काठमाण्डौको तापक्रम यो वर्षकै कम


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, काठमाण्डौ काठमाण्डौको तापक्रम शनिबार यो वर्षकै कम मापन गरिएको छ । शनिबार बिहान काठमाण्डौको तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि गएको कात्तिक १० गते काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियससम्म मापन गरिएको थियो ।

काठमाण्डौमा शनिबार दिउँसो तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै डडेलधुराको तापक्रम बिहान हिजोकोभन्दा ४ डिग्री सेल्सियस घटेको छ । शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको तापक्रम शनिबार बिहान ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो ।

यसैबीच शनिबार, आइतबार र सोमबार देशभरि कै मौसम पूर्णरुपमा नखुल्ने भएकाले अझै चिसो बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको असरले अबको तीन दिन देशभरि कै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लागिहाल्ने भएकाले चिसो हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com