दाङ खाद्यान्नमा आत्मनिर्भर


प्रकाशित मिति : पुस ६, २०७६ आईतबार

दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएको छ । वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको दाङमा अहिले वार्षिक एक लाख २३ हजार ५८१ मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ ।

जिल्लामा अनुमानित जनसङ्ख्या छ लाख ३६ हजार ३४९ रहेकोे भन्दै कृषि ज्ञान केन्द्रका सहायक सूचना अधिकारी फिर्तुमान चौधरीले सोहीअनुसार खाद्यान्न आवश्यक पर्ने जानकारी दिएका छन् । उनका अनुसार दाङमा वार्षिक एक दशमलव ७८ प्रतिशतका दरले जनसङ्ख्या वृद्धि भएको छ । दाङमा प्रतिव्यक्ति १८१ किलोग्रामका दरले खाद्यान्न आवश्यक पर्ने गरेको उनको भनाइ छ । बचतका हिसाबले आठ हजार चार सय एक दशमलव ८३ मेट्रिक टन बचत हुँदै आएको छ । प्रतिव्यक्ति ०.०१ मेट्रिक टन खाद्यान्न बचत हुने गरेको सहायक सूचना अधिकारी चौधरीले जानकारी दिए ।

जिल्लामा अहिले उत्पादन हुँदै आएको खाद्यान्न बाहिरसमेत निर्यात हुने गरेको छ । कृषि पेशामा जिल्लाका नागरिक आत्मनिर्भर भइरहेको हुँदा उत्पादित वस्तु बाहिर निर्यात हुने गरेको उनले बताएका छन् । अहिले जिल्लामा मुख्य खाद्यान्नका रूपमा धान, मकै, गहुँ, कोदो, जौ, फापर आवश्यकता भन्दा बढी उत्पादन हुँदै आएको छ । दाङको समथर भागमा विशेष गरेर अहिले धान उत्पादन हुने गरेको छ । माथिल्लो भेगमा कोदो, फाफर, जौ तथा देउखुरी क्षेत्रमा मकै बढी उत्पादन हुने गरेका ज्ञान केन्द्रले जानकारी दिएको छ ।

बचत भएको उत्पादित वस्तु निर्यातमा समस्या नभएको जनाइएको छ । कृषकले आफ्नै घरआँगनबाटै बचत खाद्यान्न बिक्री–वितरण गर्दै आएको बताएका छन् । जिल्लामा खाद्यान्न बढ्दै गएको हुनाले भोलिका दिनमा पनि खाद्यान्नमा समस्या नहुने सहायक सूचना अधिकारी चौधरीले बताए । -रासस

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com