आज माघे संक्रान्ति: देशैभर उल्लासका साथ मनाइँदै


प्रकाशित मिति : माघ १, २०७६ बुधबार

आज माघे संक्रान्ति तथा माघी पर्व । माघको पहिलो दिन मनाइने यस पर्वलाई नेपालमा विशेष पर्वको रुपमा मनाइने गरिन्छ । यसै अवसरमा प्रदेश ५ सरकारले दुुई दिन सार्वजनिक विदा गरेको छ । थारु समुदायले माघी पर्व अर्थात् नयाँ वर्षका रुपमा मनाउने गर्दछन् भने मगर लगाएत अन्य समुदायले यो दिन खिचडी खाने पर्वको रुपमा समेत मनाउने गर्दछन् । माघे सङ्क्रान्ति पर्वको अवसरमा देशभरका विभिन्न नदी, दोभान तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गरेर मनाईंदैछ ।

माघे सक्रान्तिको अवसरमा देशका विभिन्न ठाउँमा मेलामहोत्सव आयोजना गरिएका छन् । माघेसक्रान्तिको अवसरमा देशका विभिन्न स्थानमा स्नान गर्ने तथा मेला लाग्ने विशेष कार्यक्रम हुने गर्दछन् । बिशेषगरी तनहुँको प्रसिद्ध देवघाट, पाल्पा, स्याङ्जा र गुल्मीको संगमस्थल रिडी लगाएतका नदी तथा त्रिवेणीमा मकर स्नान, दान, श्राद्धलगायतका कार्य गर्नेहरूको ठूलो भीड लाग्छ । यो पर्वमा खिचडी घिउ, चाकु, तिलको परिकार, तरुल खाने चलन छ । यो खानाले त्रिदोष नाश हुने शास्त्रमा उल्लेख छ । हरेक चाडपर्वको आ–आफ्नै महत्व रहेको छ । धार्मिक आस्थासँग जोडेर होस वा अन्य कारणबाट माघे सक्रान्तिमा खाने परिकार स्वास्थ्यका दृष्टिले विभिन्न फाइदा हुने गर्दछ ।

माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ति, तिलुवा सक्रान्ती या मकर सक्रान्ति या माघीका रुपमा आ–आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाइने गरिन्छ । आजको दिन तिलको पकवानकालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे संक्रान्तिलाई तिलुवा संक्रान्ति पनि भनिन्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com