भ्रमण वर्ष : लुम्बिनीमा पर्यटक टिकाउनै गाह्रो


प्रकाशित मिति : पुस १७, २०७६ बिहीबार

स्थलमार्गबाट मुलुकमै सबैभन्दा धेरै पर्यटक रुपन्देहीको बेलहिया नाका हुँदै भित्रिन्छन् तर यही नाकाबाट भित्रिएकै दिन बाहिरिने पर्यटकको सङ्ख्या पनि ठूलै छ । भारतीय पक्षले निर्माण गरेको बौद्ध सर्किटको ढाँचाका कारण त्यस्तो भइरहेको कतिपयको तर्क छ । अध्यागमन कार्यालय बेलहियाको तथ्यांक अनुसार गतवर्ष श्रीलङ्काबाट मात्र करिब ६० हजार पर्यटक सो नाका हुँदै नेपाल प्रवेश गरे । तर सोही कार्यालयको अभिलेखमा उनीहरूको नेपाल बसाइ भने औसतमा केही घण्टा मात्र देखियो । यो नाका हुँदै बर्सेनि सबैभन्दा बढी पर्यटक श्रीलङ्काबाट आउने गर्छन्

। त्यसपछि म्यानमार, थाइल्यान्ड, भियतनाम आदि देशबाट आउने गरेको पाइएको छ । बेलहिया नाकाबाट गतवर्ष भारतीयबाहेक झन्डै एक लाख ७० हजार पर्यटक नेपाल भित्रिएका थिए । तर जुन देशबाट आए पनि उनीहरूको बसाइ एक वा दुई दिनभन्दा बढी हुने गरेको छैन । अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालका अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणकै लागि आउने उनीहरू भारतकै पथप्रदर्शकको योजनामा भित्रिने गर्दछन् । “उनीहरूले बौद्ध सर्किटलाई एउटा प्याकेजको रूपमा लिएर आउने रहेछन् । भारतको बनारस आउने र बोधगया हुँदै कुशीनगर भएर लुम्बिनी भ्रमण गरेर श्रावस्ती भएर बाहिरिने गरेका छन्”–उहाँले भन्नुभयो ।

भारतीय पथप्रदर्शकले लुम्बिनीका अन्य गुम्बामा पर्यटकलाई नलग्ने भएकाले उनीहरुको नेपाल बसाइ अत्यन्तै छोटो भएको संस्कृतिविद् गितु गिरीले बताउनुभयो । गिरीका अनुसार नेपालमा बसाइ लम्ब्याउने खालको सोच नै नहुनु अर्को ठूलो समस्या हो । लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव सरोजकुमार भट्टराईले पर्यटकको बसाइ लम्ब्याउनका लागि कोषले विभिन्न कार्यक्रम गरेको दाबी गर्नुभयो । “अहिले केही सुधार अवश्य भएको छ तर पर्यटकको बसाइ लम्ब्याउने कुरामा नगरपालिका, होटल व्यवसायी आदि विभिन्न स्थानीय साझेदारको पनि भूमिका हुनुपर्छ”–उहाँले भन्नुभयो ।

यहाँ घुम्न आउने स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या प्रत्येक वर्ष बढेको देखिन्छ । लुम्बिनी विकास कोषका अनुसार सन् २०१८ मा १६ लाखभन्दा धेरै आएका थिए । त्यसअघि ०१७ मा १५ लाख ३४ हजार र ०१६ मा १२ लाख ८५ हजार पर्यटक आएका थिए । यो तथ्याङ्क मायादेवी मन्दिर प्रवेश गर्नेको मात्र हो । सन् २०१९ को नोभेम्बरसम्म करिब १४ लाख पर्यटक लुम्बिनी घुम्न आएका छन् ।
लुम्बिनी विकास कोषको तीन वर्ग माइल क्षेत्रभित्र बुद्धसँग सम्बन्धित पुरातात्विक स्थल छन् । केन्द्रीय नहरको दायाँबायाँ विभिन्न मुलुकका बिहार छन् । छरिएर रहेकाले सबै बिहारमा पुग्न निजी सवारी साधन रिजर्भ गर्नुपर्छ । पैदल घुम्न समय लाग्छ । जसले गर्दा मायादेवी मन्दिर घुमेपछि पर्यटक फर्किन थाल्छन् ।

छिमेकी जिल्लामा रहेका पुरातात्विक स्थल घुम्नका लागि यातायातका साधन छैनन् । प्रत्येक वर्ष कुरा उठ्ने बुद्ध सर्किट निर्माणमा चासो दिइएको छैन । टुर प्याकेजको पनि अभाव छ । समय नकटेपछि पर्यटक फर्किने गरेको व्यवसायीले बताएका छन् । “यहाँ आएका पर्यटकलाई कहाँ लैजाने ? कता घुमाउने ? उनीहरूलाई भुलाउने कार्यक्रम नै छैन”– सिद्धार्थ होटल एसोसिएसन लुम्बिनीका अध्यक्ष मिथुनमान श्रेष्ठले भन्नुभयो–“पर्यटक आउँछन् । मायादेवी मन्दिर घुमेर फर्किन्छन् ।”
यहाँबाट कपिलवस्तु, रूपन्देहीको देवदह, पश्चिम नवलपरासीको रामग्रामलगायत बुद्ध सर्किटमा पर्ने स्थलसम्म पुग्नका लागि भौतिक पूर्वाधार तयार छैन । कोष मातहतको केस्ट नेपालले गतवर्ष गरेको सर्वेक्षण अनुसार लुम्बिनीमा आएका कुल पर्यटकमध्ये पाँच प्रतिशत पनि टिक्दैनन् । युनेस्को अन्तर्गत जापान फाउन्डिङ ट्रस्ट प्रोजेक्ट (जेफिट) ले ६ वर्षअघि गरेको “भिजिटर सर्भे एन्ड अब्जरभेसन” का अनुसार लुम्बिनीमा अधिकांश पर्यटकको बसाइ अवधि ३० मिनेटभन्दा कम पाइएको थियो । “अहिले पनि बसाइ अवधि लम्बिन सकेको छैन”–कोषका योजना प्रमुख तथा निमित्त सदस्य सचिव भट्टराईले भन्नुभयो–“निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले यहाँ पर्यटक भुलाउने कार्यक्रम ल्याउन जरुरी छ ।”

