाँचीबाट एस.एस.सी गर्ने एक्लो छात्रा पम्फा । एसएलसी लगत्तै उच्च शिक्षा हाँसिलका लागि काठमाडौं छिर्नु भएको पम्फा पुलचोक इन्जीनेयरिड कलेजमा भर्ना भएर विद्यार्थि राजनीतिमा सक्रिय रहनु भयो । त्यो बेला छोरी मान्छे एक्लै काठमाडौ पढ्न आउनु भनेको समाज र परिवारमा ठुलो विद्रोह थियो ।

०३७ सालमा महंगी विरुद्ध सबै विद्यार्थिसंगठनले गरेको आन्दोलनमा राज्य र राज दरवार विरुद्ध कडा अभिब्यक्ति दिए लगत्तै प्रसासनले उहाँको नाममा वरेन्ट जारी गर्यो ।

वारेन्ट जारी भएको लगत्तै असोजमा ललितपुरको मंगलबजारबाट.शान्ति सुरक्षा ऐन अन्तरगतको मुद्धामा उहाँ पहिलो पटक जेल जानु पर्यो । आत्मसमर्पण गराउन जेलर र अञ्चलाधिशले उहाँलाई ठूलै कोशिस गरे । आत्मसमर्पण गर्नु भन्दा जेल बस्नु ठिक हो भन्ने लग्यो र पम्फा डेढ महिला जेल बस्नु भयो । उहाँ तीन पटक जेलपर्नु भयो भने थुप्रै पटक हिसातमा पुलिसको लाठी खानु पर्यो ।

घरमा भोक हडताल गरेर काठमाडौ पढ्न पुगेकी छोरी जेलमा परेको सुन्दा बुबा आमाले छोरी बाँचे भन्दा मरे ठीक हुन्थ्यो भन्नु भएको कुरा पम्फाले सुनाउनु भयो ।

उता गाउँलेहरु छोरी पढाएपछि यस्तै हुन्छ भन्दै पम्फाको बदनाम गर्नेमा जुटे । जसको कारण घरपरिवारले ठूलो समाजिक दवाब झेल्नु पर्यो ।
तर, उहाँ आफ्नो अगाडि आउने हरेक चुनौतिको सामू फलामे किल्ला बनेर खडा हुनुभयो । पम्फाको बिरुद्ध कुरागर्ने समाजका मान्छेहरु अहिले एक किलो मिटर टाढैबाट नम्कार गर्दै, उहाँको प्रसंसामा समय खर्च गर्दछन् ।

०३५ र ०३६ सालको आन्दोलनमा सशक्त रुपमा लाग्नु भयो । विद्यार्थी आन्दोलनको बेला पुलिसका लाठी उहाँको शरिरले धेरै पटक भेटे ।
उहाँ ०३९ सालमा विद्यार्थीको केन्द्रिय सदस्य बने लगत्तै सम्पूर्ण समय राजनीतिमा लगाउनु भयो । विद्यार्थि आन्दोलनको बेला उहाँलाई मरिचमानदेखि मनमोहनसम्म सबै सरकारले गिरफ्तार गरे ।

कम्युनिष्ट पार्टीको सदस्य र महिला संघ

जेलबाट छुटेको लगत्तै (०३७ सालमा) नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको हातबाट पार्टी सदस्यता पाउनु भयो । त्यसपछि भूमिगत रहेको अनेमसंघको केन्द्रिय सचिव बन्नुभयो । जसको अध्यक्ष साहित्यकार पारिजात हुनुहुन्थ्यो । ०३८ सालमा भएको महिलासंघको राष्ट्रिय सम्मेलनले पम्फालाई महासचिव बनायो ।

यो सम्मेलन भारतको अयोद्यामा भएको थियो । महिलासंघ प्रतिबद्धित भएकोले भूमिगत रुपमा काम गर्नु पर्दथ्यो ।

जनयुद्धकालिन अबस्था र जिम्मेवारी

नेता पम्फा भुसाल २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको अध्यक्ष बन्नु भयो । नेपालमा पार्टीको अध्यक्ष बन्ने पम्फा पहिलो महिला हो । २०४८ सालमा उहाँ आबद्ध पार्टीले चुनावमा भाग लियो र देशमा तेस्रो ठूलो दल बन्यो । त्यसपछि पार्टीको एकता महाधिवेशन भयो । महाधिवेशनले ‘जनयुद्ध‘को कार्यदिशा पारित ग¥यो ।

कार्यदिशा अनुरुप ‘जनयुद्ध‘को तयारीमा पार्टीको नाम नेकपा (माओवादी) राखियो । २०५२ फागुन १ गतेदेखि ‘जनयुद्ध‘ सुरु भयो । ०५१ सालमै भूमिगत रुपमा रहेको पार्टी माओवादीको केन्द्रिय सदस्य हुनुभयो । ०५२ सालमा दिर्घकालिन जनयुद्धको बाटो समातेको उहाँको पार्टी माओवादी १० बर्षपछि फेरि संसदिय राजनीतिमा आई पुग्यो ।

०६५ सालमा माओवादीको पि वि एम हुनभयो । त्यसको लगत्तै उहाँको पार्टी पुट्यो । प्रचण्ड र मोहनबैद्धको नेतृत्वमा दुईवटा पार्टी गठन भए, एकीकृत माओवाद र ड्यास माओवादी ।

