अवैध खोला उत्खननको विरोध गर्दा टिप्परले किचेर ‘हत्या’


प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार

अवैध रुपमा भइरहेको खोला उत्खननको विरोध गर्दा धनुषामा एक युवकको टिप्परले किचेर हत्या गरिएको छ । धनुषाको मिथिला नगरपालिकाको औरही खोलामा शुक्रबार बिहानै श्रीपुर निवासी २४ वर्षीय ओमप्रकाश भन्ने दिलिपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको हो ।

औरही खोलामा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोको नदीमै टिपरले किचेर हत्या गरेको धनुषा प्रहरीले जनाएको छ । मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खननको विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिए । उनका अनुसार महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका हुन् ।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले बताएका छन् । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महतोको हत्यापछि स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com