सुश्मा स्वराजको अन्तिम ट्वीट : जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिए
प्रकाशित मिति : श्रावण २१, २०७६ मंगलबार
भारतकी पूर्व विदेश मन्त्री सुष्मा स्वराजको मङ्गलबार राति निधन भएको छ । उहाँ ६७ बर्षको हुनुहुन्थ्यो ।
स्वराजको स्वास्थ्यमा समस्या देखिएपछि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा भर्ना गरिएको थियो । स्वराजलाई संघीय स्वास्थ्य मन्त्री हर्ष बर्धनसहितका आफन्तजनले अस्पतालमा पु¥याउनुभएको थियो ।
स्वराजको निधनको खबवरपछि संघीय मन्त्रीहरू प्रल्हाद पटेल, राजनाथ सिंह, पियुष गोयल र नीतिश गोडकरीसहितका भाजपा नेताहरू तत्काल अस्पताल पुग्नुभएको थियो ।
भारतीय जनता पार्टीका वरिष्ठ नेता स्वराजले आज दिउसो संविधानको धारा ३७० खारेज गर्ने साहसिक कदमको स्वागत गर्दै उक्त कदमका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिनुभएको थियो ।
“प्रधानमन्त्रीलाई धन्यवाद । धेरै धेरै धन्यवाद । म मेरो जीवनमा यो दिन हेर्न पर्खिराखेकी थिए ,” स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गर्नुभएको छ ।
प्रधान मंत्री जी – आपका हार्दिक अभिनन्दन. मैं अपने जीवन में इस दिन को देखने की प्रतीक्षा कर रही थी. @narendramodi ji – Thank you Prime Minister. Thank you very much. I was waiting to see this day in my lifetime.
— Sushma Swaraj (@SushmaSwaraj) August 6, 2019
स्वराजले सन् २०१४ मा गठन भएको मोदी सरकारको पहिलो कार्यकालमा विदेश मन्त्री नियुक्त हुनुभएको थियो । उहाँले स्वास्थ्यको कारण देखाउँदै सन् २०१९ को निर्वाचनमा भने लोक सभाका लागि प्र्रतिस्पर्धाबाट बाहिर बस्ने इच्छा व्यक्त गरे अनुसार उहाँलाई भाजपाले उम्मेदवार बनाएको थिएन ।
विदेश मन्त्रीका रूपमा स्वर्गीय स्वराजले सफलताका साथ जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँको वाकपटुता र स्पष्ट भाषण कलाले भारतीय राजनीतिमा भाजपाको प्रसिद्धिमा थप ख्याती मिलेको थियो ।