‘धर्ममा आएको विचलन रोक्नुपर्छ’
प्रकाशित मिति : माघ १५, २०७३ शनिबार
धर्म गुरु र इतिहासकारहरुले सबै धर्मिक सम्प्रदाय एक हुनु पर्ने बताएका छन् । सबै धर्ममा राम्रा र नराम्रा कुरा भएको बताउँदै उनीहरुले राम्रो कुरालाई आत्मासात गर्दै नराम्रो कुरालाई त्याग्नु पर्ने धारणा राखे ।
शनिबार काठमाडौँको संवाद डबलीमा धर्म सभा तथा पूर्वीय दर्शन अध्ययन केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका बक्ताहरुले धर्म, सस्कार र संस्कृतिलाई केही व्यक्तिहरुले कमाई खाने साधन बनाएकाले धर्मको नाममा विकृति फैलिएको बताए ।
कार्यक्रममा प्रा.डा. दिनेशराज पन्तले धर्म भनेको सामिाजक न्याय भएको बताउँदै त्यसलाई जीवन व्यवहारमा लागु गर्नुपर्ने बताए । ‘संस्कृति नदी हो, यसमा धेरै राम्रा र नराम्रा कुरा बगिरहन्छन् । राम्रो कुरालाई मात्र आत्मासात गर्नुपर्छ र नराम्रो कुरालाई बग्न दिनुपर्छ’ पन्तले भने ।
प्रा.डा. सुरेन्द्र केसीले कुनै पनि धर्ममा खराबी नहुने भन्दै धर्मलाई डलर कमाउने साधन बनाएको बताए । ‘धर्म आफैमा नराम्रो हुँदैन, सबै धर्मका राम्रा पक्ष छन् तर केही व्यक्तिहरुले धर्मलाई स्वार्थ पूरा गर्ने साधान बनाएका छन्, यसले विकृति बढाएको छ’ केसीले भने ।
धर्म जीवन पद्धति भएको बताउँदै केसीले धर्म्गुरुले नै धर्मको दर्शन आफ्नो जीवन व्यवहारमा लागु नगर्दा समस्या आएको बताए ।
भिक्षु डा. किर्ति चन्दले नराम्रो संस्कृतिलाई त्याग्ने र राम्रोलाई समाज र जीवन व्यवहारमा लागु पर्नुपर्ने बताए । उनले विभिन्न धर्ममा आस्था राखेपनि नेपाली नै भएकाले सबै एक भएर समाजको रुपान्तरणमा लाग्नु पर्ने जोड दिए ।
धेरै चिनियाँहरु लुम्बिनीमा आउन चाहेको तर भौतिक पूर्वाधार नभएका कारण आउन नसकेको भिक्षु चन्दले बताए ।
कार्यक्रममा बृहत अध्यात्मिक परिषद्का अध्यक्ष पूर्ण छन्त्यालले धार्मिक आस्था फरक फरक भएपनि सबै धार्मिक सम्प्रदाय एक हुनुपर्ने कुरामा जोड दिए ।
शान्ति नेपाल पार्टीका अध्यक्ष देवी प्रसाद आचार्यले विभिन्न धर्ममा आस्था राख्नेहरु अध्ययन अनुसन्धान गर्नुपर्ने भन्दै धर्मको नाममा हुने विकृति विसंगतिलाई हटाउनु पर्ने बताए ।
राष्ट्रिय मुक्ति आन्दोनलन नेपालका अध्यक्ष योगेश बरालले पश्चिमा देशहरुले जबरजस्त नेपाली धर्म–संस्कृतिलाई भ्रष्टिकरण गर्दै लगेको भन्दै त्यसमा सर्तक हुने पर्ने बताए । विदेशी संस्कृतिलाई आधुनिक भनेर आत्मासात गर्ने र नेपाली संस्कृतिलाई पाखे भन्दै घृणा गर्ने प्रवृतिका विरुद्ध लड्न पर्ने बताए ।
खस राज्य समितिका अध्यक्ष गोरख बिसीले नेपाली राजनीतिक मौलाउदै गरेको खराब संस्कृतिलाई तिरस्कार गर्नुपर्ने धारणा राखे । नेपालका धर्म–संस्कृतिमा भएका विकृतिलाई हटाउन सबै एक जुट हुनुपर्ने बताए ।
पत्रकार पदम श्रेष्ठले हरेक धर्ममा नराम्रा कुरा भएको बताउँदै धर्मशास्त्रलाई पुर्नव्यख्या गर्नुपर्ने धारणा र नेपाली धर्म गुरुहरुले आफ्नो व्यवहार परिर्तन गर्नुपर्ने बताए । उनले नेपाली धर्म–संस्कृतिले एक अर्कालाई घृणा गर्ने प्रवृतिकै कारण विदेशी संस्कृतिले प्रवेश पाएको बताए । उनले पशुपतिनाथको मन्दिरमा भारतीय संस्कृतिलाई भित्र्याउन लागेको भन्दै त्यसको विरोध गर्नुपर्ने बताए ।
कार्यक्रममा रामसिंह रावलले धर्मको नाममा विभिन्न एकले अर्कोमाथि भइरहेको थिचोमिचोकै कारण मानिसहरु अर्को धर्म परिवर्तन गर्न बाध्य भइरहेको बताए । समयको परिवर्तनसँगै धर्म र धर्मगुरुमा पनि विचलन आएको धारणा राखे ।
कार्यक्रमका सभापति तथा आयोजक संस्थाका अध्यक्ष विष्णुराज पाण्डेले विभिन्न सम्प्रदायमा आएको विचलनलाई रोक्न धर्म सभाको आवश्यकता भएको बताए । धर्म न्याय र पाप अन्याय भएको बताउँदै सच्चा धार्मिक व्यक्तिहरुले आरुमाथि अन्याय गर्न नसक्ने बताए ।