पत्रकारको परीक्षा लिने प्रावधानप्रति महासंघको आपत्ति


प्रकाशित मिति : माघ १४, २०७६ मंगलबार

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता गर्न लाइसेन्स चाहिने व्यवस्था गर्न नहुने बताएका छन् । संसदको विधायन समितिले मिडिया काउन्सिल विधेयकमार्फत पत्रकारलाई लाइसेन्स लिने चाहिने प्रावधान प्रस्ताव गरेपछि आचार्यले यस्तो प्रतिक्रिया दिएका हुन ।

राजनीति, समाजसेवा, पत्रकारितालगायत अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा लाइसेन्स चाहिँदैन’ अध्यक्ष आचार्यले भने, ‘नागरिकले जुनसुकै माध्यमबाट अभिव्यक्ति सार्वजनिक गर्न पाउनुपर्छ ।’ यस्तै मिडिया काउन्सिल विधेयकलाई संसदीय समितिले अगाडि बढाएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति प्रकट गरेको छ । महासंघका उपाध्यक्ष विपुल पोख्रेलले त्यस्तो प्रावधानप्रति आपत्ति प्रकट गरेका हुन् ।

“नागरिकको आवाज बोल्ने, मानवअधिकारको पक्षमा बोल्ने र बेथितिविरुद्ध बोल्ने वर्ग नै पत्रकार हो,” उनले भने, “त्यो वर्गलाई लाइसेन्स लिएर मात्र बोल भन्नु अभिव्यक्ति स्वतन्त्रताको विरोधी हो भन्ने पुष्टि हुन्छ ।” उनले अब संसदको बैठकबाट यस्ता झमेलाका शब्दहरु हटाउन माग गरेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com