आईजीपीका लागि ज्ञवालीकाे नाम पेश गर्न प्रधानमन्त्रीको निर्देशन
प्रकाशित मिति : माघ २८, २०७६ मंगलबार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रदेश–१ का डीआईजी ठाकुर ज्ञवालीको नाम प्रस्ताव गरेर मन्त्रीपरिषदमा पेश गर्न निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा आईजीपीको टुंगो नलागेपछि प्रधानमन्त्री ओलीले मंगलबार बस्ने बैठकमा ज्ञवालीको नाम पेश गर्न गृहमन्त्री रामबहादुर थापा र मूख्यसचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएका हुन् ।
‘गृहमन्त्री थापा र मुुख्यसचिव रेग्मीलाई बोलाएर प्रधानमन्त्रीले आईजीपीमा ज्ञवालीको नाम मंगलबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकमा पेश गर्न निर्देशन दिनुभएको छ,’ बालुवाटारस्थित उच्च स्रोतले भने, ‘त्यही अनुसार प्रस्ताव तयार गरिने छ ।’ आईजीपी सर्वेन्द्र खनाल, ३ एआईजी पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यात तथा १८ डीआईजीहरु मंगलबारबाट एकैपटक अवकास प्राप्त गर्दै छन् । तर अवकशको अघिल्लो दिनसम्म सरकारले भावी आईजीपी को हुने भन्ने निर्णय गर्न सकेको छैन । –कान्तिपुर दैनिक