अमेरिका र तालिबान दोहामा आम्नेसाम्ने !
प्रकाशित मिति : श्रावण १९, २०७६ आईतबार
दोहा,एएफपी/संयुक्त राज्य अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच आइतबार कतारको दोहामा वार्ता हुँदैछ । अफगानिस्तानमा १८ वर्षदेखि जारी सशस्त्र एवं हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान खोज्न केही महिनादेखि अमेरिका र तालिबान समूहबीच वार्ता जारी छ ।
अमेरिकी फौजले सन् २००१ मा अफगानिस्तानको तालिबान सरकार पदच्यूत गरेयता अफगानिस्तानमा भिषण युद्ध भइरहेको छ । शान्ति सम्झौता पश्चात् अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्नो फौज फिर्ता लैजाने तयारी गरिरहेको छ ।
अमेरिकाले तालिबान समूहले आतंकवादी संगठन अल–कायदा त्याग्नु पर्ने तथा इस्लामिक स्टेटजस्ता आतंकवादी संगठनका सदस्यहरुका लागि तालिबानले संरक्षण गर्न नहुने पूर्वशर्त राखेको छ ।
अमेरिका र तालिबानबीच शनिबार शुरु भएको यो आठौं चरणको वार्ता हो । अमेरिकी र तालिबानी स्रोतले यस पटकको वार्ता शनिबार र आइतबार बस्ने जनाएको छ ।
तालिबानी एक स्रोतले अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजाद र तालिबानका सहसंस्थापक मुल्लाह बरादरबीच प्रत्यक्ष भेटवार्ता गराउने तयारी भइरहेको बताएको छ । बरादरले तालिबानको राजनीतिक फाँटको नेतृत्व गरिरहनुभएको छ ।
अमेरिकामा सन् २००० मा भएको आक्रमणको मुख्य दोषी अल–कायदाको सञ्जाललाई पक्षपोषण र मद्दत गरेको आरोपमा अमेरिकाले अफगानिस्तानको तालिबान सरकारलाई सैनिक बलमा पदच्यूत गरेको थियो । अमेरिकाको ट्वीन टाबरमा अल–कायदाका लडाकूहरुले विमान अपहरण गरी गरेको आक्रमणमा झण्डै तीन हजारको ज्यान गएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै वार्तामा धेरै प्रगति भएको र वार्ता अझै जारी रहेको बताउनु भएको छ ।
अमेरिकी विशेषदूत खलिलजादले पनि शुक्रबार नै ट्वीट गरी तालिबानी समूहसँग शान्ति सम्झौताका लागि प्रयास भइरहेको बताउनुभएको छ । उहाँले तालिबानसँग तत्कालै अमेरिकी सेना फर्कने बारेमा सम्झौता नहुने पनि स्पष्ट गर्नुभयो । तर शान्ति सम्झौता पश्चात् अमेरिकी सेना फर्कन थाल्ने उहाँले बताउनुभयो ।
दोहा वार्ता शुरु हुनुअघि विशेषदूत खलिलजादले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग इस्लामाबादमा भेट गरी छलफल गर्नुभएको थियो ।
अर्कोतर्फ तालिबानसँग वार्ताका लागि अफगान सरकारले पनि अलग्गै वार्ता टोली गठन गरेको छ ।
अमेरिकी अखबार वासिङ्टन पोष्टका अनुसार अमेरिका र तालिबानबीच अफगानिस्तानमा तैनाथ अमेरिकी फौजको संख्या तत्कालै १४ हजारबाट घटाएर ८ हजार बनाइने तयारी भएको छ । यसको बदलामा तालिबानले अल–कायदा संगठनसँगको आबद्धता त्याग्ने, युद्धबिराम गर्ने र अफगान सरकारसँग वार्ता थालनी गर्नेछ ।