पाँचौ दिनसम्म कोरोना संक्रमणका नयाँ विरामी फेला परेका छैनन : प्रवक्ता डा. देवकोटा
प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार
विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा भने विगत ५ दिनदेखि नयाँ संक्रमण देखिएको छैन ।
स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा. विकास देवकोटाले नेपालमाकोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी दिनुभएको हो ।
नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर ५ सय १३ नमुना परीक्षण गरिएको छ। साथै १ सय ९३ जनाको परीक्षण जारी छ। पछिल्लो ५ दिनमा नयाँ संक्रमित नदेखिएका हुन्। चैत २२ गते ३ जना कोरोना संक्रमित फेला परेपछि संक्रमितको संख्या ९ पुगेको थियो। एक जना निको भएर घर फर्किसकेका छन्। बिहीबारको अपडेटमा आइसोलेसनमा देशभरी ११७ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ९४० जना रहेका छन्।
प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेकाको परीक्षणका लागि ५ हजार प्रति प्रदेशको दरले आरडिटी उपलब्ध गराएको र प्राविधिकहरुलाई तालिम दिएको जानकारी दिए। कैलालीमा ६६ जनामा आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।
साथै मन्त्रालयले बिहीबारदेखि कोरोना भाइरसको नियमित अपडेट साङ्केतिक भाषामा समेत गराउन थालेको छ।