इँटाभट्टा हटाउन माग गर्दै माइतीघर प्रदर्शन


प्रकाशित मिति : पुस १, २०७६ मंगलबार

काठमाडौं – कीर्तिपुर र चन्द्रागिरी नगरपालिकाका बासिन्दाले इँटाभट्टा हटाउन माग गर्दैै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । इँटाभट्टाका कारण आफूहरुको स्वास्थ्यमा गम्भीर असर पारेकोले भन्दै उनीहरुले चन्द्रागिरीमा सञ्चालित सबै इँटाभट्टा हटाउनुपर्ने माग गर्दै सोमबार मास्क लगाएर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले २०७२ सालदेखि हटाउन माग गर्दै आए पनि अहिलेसम्म नहटाइएकोले फेरि आन्दोलन गर्नुपरेको बताएका हुन् । इँटाभट्टा पीडित मूल संघर्ष समितिका अध्यक्ष मुकुन्द प्रसाद घिमिरेले २०७२ सालमा सर्वदलीय बैठकद्वारा चन्द्रागिरी नगरपालिकाभित्रका सम्पूर्ण इँटा उद्योगहरु बन्द गराउने निर्णय भएको र नगरपालिकाले हटाउन पत्राचार गरे पनि अहिलेसम्म नहटेकाले आन्दोलन गर्नुपरेको बताए ।

चन्दागिरी नगरपालिकाभित्र १४ वटा इँटा उद्योग सञ्चालनमा छन् । चन्द्रागिरीमा रहेका यी इँटाभट्टाका कारण कीर्तिपुरका बासिन्दालाई समेत असर परेको छ ।

सर्वोच्च अदालतले बालबालिका पढ्ने स्कुल, घनाबस्ती र विदेशी पर्यटकका लागि बनाइएका रिसोर्टवरपरको इँटा उद्योगहरू बन्द गराउन ०६२ मंसिर २४ मा आदेश जारी गरेको थियो । ‘तर, अदालतको आदेशविपरीत घनाबस्ती, शैक्षिक संस्था वरिपरि इँटाभट्टा चलिरहेका छन् ।

चन्द्रागिरी नगरपालिकाले ०७२ भदौ १५ मा इँटाभट्टा बन्द गर्ने निर्णय गरेको थियो । एक वर्षअघि इँटाभट्टा इजाजत नवीकरण नगर्ने र साउन १ देखि सञ्चालनमा रोक लगाउने गरे पनि यो कार्यान्वयन हुन सकेको छैन । यो निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेर स्थानीयबासिन्दाले अघिल्लो वर्ष नगरपालिका र काठमाण्डौका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।

नगरपालिका आफैंले गरेको निर्णयसमेत कार्यान्वयन नगरेको भन्दै चन्द्रागिरी र कीर्तिपुरका बासिन्दाले चरणबद्ध आन्दोलन गरिरहेका छन्

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com