न्युयोर्कमा अत्याधिक गर्मीका कारण विद्युतको उच्च प्रयोग, थेग्न नसक्दा साढे ३२ हजार ग्राहक विद्युतविहिन
प्रकाशित मिति : श्रावण ५, २०७६ आईतबार
न्युयोर्कमा शनिबार र आइतबार तापमान बृद्धि भएर ११५ डिग्री फरेनहाइट अर्थात् ४६ डिग्री सेल्सियस अनुभव हुँदा झण्डै ३२ हजार ५ सय ग्राहकको घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । नयुयोर्क सिटी र वेष्टचेस्टरमा खतरनाक गर्मी भइरहँदा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको थियो ।
बढेको तापमानका कारण न्युयोर्कको क्वीन्समा भएको आगलागीका कारण आमा र छोरीको मृत्यु समेत भएको छ । आइतबार विहान ९० डिग्री तापक्रम पुगिरहँदा क्वीन्सको रिचमण्ड हिलमा लागेको आगो निभाउन झण्डै एकसय जना अग्नीनियन्त्रकहरु लागिपरेका थिए । आगलागीमा ७ बर्षकी छोरी लुपे पेरेज सहित आमा ५१ बर्षीया सिल्भिया उमानाको मृत्यु भएको छ भने २ जना टिनएजर छोराहरु १९ बर्षका गिलबर्ट र १५ बर्षका ग्याब्रियल घाइते भएका छन् । आगलागी एयरकण्डिशनरसँग सम्बन्धित भए नभएकोबारे अनुसन्धान भईरहेको छ ।
शुक्रबारयता न्युयोर्क सिटीमा २३० वटा तापक्रम सम्बन्धित घटनाहरु भएका छन् । न्युयोर्कसिटीका अधिकांश बासिन्दाहरु घरभित्रै एयर कण्डिसनमा बसेपनि आइतबार राती ३२ हजार ५ सय ग्राहकको घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको थियो । खासगरी बु्रकलीन क्षेत्रमा विद्युत आपूर्तिमा समस्या भएको थियो ।
अधिकांश ग्राहकको घरमा आइतबार राती १० बजेसम्म विद्युत सुचारु हुने अपेक्षा गरिएको छ । तर क्वीन्स र पार्क स्लोपकका कैयनका घरमा सोमबार दिउसोसम्म नै विद्युत आपूर्तिमा अवरोध हुने कोन एडिसनले जनाएको छ ।
विद्युत आपूर्ति गर्ने कम्पनीहरुले बु्रकलीन र क्वीन्सका बासिन्दाहरुलाई विद्युतीय सामाग्रीको उपयोगमा सिमितता ल्याउन अनुरोध गरेका छन् । तापक्रम बृद्धिका कारण एयर कण्डिसनरको अत्याधिक उपयोगका कारण प्रणालीमा भारपर्दा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको हो ।
यो सप्ताहन्तमा अहिलेसम्मकै धेरै विद्युतको माग भएको कोन एडिशनले जनाएको छ । अत्याधिक तापक्रमका कारण न्युयोर्क सिटी र कैयन काउन्टीहरुमा संकटकालको समेत घोषणा गरिएको छ । सोमबारदेखि भने न्युयोर्कमा तापक्रममा कमी आउने अपेक्षा गरिएको छ ।
प्रहरीले आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै यदि कसैले आइतबार अपराध गर्ने विषयमा सोचेको भएमा आफ्नो योजना सोमबारसम्मका लागि स्थगित गर्न आग्रह गरेको छ ।
फोटो : न्युयोर्क टाइम्स