नेपालसँगको सिमा नक्शामा कुनै परिवर्तन नगरिएको भारतको दावी
प्रकाशित मिति : कार्तिक २१, २०७६ बिहीबार
नयाँ दिल्ली, २१ कात्तिक (रासस-एएनआई) ः भारतले हालै जारी गरेको नयाँ राजनीतिक नक्शामा नेपालसँगको सिमामा कुनै परिवर्तन नगरिएको दावी गरेको छ ।
जम्मु र काश्मिरलाई केन्द्रीय सरकार मातहत ल्याएपछि जारी गरिएको नक्शालाई लिएर नेपालको तर्फबाट चर्को विरोध भएपछि भारतीय पक्षले नेपालसँगको सिमानामा कुनै फेरबदल नभएको दावी गरेको हो ।
कालापानी लगायतका क्षेत्र भारतले आफ्नो क्षेत्रमा परेको भन्ने समाचारको भारतको विदेश मन्त्रालयले बिहीबार खण्डन गरेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सिमाना निर्धारणका लागि छुट्टै संयन्त्र र व्यवस्था रहेकाले त्यही अनुसार हुने स्पष्ट पार्नुभयो ।
उहाँले कुनै विवाद वा समस्या रहेमा दुवै देशकाबीचमा वार्ता र छलफल गरेर समाधान निकालिने र एक अर्कामा स्पष्ट हुने पनि जानकारी दिनुभयो ।
दुवै देशको सरोकारका विषयमा दुईपक्षीय हित र मित्रताकै आधारमा टुङ्गोमा पुगिने प्रवक्ता कुमारले पत्रकारहरूलाई बताउनुभयो ।
“नेपालसँगको सिमानामा पूरानै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन,’ प्रवक्ता कुमारले भन्नुभयो ।
उहाँले आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वार्ताको माध्यमबाट समाधान खोज्न तयार रहेको प्रतिबद्धता दोर्होयाउनुभयो ।
प्रवक्ता कुमारले निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश भैरहेको र यसको विरूद्ध दुवै देशले संयुक्तरूपमा अघिबढ्नुपर्ने जरुरी रहेको पनि बताउनुभयो ।
–––