देख्न सकिने परिवर्तन


प्रकाशित मिति : माघ १७, २०७३ सोमबार

‘पहिला आफ्नो नाम भन्न डराउने हामी महिला अहिले स्थानीय संरचनाका हरेक कामको हिसाबकिताब खोज्न सक्ने भएका छौँ । के यो देख्न सकिने परिवर्तन होइन ?’

गीता थापा

लेखफर्सा– ८ की टीका पौडेललाई कुनै बेला घरबाहिरको काम के हो र त्यो कसरी गर्छन् भन्ने थाहा थिएन । सानो काम गर्न पनि श्रीमान्को सहमति माग्नुपर्ने अवस्थामा थिइन् उनी । अहिलेचाहिँ उनी घरको चुलो र चौकोबाट बाहिर गएर जनचेतना सामुदायिक वनको अध्यक्ष भएर काम गरिरहेकी छिन् । टीका भन्छिन्, ‘पहिला त म घरबाहिर निस्कन डराउँथेँ, घरपरिवार र समाजले केही कुरा काट्ने हुन् कि भन्ने डर लाग्थ्यो । अहिले केही लाग्दैन ।’

महिलाका लागि महिला संस्था (वाम) ले लेखफर्सामा ‘मेरो अधिकार मेरो आवाज’ कार्यक्रम सञ्चालन गरेपछि टीकाजस्तै धेरै महिलाको जीवनमा परिवर्तन आयो । उनले थपिन्, ‘मेरो अधिकार मेरो आवाज कार्यक्रम सञ्चालन भएपछि लेखफर्साका महिलाको जीवनमा परिवर्तन आएको छ ।’ पहिला घरपरिवारको साइनो लगाएर चिनिने टीकालाई अहिले सबैले अध्यक्षको नामले बोलाउने गर्छन् । उनी भन्छिन्, ‘आफ्नै पहिचानले चिनाउन पाउँदा काम गर्ने जोस–जाँगर बढेर आउँदो रहेछ ।’

छलफल कक्षामा सहभागी भएपछि टीकालाई स्थानीय संरचना बुझ्नुपर्छ र महिलाले त्यसको हिसाबकिताब खोज्नुपर्छ भन्ने लाग्यो । त्यसपछि उनले केही समय जनचेतना सामुदायिक वनको सचिवको पदमा रहेर काम गरिन् । अहिले उनी अध्यक्ष भएर काम गरिरहेकी छिन् । टीका भन्छिन्, ‘यही वन हो जहाँ पुरुष अध्यक्ष भएर काम गर्दाभन्दा महिला भएर काम गर्दा हिसाबकिताब थप पारदर्शी भएको छ ।’ वनबाट काठ निकासी गरेर आएको रकम बचत गर्ने गरेको उनको भनाइ छ ।

रामघाट– २ की बलिसरा खत्री पनि कुनै समय चुलोचौकोमा सीमित थिइन् । उनलाई महिलाले पनि स्थानीय संरचनामा भाग लिन पाउँछन् भन्ने थाहा थिएन । त्यसबेलाको कथा सुनाउँदै बलिसरा भन्छिन्, ‘हामी त सधैँ घरको काममा हुन्थ्यौँ, महिला भएर बाहिर निस्कनुहुँदैन भन्ने लाग्थ्यो । तर, छलफल कक्षामा सहभागी भएपछि महिला अधिकारका कुरादेखि स्थानीयस्तरमा हुने हरेक संरचनाका कामबारे थाहा पाइयो ।’ अहिले उनी चन्द्रोदय निम्नमाध्यमिक विद्यालयको अभिभावक सङ्घकी अध्यक्ष छन् ।

रामघाट छलफल कक्षाका महिला मिलेर अहिले रामघाट स्वास्थ्यचौकीका लागि जग्गा खरिद तथा भवन निर्माणको काम गरिरहेका छन् । कुनै बेला हुलाकीकी बुहारी भनेर उनलाई बोलाउने गाउँका मानिस अहिले अध्यक्षज्यू भनेर नमस्कार गर्छन् । बलिसरा भन्छिन्, ‘फलानाकी बुहारी भनेर चिन्ने समाजले अध्यक्षज्यू भन्दा खुसी नै लाग्छ नि ।’

चुलोचौकोमा सीमित धेरै महिला अहिले स्थानीय संरचनाको मुख्य पदमा बसेर काम गरिरहेका छन् । महिला के गर्न सक्छन् भन्ने पुरुषवादी सोचमा बिस्तारै परिवर्तन भइरहेको छलफल कक्षाका महिलाको भनाइ छ । महिला घरबाहिर निस्कन हुँदैन भन्ने पुरुषवादी सोच महिलाको कामबाटै बिस्तारै परिवर्तन भइरहेको छ ।

रामघाट छलफल कक्षाका सहभागी महिला, गाविसबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि दुई लाख ५० हजार रुपैयाँ छुट्याउन सफल भए । महिलाकै सक्रियतामा सहरी डिभिजन कार्यालयबाट स्वास्थ्यचौकी भवन निर्माणका लागि यसै वर्ष दुई करोड ३८ लाख रुपैयाँमा भवन निर्माणकार्य सुरु भएको छ । खत्रीले भनिन्, ‘यति मात्र होइन, हामी महिलाकै पहलमा गाउँमा बर्थिङ सेन्टरसमेत निर्माण गर्न सफल भएका छौँ ।’

पहिला पुरुषको नेतृत्व र निर्णयलाई स्वीकार गर्दै आएका महिला अहिले जुनसुकै कामको लागि पनि तयार हुन थालेका छन् । सभासमारोह र बैठकहरूमा निर्णय गर्न अग्रसर हुन थालेका छन् र त्यसअनुसार काम पनि गर्दै आएका छन् । स्थानीय संरचनामा सहभागी हुन थालेका महिलामा आत्मविश्वास बढ्दै गएको छ । आर्थिक रूपमा समेत उनीहरू सक्षम हुँदै गएका छन् ।

समूहका कतिपय महिला अहिले तरकारी खेती गरी आत्मनिर्भर बन्न अग्रसर छन् । रामघाट स्वास्थ्यचौकी इन्चार्ज मानसिं नेपालीले छलफल कक्षाका महिलाकै पहलमा स्वास्थ्यचौकीको लागि जग्गा खरिददेखि भवन निर्माण कार्यसमेत भइरहेको बताए । उनले भने, ‘महिलाको सहभागितामा रामघाट स्वास्थ्यचौकीसमेत अब व्यवस्थित हुँदै छ ।’ छलफल कक्षाले यस क्षेत्रका महिलामा साँच्चीकै धेरै परिवर्तन ल्याएको छ । कक्षामा सहभागी एक महिला भन्छिन्, ‘पहिला आफ्नो नाम भन्न डराउने हामी अहिले स्थानीय संरचनाका हरेक कामको हिसाबकिताब खोज्न सक्ने भएका छौँ । के यो देख्न सकिने परिवर्तन होइन ?’(सञ्चारिका फिचर सेवा)(गीता सुर्खेतकी पत्रकार हुन् ।)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com