ग्राण्डीमा प्रधानमन्त्री ओलीको तेस्रो डायलासिस
प्रकाशित मिति : कार्तिक ३०, २०७६ शनिबार
३० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज फेरि डायलासिस गरिएको छ ।
प्रधानमन्त्री ओली विहान स्वास्थ्य उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए । डायलासिस गरेर अपराहृन बालुवाटार फर्किएका छन् ।
उनको अवस्था अहिले राम्रो रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा। चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा। दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्सययता नियमित औषधि खाइरहेका उनको स्वास्थ्यमा पछिल्लो केही महिनायता समस्या देखिएको छ ।
साउन र भदौमा सिंगापुर गएर उपचार गराए । सिंगापुर पुगे र नेशनल युनिभर्सिटी अस्पतालमा फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत रगतमा भएको ‘एन्टीबडी’ निकालिएको थियो ।
मिर्गौलामा राम्रोसँग काम नगरेपछि १३ कात्तिकमा पहिलो पटक डायलासिस गरिएको थियो । लगतै भोलिपल्ट दोस्रो डायलासिस ग्राण्डीमा नै गरिएको थियो ।