उहाँ एकिकृत चौथो महाधिवेशन, मशाल, एकता केन्द्र हुँदै माओवादीमा निरन्तर क्रियासील हुनुभयो र माओवादीले थालेको जनयुद्धको सुरुदेखि अन्त्यसम्मै उहा आफ्ना कार्यक्षेत्रका मोर्चाहरुमा सहभागी हुनुभयो ।

जनयुद्ध शुरुहुँदाको बेला उहाँ पश्चिम सेती–महाकालीको जिम्मेवारी लिएर काम गर्नुभएको थियो । त्यसपछि माओवादीको आधार इलाका राप्तीमा आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्हाल्नुभयो । युद्धका मोर्चाहरुमा उहाँ राजनीतिक कमिसारको भुमिका खोल्नु भयो ।

०६२ मा पार्टीले ढाडमा टेकेर टाउकामा हान्ने फौजी रणनीति र सङघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक कार्यनीति बनाएपछि सहर केन्द्रित आन्दोलनको कमाण्ड गर्दै गण्डक क्षेत्र आइपुग्नु भयो । ०५९ सालमा सेनाको घेरा तोडेर एक रात जंगलमा बिताएको कुरा सबैभन्दा धेरै याद छ उहाँलाई ।
नवलपरासीमा ०६२ फागुन ४ गते जमिनबाट सेनाको घेरबन्दी र आकाशबाट बम बर्षा छल्दै मृत्युको मुखबाट बाच्न सफल नेता पम्फा गण्डक आइपुग्दा माओवादी र सात दलबीच १२ बुँदे सम्झौता भयो ।

०६३ बैशाख १३ गते पार्टीले युद्धबिराम गरी शान्ति प्रकृयामा आएपछि पार्टीले गठन गरेको केन्द्रीय वार्ताटोलीमा पम्फा एकमात्र महिला सदस्य हुनुहुन्थ्यो ।
उहाँ पार्टीभित्र मात्र होइन बाहिर पनि स्पष्ट विचार राख्न सक्ने प्रखर वक्ताको रुपमा परिचित हुनुहुन्छ ।

जीवनका मुल्यवान समय समाज परिवर्तनको लागि राजनीतिमा खर्च गर्नुभएको नेता भुसालले अझै देशमा महिलाहरुको लागि अर्को ठूलो लडाइको आबश्यकता देख्नु भएको छ ।

जनयुद्धका मुल्यमान्यतालाई संस्थागत गर्न नसक्दा प्रतिक्रान्तिको भनुभूति उहाँले गर्नु भएको छ । त्यसैले उहाँ भन्नुहुन्छ ‘जनयुद्ध नेपाली महिलाका लागि गोल्डन अवसर थियो । पहिलो संविधानसभासम्म आउँदा त्यसले निरन्तरता पायो तर अहिले महिला सहभागित र महिला आन्दोलन ओरालो लागेको छ । यो नेपाली महिला मुक्तिको लागि सबैभन्दा दुःखको कुरा हो।’

सरकार र संबिधानसभा

०६२/६३ को जनआन्दोलन पछि गठन गरिएको अन्तरिम सरकारमा पम्फा महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुनुभयो ।
पम्फा पहिलो संविधानसभाको चुनावमा ललितपुर क्षेत्र नं. ३ बाट एमाले नेता रघुजित पन्तलाई पछाडि पार्दै भारिमतले विजय हासिल गर्नु भएको थियो ।
पहिलो गणतान्त्रिक सरकारमा सामान्य प्रशासन मन्त्री समाल्नु भएको भुसालले ०६८ मा शान्ति तथा पुर्नरनिर्माण मन्त्रालयको जिम्मा पाउनु भयो ।

संविधानसभाको शासकीय स्वरुप निर्धारण समिति र संसद्को राज्य व्यवस्था समितिमा सदस्य बन्नु भएको नेता भुसालले आफ्ना विचारहरू सधै बुलन्द गर्नु भयो । .समितिमा उहाँले जनताले निर्वाचित गरेको कार्यकारी प्रमुख राष्ट्रप्रमुख र सरकार प्रमुख हुनुपर्नेमा आफ्नो मत राख्दै आउनु भयो । जनयुद्ध सुरु हुनुभन्दा १० दिन अघि देउवा सरकारलाई बुझाउन ४० बुँदे माग पत्र बोकेर जाने महिला पनि हुनुहुन्छ पम्फा । जसको नेतृत्व डाक्टर बाबुराम भट्टराईले गर्नुभएको थियो ।

उहाँ महिला मन्त्री हुँदा घरेलु हिंसा विरुद्धको विधेयक व्यावस्थापिका संसदमा पहिलो पटक दर्ज गर्नु भयो । राजनीतिमा अपराधी करण र अपराधीमा राजनीतिक करण भएको कारण नेपालमा महिला हिंसाका घटना बढेकोमा उहाँ सारै चिन्तित हुनुहुन्छ ।

२००७ साल देखि नेपालमा भएका परिवर्तनकारी आन्दोलनले उठाएका एजेण्डाहरु राजनीतिक दलका मुख्य नेताहरुले धोका दिएको हुँदा उपलब्धी संस्थागत हुन नसकेको उहाँको निष्कर्ष छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com