कंगोमा भड्कियो हिंसा, लाखौं पलायन


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

अफ्रिकी मुलुक कंगोमा विगत दुई सातादेखि भड्किएको अन्तर–जातीय हिंसाका कारण हजारौं व्यक्ति अन्यत्र पलायन भएको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकाय (युएनएचसिआर)ले कंगोको इटुरी प्रान्तमा भड्किएको हिंसा निकै संवेदनशील अवस्थामा पुगेको जनाएको छ ।

यही जुन महिनाको शुरुदेखि इटुरी प्रान्तका हेमा र लेन्डु जातिबीच एकअर्कामाथि आक्रमण भइरहेका छन् ।
जेनेमा आयोजित पत्रकार सम्मेलनमा युएनएचसिआरका प्रवक्ता बाबर बालोखले हिंसाका कारण करिब तीन लाख मानिस विस्थापित भएको जानकारी दिनुभयो ।
उहाँले तत्कालै कुनै कदम नचालिए यो हिंसा अझ ठूलो क्षेत्रमा फैलन सक्ने चेतावनी दिनुभयो ।

इटुरीका गभर्नर जाँ बामानिसा सैदीले हिंसाबाट विस्थापितको संख्या चार लाखको हाराहारीमा पुगिसकेको बताउनुभयो । उहाँले विस्थापितको सुरक्षा र हिंसा रोक्ने कार्य निकै जटिल बनेको बताउनुभयो ।

गत साता स्थानीय अधिकारीहरुले इटुरीमा एक दुई दिनकै अन्तरालमा ५० जनाभन्दा बढीको हत्या भएको बताएका थिए । अरु स्रोतले हिंसाका कारण ७० जनाभन्दा बढीको ज्यान गएको बताएका छन् ।

दुई जातीय समुदायबीच हिंसा भड्किनुको खास कारण अझै स्पष्ट हुन सकेको छैन । तर सन् १९९९ देखि २००३ को बीचमा यिनै दुई समुदाय हेमा र लेन्डुबीचको हिंसाका कारण दशौं हजारको ज्यान गएको थियो ।

सन् २०१७ र २०१८ मा यी दुई जातिबीचको द्वन्द्वका कारण करिब ३ लाख ५० हजार विस्थापित भएका थिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com