आगामी दिनमा नेपाली पर्यटन व्यवसायी तथा ट्राभल एजेन्सीले लुम्बिनीबाट भ्रमण प्याकेजको सुरुआत गर्न जरुरी रहेको सदस्य सचिव भट्टराईले बताउनुभयो । “आगामी दिनमा बसाइ अवधि बढ्ने सम्भावना भने छ”–उहाँले भन्नुभयो–“गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका साथै बुद्ध सर्किटमा रहेका अन्य स्थलमा सहजै पुग्ने भौतिक पूर्वाधार निर्माण भइरहेका छन्, ती पूरा भएपछि अवधि लम्बिन्छ ।” कोष परिसरमा भारत सरकारबाट उपहार स्वरूप एक अर्ब रुपियाँ लगानीमा निर्माण हुने भनिएको ‘लाइट एन्ड साउन्ड सो’ र ‘उ थान्त अडिटोरियम हल’ अलपत्र छन् । लुम्बिनी आउने पर्यटकलाई लक्षित गरेर होटल व्यवसाय क्षेत्रमा लगानी बढेको छ ।

पर्यटन व्यवसायीहरुका अनुसार रुपन्देहीमा पछिल्लो १० वर्षमा होटल व्यवसायमा अर्बौंको लगानी थपिएको छ । सिद्धार्थ होटल सङ्घका अनुसार लुम्बिनी क्षेत्रमा चालु अवस्थामा अहिले तारे स्तरका चारवटा ठूला होटल छन् । त्यस्तै पर्यटकीय सुविधाका मझौला होटल १४ वटा र साना होटल २८ गरी ४६ वटा होटल सञ्चालनमा छन् । जसमा सात अर्ब लगानी छ ।सरकारले मनाउन गइरहेको नेपाल भ्रमण वर्ष २०१९ मा पर्यटकका लागि विशेष टुर प्याकेज आवश्यक रहेको नेपाल ट्राभल्स एण्ड टुर्स एजेन्ट (नाटा) प्रदेश पाँच लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताउनुभयो । “पूर्वाधार निर्माणले मात्र हुँदैन, पर्यटक भुलाउने योजना ल्याउनुपर्छ”–उहाँले भन्नुभयो ।

स्वर्गद्वारी
पर्यटकहरुका लागि प्रदेश पाँचका विभिन्न स्थान आकर्षक गन्तव्यमा पर्ने गरेका छन् । त्यसमध्येको प्यूठानको स्वर्गद्वारीमा अझै राम्रो पूर्वाधार विकास हुनसकेको छैन । कच्ची र खाल्डाखुल्डी सडकले हिउँदमा केही पर्यटक पुगे पनि वर्षायाममा पुग्नै मुस्किल रहेको मन्दिरका पुजारी बाबुराम न्यौपानेले बताउनुभयो । धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी नपुग्ने हिन्दूहरुको तीर्थयात्रा नै पूरा हुँदैन भन्ने विश्वास गरिन्छ । प्रदेश राजधानी बुटवलबाट करिब १८५ किलोमिटरको दूरी यात्रापछि स्वर्गद्वारी पुग्न सकिन्छ । खासगरी यो धाम भारतीय पर्यटकको आकर्षक स्थल मानिन्छ । सडकमार्ग सहज भए यहाँ वार्षिक १० लाख पर्यटक भित्र्याउन सकिने बताइन्छ । यहाँ अहिले पनि आन्तरिक तथा बाह्य गरी करिब २ लाखको हाराहारीमा पर्यटक पुग्छन् । यहाँ खाना र बस्नका लागि सामान्य सुविधा छ ।

रानीमहल
पाल्पामा रहेको रानीमहल नेपालको ताजमहल भनेर चिनिन्छ । सफा, स्वच्छ वातावरण र जताततै हरियालीले यहाँ पुग्ने जोकोहीको मनै लोभ्याउँछ । कालीगण्डकी र बराङ्दी नदीको सङ्गमस्थलमा अवस्थित रानीमहलमा खासगरी आन्तरिक पर्यटकको आकर्षण छ । पूर्वाधार अभावमा पर्यटक पुग्न सकेका छैनन् । यहाँ पुग्न केही किलोमिटर बाटो कच्ची छ । उक्त बाटो प्रदेश ५ सरकारले यसै वर्ष स्तरोन्नति गरी फराकिलो र पक्की बनाउन लागेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले बताउनुभयो ।

उहाँका अनुसार रानीमहलको विकासमा प्रदेश सरकार लागिपरेको छ । चारैतिर पहाडले घेरिएको र नदीको किनारमा निर्मित यो रानीमहल भारतको ताजमहलभन्दा निकै राम्रो भएको दावी गरिन्छ । यसको नजिकै रहेको श्रीनगरले पनि पर्यटकको मन तान्ने गरेको छ । वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदि हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।-लक्ष्मण पौडेल /गोरखापत्र

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com