प्रदेश ५ काे विपक्षी दलका नेता पोखरेलको निधन


प्रकाशित मिति : माघ ६, २०७६ सोमबार

प्रदेश ५ नेपाली कांग्रेस संसदीय दल नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । विगत एकवर्ष देखी क्यान्सर भई मृत्युसँग संघर्ष गरिरहेका उनको ८२ वर्षको उमेरमा आफ्नै निवासमा आज निधन भएको हो ।

गत माघमा बुटवलमै नियमित चेकजाँचको क्रममा क्यान्सरको शंका लागेपछि उपचारका लागि काठमाडौं गएका उनको फोक्सोबाट शुरू भएको क्यान्सर टाउको हुँदै हड्डीभर फैलिएपछि पछिल्लो एक वर्षदेखि पूर्णरूपमा थलिएका थिए । त्यसपछि उनलाई नेपाल क्यान्सर अस्पतालमा पनि लगेर चेकजाँच पनि गरिएको थियो । पोखरेलको अवस्था नाजुक भएपछि उनलाई घरमै राखेर सेवा गरिएको थियो । उनले ७ पटकसम्म किमोथेरापी पनि गरेका थिए । रोगले थलिएपछि प्रदेश सरकारले उनको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

रुपन्देहीको तिलोत्तमा –१४, खैरियाका पोखरेल नेपाली कांग्रेसका समानुपातिक तर्फका प्रदेशसभा सदस्य समेत हुन् । विक्रम संवत् १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल २०२० सालमा बसाइ सरेर रुपन्देही झरेका थिए । उनले ०१३ सालदेखि कांग्रेसबाट राजनीतिमा सुरु गरे । उनी ०२१ सालपछि रूपन्देहीको राजनीतिमा सक्रिय भए । रूपन्देहीमा उनी ०२६ सालदेखि १० वर्ष पार्टीको जिल्ला सचिव भए । जिल्ला सदस्य हुँदै आमन्त्रित केन्द्रीय सदस्य, महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि हुँदै वरिष्ठ नेताको रूपमा निरन्तर पार्टीमा सक्रिय रहेका थिए । उनका श्रीमती, ४ छोरा र २ छोरी छन् । -ग्लोबल आवाज

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com