जनकपुरमा पैसा फालेर भागेको आरोपमा २ महिला पक्राउ


प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार

कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेको छ ।

शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्ने दुवै महिला जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ बस्नेहरु हुन् । दुवैजना नातामा नन्द र भाउजु रहेको प्रहरीले जनाएको छ ।

जानकी मन्दिर नजिकैबाट शनिबार ती दुवैजना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

सिसिटीभी फुटेजहरु झिकाएर अध्ययन गर्दा उनीहरुको भूमिका शंकास्पद देखिएको र प्रहरीले सार्वजनिक गरेको हुलिया पनि मिलेकाले स्थानीयकै सहयोगमा ती दुवै महिलालाई पक्राउ उनले गरिएको बताए ।

शुक्रवार उनीहरुले जथाभावी १० रुपैयाँको नोट छरेको स्थानीयको भनाइ छ । रुपैयाँ किन फ्यालेको भनि सोध्दा ती महिलाहरु कुनै जवाफ नदिइ फरार भएका थिए । यता पक्राउ परेका महिलाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com