अष्ट्रेलियाको युनिभर्सिटीमा चिट चोर्ने तथा चोराउनेलाई दुई वर्ष जेल या दुई लाख डलर जरिवाना
प्रकाशित मिति : चैत्र २५, २०७५ सोमबार
अष्ट्रेलियाका युनिभर्सिटीमा चिट चोर्ने तथा चोराउने कार्यलाई बन्द गराउनाका निम्ति कानुनमा कडाइ हुने भएको छ । द गार्जियनका अनुसार अष्ट्रेलियाका शिक्षामन्त्री ड्यान तेहानले विधयकको प्रस्ताव गरेका हुन् ।
प्रस्तावित विधेयकमा युनिभर्सिटीको परीक्षामा चिट चोर्ने, चोराउन सहयोग गर्ने अथवा निवन्ध लेखनमा चोर्न सघाउने जो कोहीले कडा सजाय भोग्नेछन् । यसमा दुई वर्षसम्म जेल र २ लाख १० हजार डलरसम्म जरिवानाको व्यवस्था छ ।
अष्ट्रेलियामा ‘कन्ट्राक्ट चिटिङ’ फैलिन थालेपछि कानुनमा कडाइ गर्ने पहल गरिएको बताइएको छ । कन्ट्राक्ट चिटिङमा युनिभर्सिटीका विद्यार्थीहरुले आफूलाई दिइएको कार्य तथा ‘एसाइनमेन्ट’ अरुलाई पैसा दिएर गराउँछन् । यी कार्य विशेष गरेर विदेशमा रहेका वेबसाइटहरुमार्फत हुनेगरेको छ ।