लकडाउनकै समयमा नेपाल घुसेका थिए कोरोना संक्रमित भारतिय नागरिक


प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी थालिएको छ ।

लकडाउनकै अवधिमा भुल्के मस्जिदमा आएर बसेका ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरुसँगै रहेका अन्य ४ नेपालीको पनि स्वाबको पिसिआर परीक्षण गरिएको थियो । उनीहरुमा भने पोजिटिभ देखिएको छैन ।

पर्सा जिल्लाको छपकैयाँस्थित मस्जिदमा बसेका तीन भारतीय धर्मगुरुमा संक्रमण देखिएपछि उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी र्‍यापिड टेस्ट गरिएको थियो । उनीहरुको स्वाब कोशी अञ्चल अस्पतालमा परीक्षण गरिएको थियो । संक्रमण पुष्टि भएपछि अहिले मस्जिद र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाकर्मीले मस्जिद र आसपासको क्षेत्रमा हिँडडुलमा रोक लगाएका छन् । यो क्षेत्रलाई सिल गर्ने र संक्रमितलाई कोशी अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले बताउनुभयो ।

संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स खोजी भइरहेको उदयपुर प्रशासनले जनाएको छ । कोरोना पोजेटिभ देखिएका १२ भारतीय विराटनगरबाट सप्तरी हुँदै उदयपुर आएको प्रारम्भिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिनुभयो । भारतीयले आफूहरु मोरङबाट राजविराज हुँदै आएको बताएका छन् ।

उनीहरुले सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३ तीनदेखि ५ सम्म भएको धार्मिक सम्मेलनमा सहभागी हुन आएको बताएका छन् । उनीहरुसँगै आएका ४ नेपाली मोरङका हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com