४ हजार धरौटीमा छुटिन् आस्था


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा रिहा भएकी छिन् । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेकी राउत मंगलबार रिहा भएकी हुन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएपछि उनीमाथि अनुसन्धान गर्न ४ दिनको समय दिइएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्। उजुरीका आधारमा राउतविरुद्ध प्रकाउपुर्जी जारी भएको थियो। राउत कार्यक्रमका शिलशिलामा देशबाहिर भएकाले तत्कालै पक्राउ परिनन्। तर सोमबार बिहान उनले प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।

प्रहरीले पनि उनीविरुद्ध लगाएको अभद्र व्यवहार मुद्दाको छिनोफानो चाँडो सकाउने र सोमबार नै हिरासत मुक्त गर्ने बताइएको भएपनि सोमबार उनलाई मुक्त गरिएको थिएन । सोमबार साँझ गायिका राउतको स्वास्थ्य अवस्था बिग्रिएपछि त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पताल भर्ना गरिएको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com