कांग्रेसको आरोप : ओलीकै सहमतिमा भारतले नक्सा सार्वजनिक गरेको हो


प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार

मंसिर ७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतले नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन् । भारतले नेपालका भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालमा विरोध भइराखेको छ । सरकारले सीमा मिचिएकोबारे अध्ययन गर्न पनि समिति बनाउने निर्णय गरिसकेको छ ।

शनिबार पोखरामा भएको चुनावी सभामा सभापति देउवाले ओलीको राष्ट्रवाद कालापानीमा घुँडा टेकेको पनि बताए । देउवाले ओलीसँग सल्लाह गरेरै भारतले नक्सा जारी गरेको दाबी गरे । ‘ओलीले राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर पहिले चुनाव जितेको होइन ? ओलीको राष्ट्रवाद अहिले कालापानीमा घुँडा टेकेको छ,’ देउवाले भने, ‘ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारवाद भएको छ। ओली राष्ट्रवादी पनि होइन ।’

देउवाले ओलीसँग सल्लाह गरेर भारतले नक्सा छापेको आरोप लगाएका छन् । ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा छापेको हो । ओलीसँग सल्लाह नगरी भारतले नक्सा छाप्नै सक्दैन,’ देउवाले भने,‘‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हो । सन्धीमै महाकाली पूर्व नेपाल उल्लेख छ । महाकालीको पानी पनि आधा हक लाग्छ ।’ ओली सरकारले जनताका आँखामा छारो हाल्ने काम गरिराखेको देउवाको आरोप छ । ‘‘यिनीहरू राष्ट्रवादी होइनन्, लम्पसारवादी हुन्,’ उनले भने, ‘जनताका आँखामा छारो हालेका छन् ।’

ओली सरकारले भ्रष्टाचार बढाएको पनि उनले बताए । ‘हर ठाउँमा भ्रष्टाचार बढेको छ । सरकारले अनावश्यक कर बढाएको छ,’ उनले भने, ‘यतिमात्र होइन, संवैधानिक परिषदलाई शाही आयोगजस्तो बनाउँदैछ । कठपुतली बनाउन खोजिँदैछ ।’ -जनतापाटीको सहयोगमा

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com