पैसा फाल्ने महिलामा ‘आरडिटी पोजेटिभ’ देखियो


प्रकाशित मिति : बैशाख ६, २०७७ शनिबार

जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलामध्ये एक जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिललाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ।

शुक्रवार दिउँसो महावीर चोकमा पैसा फालेर फरार भएको भन्दै सिसिटिभी फुटेजको आधारमा जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरकी आमुना खातुन र अलिना खातुनलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरु दुबैजना नन्द भाउजु हुन्। शनिवार दिउँसो मस्जिद पछाडी लुकेर बसेको अवस्थामा दुबैजनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।

पक्राउ गरे लगतै कोरोना संक्रमण परिक्षणकालागि दुबै जनालाई आरडिटी परिक्षणकालागि प्रादेशिक अस्पताल पठाइएको डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। उनीहरुको विषयमा अनुसन्धान भइरहेको उनले बताए। शुक्रवार दिउँसो महावीर चोकमा दुइ जना महिलाले पैसा फ्याल्दै हिडेको भन्दै स्थानीयहरु त्रसित भएका थिए।

कोरोना भाइरस फैलाउन ती महिलाले पैसा फ्याल्दै हिडेको भन्दै स्थानीयहरुले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले ती पैसा टिपेर कोरोना परिक्षणकालागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको थियो। ती महिलालाई हेर्नसाथ प्रहरीललाई जानकारी गराउन भन्दै जिल्ला प्रहरी कार्यालयले सिसिटीभीको आधारमा फोटो सार्वजनिक गरेको थियो।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com